खेलकुद
प्रधानमन्त्री कप व्याडमिन्टनः प्रिन्स दाहाल सेमीफाइनलमा

चितवन, माघ ३०–
विश्व वरियतामा तेस्रो नम्बरका खेलाडी प्रिन्स दाहाल चितवनमा जारी प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगता २०७७ को सेमीफाइनल प्रवेश गरेका छन् । दाहाल मेन्स सिङ्गलतर्फ सेमीफाइनल प्रवेश गरेका हुन् ।
एपीएफ क्लबबाट खेलेका दाहालले आज भएको प्रिक्वाटर फाइनल खेलमा एपीएफकै प्रियंशु सिंह क्षेत्रीलाई २१–१० र २१–१० को सोझो सेटमा हराउँदै क्वाटर फाइनल प्रवेश गरेका थिए । त्यस्तै प्रिन्सले क्वाटर फाइनलमा त्रिभुवन आर्मी क्लबका हिमाल चन्दलाई २१–४ र २१–९ को सोझो सेटमा हराउँदै सेमीफाइनल यात्रा सुरक्षित गरेका हुन् । दाहालसँगै मेन्स सिङ्गलतर्फ भोजपुरका विकास श्रेष्ठ, त्रिभुवन आर्मीका नवीन श्रेष्ठ र एपीएफका दिपेश धामी सेमीफाइनल प्रवेश गरेका छन् ।
प्रतियोगिताअन्तर्गत आज (शुक्रबार) विभिन्न ६४ वटा खेल भएका नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा वुमन्स सिङ्गलतर्फ एपिएफकी जेसिका गुरुङ, त्रिभुवन आर्मीका अनुमाया राई, रसिला महर्जन र अमिता गिरी सेमीफाइलन प्रवेश गरेका छन् । प्रतियोगितामा मेन्स सिङ्गल, ब्वाइज सिङ्गल अण्डर १७, भेटेरान्स डबल ४५ वर्षमाथि उमेर समूह, भेटेरान्स डलब ५५ वर्षमाथि उमेर समूह, मेन्स डबल, वुमन्स सिङ्गल, गल्र्स सिङ्गल अण्डर १७ तथा मेन्स डबलमा ¥याङकिङका लागि खेल भएका छन् ।
देशकै सबैभन्दा ठूलो धनराशिको प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७७ को मेन्स सिङ्गल र वुमन्स सिङ्गलतर्फ पहिलो हुने खेलाडीले एक लाख १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने चितवन जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भरत मल्लले जानकारी दिनुभयो । प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल शनिबार हुने उहाँले बताउनुभयो ।
त्यस्तै मेन्स सिङ्गल र वुमन्स सिङ्गलमा दोस्रो हुने खेलाडीले समान ५५ हजार तथा तेस्रो हुने दुई/दुई जना खेलाडीले १५/१५ हजार रुपैयाँ पुरस्कार पाउने श्रेष्ठले बताउनुभयो । त्यस्तै, मेन्स डबलतर्फ पहिलो हुनेले ६० हजार , दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुने दुई जनाले १०/१० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा मेन्स डबल टप २० ¥याङ्किङमा पहिलो हुने खेलाडीले ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुने दुई जनाले सात/सात हजार रुपैयाँ पुरस्कार पाउने मल्लले बताउनुभयो । प्रतियोगितामा ब्वाइज सिङ्गल अण्डर १७, गल्र्स सिङ्गल अन्डर १७, भेटेरान्स डबल ४५ वर्षमाथि, ५५ वर्षमाथिका उमेर समूहमा पहिलो हुने खेलाडीहरुले समान ३० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुई/दुई जनाले पाँच/पाँच हजार रुपैयाँ पुरस्कार पाउने मल्लको भनाइ छ ।
प्रतियोगितामा देशभरका ३०० बढी खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताअन्तर्गत नगद पुरस्कारमात्रै आठ लाख १९ हजार रुपैयाँ खर्च हुने भन्दै मल्लले प्रतियोगिता सम्पन्न गर्न ४० लाख रुपैयाँ खर्च हुने बताउनुभयो । भरतपुर कभर्डहलमा सञ्चालन भएको प्रतियोगिता निःशुल्क अवलोकन गर्न सकिने मल्लले बताउनुभयो ।
























