Breaking News
अन्तरजातिय प्रेम विवाह गरेका चितवनका उदाहरणीय अरुणा र उज्ज्वलको जोडी
मनिका विश्वकर्मा
चितवन, माघ २२ –
भनिन्छ, प्रेममा जात, धर्म, उमेर, रङ्ग, उचाई केही हुँदैन । कतिपय प्रेमिल जोडीहरु सामाजिक कुरीतिका कारणहरुले छुट्ने गरेका पनि छन् तर यस्ता भनाइलाई सार्थक बनाए छन् चितवनका अरुणा कट्टेल र उज्ज्वल विश्वकर्माको जोडीले ।
यी जोडीले १५ वर्षअघि अन्तरजातीय प्रेम विवाह गरेका थिए । जुनबेला समाजमा जातीय विभेद उत्कर्षमा थियो । यद्यपि अहिले पनि छ । तर, उनीहरुको प्रेमलाई न जात न समाज न परिवार नै कुनै पनि कुराले रोक्न सकेन । त्यसैले यो जोडी अहिले नेपाली समाजको लागि एक उदाहरणीय र परिवर्तको संवाहक पनि बन्न सफल भएको छ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका–१५ रामजानकी टोलमा बस्ने यी जोडीको प्रेमकथा जति रोचक छ उत्तिनै नै उनीहरुले अन्तरजातीय विवाह गरेकै कारण भोगेका चुनौती र विभेद अत्यास लाग्दा छन् । एउटै गाउँमा हुर्केबढेका अरुणा र उज्वल कतिबेला प्रेममा परे पत्तै भएन । जब उनीहरुको प्रेमबारे समाजमा विस्तारै थाहा हुन थाल्यो त्यसपछि बल्ल उनीहरुले महसुस गरे प्रेमका लागि आफूहरुले मोलेको चुनौती र जोखिम ।
त्यो बेलाको समयलाई सम्झिँदै अरुणाले भन्नुभयो, “परिवारले एउटा बाहुनको छोरी दलितसँग लागेको भन्दै धेरै गाली गरे ।” बाबु शिक्षक भएको कारण पनि उहाँलाई केही सहयोग मिल्यो तर परिवारका अन्य सदस्यहरुले भने उहाँलाई साथ दिएनन् । “प्रेम हुँदा लुकेर भेट्न जानु पर्दथ्यो । कसैले देखेर घरमा कुरा लगाइदेलान् कि भन्ने डर लाग्थ्यो । आफुले मन पराएको केटा, माया बस्यो छोड्न सकिने कुरा भएन । आफ्नो जीन्दगी आफै कटाउने भन्ने लागेर मैले उज्ज्वलसँगै विवाह गर्ने निर्णय गरेँ ।” अरुणाले भन्नुभयो ।
त्यसपछि उनीहरुले समाज र परिवारको कसैको कुरा नसुनी आफ्नो प्रेम रोजे अनन्तः उनीहरु भागेर विवाह गर्ने निर्णयमा पुगे । विगत सम्झिँदै उज्ज्वल थप्नुहुन्छ, “एउटै गाउँको केटीलाई भगाएर लैजाँदा त्यहीँमाथि म दलित केटो त डर पनि लाग्यो तर एकअर्काको मन मिलेपछि अरुको बारेमा सोचिएन र हामीले बिहे ग¥यौँ ।” विवाह भइसकेपछि परिवारले अरुणालाई छुट्टाएर लैजान समेत प्रयास गरेको उज्ज्वलको भनाइ छ । तर, उनीहरुले एकअर्काको परिवारलाई सकेसम्म सम्झाइबुझाई गरे । तर विडम्बना अरुणाको परिवारले उनीहरुको प्रेमविवाहलाई अहिलेसम्म स्वीकार गर्न सकेको छैन । अरुणा अहिले पेशाले महिला स्वास्थ्य स्वयंमसेविका हुन् । भने उज्वल सवारी साधनका चालक हुन् ।
