अर्थ
बैंकका कर्मचारीलाई विवाहमा ३ दिन बिदा

काठमाडौं,पुस १ –
नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका कर्मचारीले आफ्नो विवाहमा ३ दिन मात्र बिदा पाउने गरेका छन् । राष्ट्र बैंकले जारी गरेको कर्मचारी विनियमावलीअनुसार ३ दिनको बिदा मिल्ने व्यवस्था गरिको छ । बैंकका कर्मचारीलाई विवाह बिदासहित १३ थरीको बिदाको व्यवस्था गरेको छ ।कर्मचारीले पाउने बिदाका प्रकारमा सार्वजनिक बिदाबाहेक घरबिदा, बिरामी बिदा, भइपरी आउने बिदा, मातृत्व संक्षरण बिदा, प्रसूति स्याहार बिदा, किरिया बिदा, विशेष बिदा, विवाह बिदा, वार्षिक तथा अनिवार्य बिदा, असाधारण बिदा, अध्ययन तथा तालिम बिदा, संक्रमण रोग लागेमा पाइने बिदा गरी १३ प्रकारका बिदा पाउने उल्लेख छ ।
घर बिदाअन्तर्गत १८ दिनमा १ दिन बिदा दिने व्यवस्था गरेको छ । वर्षमा २० दिन घर बिदा लिन मिल्नेछ । वर्षमा १२ दिन तलबभत्तासहितको बिरामी बिदा पाउनेछन् । बिरामी बिदा संचित गर्न पाइने व्यवस्था छ ।
भइपरी आउने बिदाअन्तर्गत वर्षको १२ दिन बिदा छ । मातृत्व संरक्षण बिदाअन्तर्गत गर्भवती महिला कर्मचारीलाई प्रसूति हुनुभन्दा अघि वा पछि सेवा अवधिमा दुई पटक सबै सुविधासहितको मातृत्व संरक्षण बिदा दिइनेछ ।प्रसूति स्याहार बिदामा पनि पुरुष कर्मचारीलाई निजको श्रीमती प्रसूति भएको अवस्थामा कुल सेवा अवधिमा दुई पटकसम्म प्रत्येक पटक १५ दिनका दरले पूरा तलबभत्तासहितको प्रसूति स्याहार बिदा दिइनेछ ।
किरिया बिदाअन्तर्गत कुनै कर्मचारीको आमा, बुबा, श्रीमान्, श्रीमती र छोरा छोरीको मृत्यु भई आफैँ किरिया बस्नुपर्ने भएमा १५ दिनसम्म किरिया बिदा पाउनेछ ।






















