बजार
वार्षिकोत्सवमा खल्ती डिजिटल वालेटले ल्यायो उपहार योजना

चितवन, माघ १३-
पेमेन्ट गेटवे खल्ती डिजिटल वालेट चौथो वर्षमा प्रवेश गरेको छ ।
आज प्रेषित विज्ञप्तिअनुसार खल्तीले प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज र सरल बनाउँदै आएको छ । सुरु गरेको तीन वर्षमै खल्ती वालेटका १४ लाखभन्दा बढी प्रयोगकर्ता भएको विज्ञप्तिमा उल्लेख छ ।
‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैँकमा पैसा पठाउन सकिन्छ । यसको प्रयोग गरेर मोबाइलबाटै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिने कम्पनीले जनाएको छ । खल्तीबाट रकम भुक्तानी गर्दा क्यासब्याकका साथमा ग्राहकको नगदको बचतसमेत हुने जनाइएको छ ।
खल्तीले वार्षिकोत्सवका अवसरमा प्रवद्र्धनात्मक योजना सुरू गरेको छ । यस योजनाअन्तर्गत कुल १६ जना प्रयोगकर्ताले चार हप्तासम्म चार ओटा सुविधा मध्ये कुनै एकको भुक्तानी गरी सहभागी भएर निम्न उपहार जित्न सक्नेछन्। खल्तीबाट डीटीएचको शुल्क भुक्तानी गर्नेलाई एउटा टिभी, मोबाइल रिचार्ज गर्नेलाई एउटा स्मार्टफोन, इन्टरनेट शुल्क भुक्तानी गर्नेलाई एक वर्षे इन्टरनेट सब्क्रिप्सन, खल्ती बैँक डायरेक्ट अन्तर्गत बैँक लिंक गर्दा एक स्मार्ट वाच प्रदान गरिने भएको छ । यो योजना यही जनवरी २६ देखि फेब्रुअरी २६ सम्म एक महिना सञ्चालन हुने जनाइएको छ ।
