अहिले उनीहरुका दुई छोरा छन् जो विद्यालय जाने भइसके । अन्तरजातीय विवाह गरेकै कारण अरुणाले आफ्नी आमाको किरिया राम्रोसँग गर्न पाउनुभएन । “बाहुनको काजक्रियामा दलित समुदायका व्यक्तिहरु बोल्न नहुने, छुन नहुने भन्ने कुरा गरेर मलाई आमाको काजक्रियामा उपस्थित हुन दिएनन् ।” अरुणा भन्नुहुन्छ, “आफूभन्दा तल्लो जातसँग बिहे गरेको भनेर मैले आमाको काजक्रिया बस्न पाइनँ ।” अरुणाले आफ्नै आमाको काजक्रिया गर्न नसकेपछि उहाँले श्रीमान्को घरमा नै काजक्रिया गर्नुभएको थियो ।
अरुणा अहिले आफै स्वास्थ्य स्वयंमसेविका भएकाले पनि समाजमा बढी घुलमिल हुनुहुन्छ । त्यसैले, उहाँले समाजलाई जातीय विभेदबारे बुझाउने गर्नुभएको छ । विस्तारै समाजले पनि बुझ्दै गएको उहाँले अनुभव सुनाउनुहुन्छ ।
अहिले अरुण र उज्ज्वललाई समाजले हेर्ने दृष्टिकोण पनि फरक हुँदै गएको छ । अहिले उनीहरु समाजको नजरमा पनि एक उदाहरणीय जोडीको रुपमा स्थापित छन् । सबैभन्दा ठुलो कुरा त अरुणाले तीन वर्षअघि बाबुको देहान्त हुँदा दाजुभाइसँगै बसेर काजक्रिया गर्नुभयो ।
पछिल्लो समय नीति नियम, ऐन कानुन निर्माण भएपछि नै उहाँलाई काजक्रिया गर्न सहज भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पहिले चेतनाको कमीले गर्दा पनि मलाई आमाको काजक्रिया गर्न दिएका थिएनन् । अहिले विभिन्न सञ्चार माध्यममार्फत कानुनी प्रक्रियाहरुबारे जानकारी भएकोले नै मैले बाबाको काजक्रिया गर्न पाएँ ।” अरुणालाई अहिले उज्ज्वलको परिवारले पनि धेरै माया र इज्जत गर्छन् । उहाँ आफै पनि अन्तरजातीय विवाह गर्नुपर्छ भन्ने पक्षमा समाजलाई बुझाउन थाल्नुभएको छ ।
अरुणा भन्नुहुन्छ, “परिवर्तन आफैँबाट सुरु गनुपर्छ, परिवर्तन सम्भव छ । सम्भव बनाउनुपर्छ ।” कुनै गैरदलित र दलित परिवारका छोराछोरीबीच हुने प्रेमलाई परिवारले स्वीकार गर्नुपर्ने भन्दै उहाँ भन्नुहुन्छ, “सबैको रगत रातो हुन्छ । मानिस कोही ठूलो सानो हुँदैन । सानो ठूलो त उसको सोच हो ।”
समाज परिवर्तनको लागि अन्तरजातीय प्रेम विवाहको महत्वपूर्ण हुने उहाँको अनुभव छ । गैरदलित समुदायसँग प्रेम गरेकै कारण हत्या, हिंसा लगायतका चरम विभेद अन्त्यका लागि कडा कानुनको निर्माण र कानुनको व्यवहारिक पालना नितान्त जरुरी रहेको उनको विचार छ । “समाजलाई परिवर्तन गर्नको लागि अहिलेको युवायुवतीहरु पनि परिवर्तको सम्वाहक बन्न जरुरी छ । म त बनेँ” उहाँले मुस्कुराउँदै संवादको बिट मार्नुभयो ।