Uncategorized

अस्पताल चहार्दाचहार्दै मर्नु नपरोस्ःसांसद लिङ्देन

Banner

झापा, कात्तिक १३-

संघीय सांसद् राजेन्द्रप्रसाद लिङ्देनले आज झापाका अस्पतालको अनुगमन गरी बिरामीले उपचारका लागि अस्पताल चहार्दाचहार्दै मृत्युको मुखमा पुग्ने अवस्था आउन नदिन सञ्चालकलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित एक मात्र सदस्य लिङ्देनले भद्रपुरको मेची प्रादेशिक अस्पतालबाट अनुगमन शुरु गर्नुभएको थियो । त्यसपछि भद्रपुरकै ओमसाई पाथीभरा हस्पिटल र बिर्तामोडको बिएन्डसी हस्पिटलको पनि उहाँले अनुगमन गर्नुभयो । मेची प्रादेशिक अस्पतालको अनुुगमन क्रममा सांसद् लिङ्देनले सुपरिन्टेन्डेन्ट डा पीताम्बर ठाकुरसँग सञ्चालन भइरहेको कोभिड हस्पिटलको अवस्था र समस्याका बारेमा जानकारी लिनुभयो । डा ठाकुरले कोभिड र कोभिड नभएका सबै किसिमका बिरामीको उपचार भइरहेको जनाउँदै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले लामो समयदेखि सरकारले तोकेबमोजिमको भत्ता सुविधा नपाएको अवगत गराउनुभयो ।
सांसद् लिङ्देनले बिएन्डसी हस्पिटलमा उपचारका लागि आएका सर्वसाधारण र कार्यकारी प्रमुख दुर्गा प्रसाईँलाई भेटेर त्यहाँबाट प्रवाह भइरहेको उपचार सेवाका बारेमा जानकारी लिनुभयो । कार्यकारी प्रमुख प्रसाईँले निजी हस्पिटलहरुले कोभिड बिरामीलाई उपचार सेवा प्रदान गरेर महामारीविरुद्धको अभियानमा ठूलो टेवा पु¥याएको बताउनुभयो । आफ्नो हस्पिटलबाट कोभिडका बिरामी कसैलाई पनि नफर्काइएको र छुट्टै राखेर उपचार गरिएको जानकारी गराउँदै उहाँले केही दिनमा पिसिआर मेसिन राखेर सेवा प्रदान गरिने बताउनुभयो ।
राप्रपाका पूर्वमहामन्त्री लिङ्देनले कोरोनाको बहानामा अस्पतालले उपचार नगरी बिरामी फर्काउने गरेको र त्यसकै कारण अस्पताल चहार्दाचहार्दै मृत्युवरण गर्नुपर्ने दुःखद् अवस्था आएको जनगुनासो आएका कारण आफू अनुगमनमा निस्किनुपरेको बताउनुभयो ।
कोभिड –१९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएर स्वास्थ्यकर्मीले दिएको योगदान प्रशंसनीय रहेको बताउँदै सांसद् लिङ्देनले सरकारी पक्षबाट अस्पतालको नियमित अनुगमन हुनुपर्ने सुझाव दिनुभयो । ओमसाई हस्पिटलका निर्देशक बालकुमार पोखरेलले जनप्रतिनिधिद्वारा अस्पतालको अनुगमन भएकामा खुशी व्यक्त गर्दै कोभिडविरुद्धको अभियानमा सबै जुट्नुपर्नेमा जोड दिनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>