चितवन विशेष
भरतपुरको ल्याण्डफिल्ड साईटमा काम गर्ने ५१ जना सफाईकर्मीहरुलाई सुरक्षा सामाग्री सहयोग

चितवन मंसिर २४
भरतपुर महानगरपालिकाको ल्याण्डफिल्ड साईटमा काम गर्ने ५१ जना सफाईकर्मीहरुलाई सहयोग सुरक्षा सामाग्री बितरण गरिएको छ ।
अनुसन्धान तथा दिगो विकास केन्द्र, नेपाल (क्रिएसन) ले वल्र्ड बैंकको आर्थिक सहयोगमा र बेटर चितवन संस्थाको सहजिकरणमा चितवन जिल्लाको भरतपुर महानगरपालिकाको ल्याण्डफिल्ड साईट र वेस्ट म्यानेजमेन्ट गु्रप प्रा.लि गरि दुई स्थानका ५१ जना सफाईकर्मीहरुलाई मंगलबार सुरक्षा सामाग्री बितरण गरिएको हो ।
उक्त कार्यक्रममा रिसाईकलर साथी परियोजनाकी कार्यक्रम प्रबन्र्धक प्रतिष्ठा श्रेष्ठले सफाईकर्मीहरुले दैनिक रुपमा गर्दै आईरहेको कामले उनीहरुको जिविको उपार्जनमा मात्र टेवा नभई समुदाय र वातावरण सफा राख्न अति नै मद्घत मिलेको बताउनुभयो । उहाँले सफाईकर्मीहरुको स्वास्थ्यमा ध्यान दिनु, उनीहरुलाई सहयोग र साथ दिनु आजको प्रमुख आवाश्यकता हो भन्ने कुरामा समेत जोड दिनुभयो ।
वेटर चितवन संस्थाका तर्फबाट सुवर्ण घिमिरेले नेतृत्व गर्नुभएको थियो भने वातावरण क्षेत्रमा नै काम गर्दै आईरहनुभएका वे ग्रुप नेपालका संयोजक भोज नारायण कंडेल र संदेश फाउण्डेसन नेपालका संयोजक दिवाकर श्रेष्ठको पनि सहभागिता रहेको थियो ।
सफाईकर्मीहरुले फोहोरको बिचमा काम गर्दै गर्दा निकै नै जोखिम मोल्नु परेको र कसैले पनि सामान्य सुरक्षा सामाग्री समेत प्रयोग नगरेको पाएपछि उनीहरुको आवश्यकता बुझेर अनुसन्धान तथा दिगो विकास केन्द्र, नेपाल (क्रिएसन) को सहयोगमा करिब दुई हप्ताको निरन्तर अध्यन पश्चात लामो समयसम्म त्यहाँ कार्यरत सफाईकर्मीहरुलाई उक्त सामाग्रीहरु सहयोग गरिएको बेटर चितवनका संस्थापक अध्यक्ष सागर कार्कीले बताउनु भयो ।
कार्यक्रममा सफाईकर्मीहरुलाई माक्स, पञ्जा, जुत्ता, सुरक्ष्यात्मक जम्पसुट लगायतका अत्यावश्यक सुरक्षा सामाग्री सहयोग गरिएको थियो । साथै चिकित्सक डा. सुवास बस्नेत र स्वास्थ्यकर्मी स्वयमसेवकहरुको टोलीको नेतृत्वमा स्वास्थ्य परामर्श र प्राथमिक उपचार सेवा प्रदान गर्नुका साथै सरसफाई सम्बन्धि सामान्य चेतनामूलक कार्यक्रम पनि संचालन गरिएको थियो ।


























