खैरहनी
चितवनमा बढ्दो सवारी दुर्घटना, टाँडीदेखि पिप्लेसम्म टाँसियो सचेतनामुलक बोर्ड

चितवन, मंसिर २८–
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आज (आइतबार) जिल्लाका विभिन्न स्थानहरुमा सचेतनामुलक बोर्ड टाँसेको छ ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.चितवनको सहयोगमा पूर्वीचितवनको टाँडीदेखि पिप्पलेसम्म एक दर्जन भन्दा बढी सूचनामुलक बोर्ड टाँसेको हो । पछिल्लो समय पूर्वी चितवन क्षेत्रमा दुर्घटनाको संख्या बढ्दै गएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो पाँच महिनामा पूर्वी चितवन क्षेत्रमा भएका दुर्घटनामा १४ जनाको मृत्यु भइसकेको छ ।
दुर्घटना न्यूनीकरणका लागि पूर्वीचितवनमा क्षेत्रमा रात्रीकालिन चेकचाँजदेखि अन्य प्रशिक्षण कार्यहरु भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘दुर्घटना न्यूनीकरणका विभिन्न प्रयासहरु भइरहेका छन्, सोही अनुरुप जनचेतनामुलक बोर्ड पनि टाँस्न सुरु गरेका छौं ।’ ती सचूना मुलक बोर्डहरुमा ‘तीव्र गतिमा सवारी नहाँकौ, मापसे गरी सवारी नचलौं, ट्राफिक नियमको पालना गरौं’लगायत जस्ता सन्देश उल्लेख गरिएको छ ।

राजमार्ग छेउमा टाँसिएका ती सूचना बोर्डहरु रातको समयमा समेत टल्किने गरि निर्माण गरिएको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.चितवनले ट्राफिक प्रहरी कार्यालयले २ लाख रुपैयाँ भन्दा बढी मूल्यको सूचना बोर्ड सहयोग गरेको छ । एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले दैनिकजसो दुर्घटना हुन थालेकाले सचेतनामुलक बोर्ड सहयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘एक्सपर्टले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न समयमा हरेक किसिमका सहयोग गर्दै आइरहेको छ, अहिले सचेतना जगाउने बेला भएकाले बोर्ड सहयोग गरेका हौं ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दुर्घटना न्यूनीकरणका लागि हरेक प्रयास गर्दै आइरहेको छ । ट्राफिक प्रमुख भट्टले पूर्वी चितवनको राप्ती नगरपालिका क्षेत्रमा व्यवस्थित रिफ्रेसिङ सेन्टर र खैरहनी नगरपालिका क्षेत्रमा व्यवस्थित चेकजाँच सेन्टर निर्माणका लागि प्रक्रिया अघि बढाईएको जानकारी दिनुभयो ।


























