मकवानपुर

दुर्घटना न्यूनीकरण गर्न हेटौंडा ट्राफिकलाई एक्सपर्टको सचेतनामुलक सामग्री सहयोग

Banner

हेटौंडा, माघ २५–

बढ्दो दुर्घटना न्यूनीकरण गर्नका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाले सचेतनामुलक सामग्री सहयोग गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई आइतबार एक कार्यक्रमकाबीच ३ लाख रुपैयाँ बराबरको दूर्घटना न्यूनीकरण सचेतना सम्बन्धी सामग्री हस्तान्तरण गरेको हो ।

जिल्ला ट्राफिक कार्यालय हेटौंडामा आयोजित कार्यक्रममा एक्सपर्टका निर्देशक डिल्लीराम अधिकारीले ट्राफिक प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेलाई सो दूर्घटना न्यूनीकरण सचेतना सम्बन्धी सामग्री हस्तान्तरण गरेका हुन् ।

बागमती प्रदेशको राजधानी हेटौंडा तथा आसपासका क्षेत्रमा अत्यधिक दूर्घटना हुने भएकाले यसको रोकथाम र नियन्त्रणका लागि सचेतना सामग्री हस्तान्तरण गरिएको एक्सपर्टका निर्देशक अधिकारीले जानकारी दिए । चितवनसहित विभिन्न जिल्लाहरुमा एक्सपर्टले दुर्घटना न्यूनीकरणका लागि सचेतनामुलक सामग्रीहरु सहयोग गर्दै आइरहेको भन्दै मकवानपुरमा पनि यसको सुरुवात गरिएको बताए । उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै एक्सपर्टले सामाजिक क्षेत्रमा सदैव सहयोगी भूमिका निर्वाह गरिरहेको भन्दै यसप्रकारको सहयोग जारी राख्ने बताए । ‘हामी स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छौं, हाम्रो सहयोगले दुर्घटना न्यूनीकरणमा सहयोग मिल्नेमा विश्वस्त छौं’–निर्देशक अधिकारीले भने ।

सो क्रममा बोल्दै जिल्ला ट्राफिक कार्यालय हेटौंडाका प्रमुख प्रकाश पाण्डेले एक्सपर्टको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले आगामि दिनमा पनि यस्तै सहयोग जारी रहोस् भन्दै सचेतनामुलक सामग्री दुर्घटना न्यूनीकरणमा सहयोगी बन्ने बताए । निजी शैक्षिक क्षेत्रबाट यसरी सहयोग पाउँदा ट्राफिक प्रहरीलाई हौसला मिलेको बताए । ट्राफिक प्रहरी प्रमुख पाण्डेले मकवानपुर राजमार्ग धेरै भएको जिल्ला भएका कारण सवारी दूर्घटना बढ्दो अवस्थामा रहेको बताए । ‘समाजिक संघसंस्थासँग सहकार्य गरेर बढ्दो सवारी दूर्घटना न्यूनीकरणका लागि काम गर्न हामी तयार छौं ।’– उनले भने ।

कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस हेटौंडाका शाखा प्रमुख इश्वर कोइराला विजनेश डेभलपमेन्ट व्यवस्थापक अच्युत चालिसेलगायतको उपस्थिति रहेको थियो । अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रही ११ वटा देशमा रहेको शाखा कार्यालयहरुमार्फत् आफ्नो सेवा प्रदान गर्दै आइरहेको एक्स्पर्टले स्थापनाको समयदेखि नै समाजिक क्रियाकलाप गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>