Breaking News

कोरोनाले थलिएको चितवनको शैक्षिक क्षेत्र तंग्रने तरखरमा, भौतिक कक्षाहरु धमाधम सुरु

Banner

चितवन, मंसिर २१-

नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि लकडाउनले बन्द भएको चितवनका शैक्षिक क्षेत्र मंसिरको पहिलो हप्तादेखि तंग्रिने तरखर गरेका छन् ।

शिक्षा मन्त्रालयले शिक्षण संस्था खोल्ने वा नखोल्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिएपछि स्थानीय तहको समन्वयमा चितवनको शिक्षण संस्था खोल्ने बाटो खुलेको हो । झण्डै १० महिनादेखि घरमा थुनिएर बसेका विद्यार्थी, प्राध्यापकहरु र कर्मचारीहरु शिक्षण संस्था सुचारु हुदा दंग परेका छन् । भौतिक कक्षा सुरु भएसँगै शिक्षण संस्थाहरुमा चहलपहल पनि थपिएको छ । भरतपुरको सप्तगण्डकी, बालकुमारी र वीरेन्द्रजस्ता ठूला क्याम्पसहरु सञ्चालनमा आएसँगै क्याम्पस वरिपरीका पसलहरुमा पनि विद्यार्थीहरुको चहलपहल बढ्न थालेको छ । चितवनमा अधिकांश शिक्षण संस्थाहरुले भौतिक कक्षा सुरु गरिसकेका छन् भने केहीले सुरु गर्ने तयारी गर्दै छन् ।

पब्लिक क्याम्पस संघ चितवनका अध्यक्ष तथा बालकुमारी क्याम्पसका क्याम्पस प्रमुख जगदिश्वर खनालले सेमेस्टरका भौतिक कक्षाहरु सुरु भइसकेको र अन्य तहको पनि कक्षाहरु सुरु गर्ने तयारी गरिएको नारायणी अनलाइनलाई बताए । पब्लिक क्याम्पस संघको तर्फबाट चितवनका प्रमुख जिल्ला अधिकारीलाई केही दिन अगाडि भेटेर प्रशासनको दृष्टिकोण पनि लिइएको खनालले जानकारी दिए । सीडीओबाट पनि राज्यको निर्देशन र सुरक्षा मापदण्ड कायम गर्दै सुचारु गर्न सुझाव आएको उनले बताए । चितवनमा १८ वटा सामुदायिक क्याम्पसहरु छन् । सबैले अहिले धमाधम भौतिक कक्षाहरु सुरु गर्न थालेका छन् ।

भरतपुरको सप्तगण्डकी क्याम्पसले मंसिर १७ गतेबाट स्नातकोत्तर तहको पहिलो सेमेस्टरको भौतिक कक्षा सुरु गरेको छ भने मंसिर २४ गते बुधबार देखि सबै तहको भौतिक कक्षाहरु विधिवत् सुरु गर्दै छ । सप्तगण्डकीका क्याम्पस प्रमुख मणिराज महतोले सुरक्षाका विभिन्न मापदण्डहरु अपनाएर भौतिक कक्षाहरु सुरु गरिएको बताए । विद्यालय तथा क्याम्पसमा कक्षा १२ को लिखित परीक्षा हालसालै सकिएको छ भने विश्वविद्यालयले स्नातक तहका विभिन्न तहका परीक्षाहरु पनि भौतिकरुपमा नै सञ्चालनको तयारी गर्दै छ ।

 

हिसान चितवनका अध्यक्ष भूपेन्द्र धितालले आंशिकरुपमा सबै क्याम्पस तथा विद्यालयहरुमा भौतिक कक्षा सुरु भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘आशा छ चितवनको शिक्षा क्षेत्र पुरानै अवस्थामा फर्कने तर्खर गर्दै छ । ’ उनले स्थानीय तहसँग समन्वय गरेर धमाधम भौतिक कक्षाहरु सुरु भइरहेको जानकारी दिए । हिसान अन्तर्गत ११ वटा कलेजहरु रहेका छन् । त्यसैगरी स्मल हेभेन मोडेल आँपटारीका प्रिन्सिपल बिमल क्षेत्रीले कक्षा ८, ९ र १० को भौतिक कक्षाहरु आजबाटै सुरु गरिएको जानकारी दिए । उनले पहिलो दिनमा ९० प्रतिशत विद्यार्थी उपस्थित रहेको बताए । विद्यालयमा धेरै विद्यार्थी भएकोले एकैपटक भीडभाड नहोस् भनेर चरणबद्धरुपमा विद्यालय खोल्ने काम भइरहेको प्रिन्सिपल क्षेत्रीले बताए । उनले कोरोना संक्रमणको अवस्था हेरेर पुस १५ भित्र सबै कक्षाहरु पुरानै अवस्थामा सञ्चालन हुने बताए । शिक्षण संस्थाहरुमा धमाधम भौतिक कक्षाहरु सुरु हुँदा त्यसको प्रत्यक्ष असर चितवनको यातायात क्षेत्रमा पनि देखिएको छ । कुनै बेला खालीखाली गुडेका म्याजिक भ्यानहरु अहिले भरिन थालेका छन् भने सडकमा विद्यालयका गाडीहरु गुड्दा सबैमा आशाको सञ्चार गराएको छ । विद्यालय तथा क्याम्पसहरुले अनलाइन कक्षा सञ्चालन गर्दै आए पनि विद्यार्थीहरुको सहभागिता निकै न्यून भएकोले भौतिक कक्षाको तुलनामा त्यस्ता कक्षाहरु निकै कम प्रभावकारी देखिँदै आएका थिए ।

चितवनमानै शैक्षिक गुणस्तर बढ्दै गए पछि उच्च शिक्षाका लागि जिल्ला बाहिर जाने क्रम घट्दो रहेको छ । चितवनमा ४६ वटा सामुदायिक विद्यालयमा कक्षा ११ र १२ को पढाइ हुन्छ । गत वर्ष सम्मको तथ्याङ्कलाई हेर्दा १९ वटा निजी उच्चमावि सञ्चालनमा रहेका छन् । त्यत्तिकै संख्यामा निजी बोर्डिङ स्कुल, मेडिकल कलेज, इञ्जिनियरिङ कलेजहरु पनि सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयअन्र्गत विभिन्न विषयमा चितवनमा अध्ययन अध्यापन हुँदै आइरहेको छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>