Breaking News
चितवनमा एक वर्षमा १ हजार ८७६ अपराध सम्बन्धी मुद्दा दर्ता, लागुऔषध सम्बन्धी मुद्दा ४९ प्रतिशतले बृद्धि

चितवन, साउन ७ –
जिल्ला प्रहरी कार्यालय चितवनमा आर्थिक वर्ष २०८२/०८३ मा अपराधसम्बन्धी १ हजार ८७६ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा केही प्रकारका अपराध घटे पनि लागुऔषध र बैंकिङ कसुरका घटनामा उल्लेख्य वृद्धि भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार अदालतमा दर्ता भएका मुद्दामध्ये १ हजार १९२ वटा फछ्र्योट भइसकेका छन् भने ५८४ वटा मुद्दा अझै विचाराधीन छन् ।
दर्ता भएका मुद्दामध्ये आत्महत्यासम्बन्धी ४७४ वटा सबैभन्दा बढी रहेका छन् । त्यसपछि लागुऔषधसम्बन्धी ३४१, सार्वजनिक हितविरुद्धका कसुरसम्बन्धी २६४, बैंकिङ कसुरसम्बन्धी १९२, सवारी ज्यानसम्बन्धी ९८, चोरीसम्बन्धी ८८, करणीसम्बन्धी ४५ तथा कर्तव्य ज्यानसम्बन्धी ३ वटा मुद्दा दर्ता भएका छन् ।
स्थानीय तहअनुसार सबैभन्दा बढी अपराध भरतपुर महानगरपालिकामा १ हजार १६० वटा दर्ता भएका छन् । त्यसपछि कालिका नगरपालिकामा २३२, रत्ननगरमा १४३, माडीमा ९९, खैरहनीमा ९३, इच्छाकामनामा ७९ र राप्ती नगरपालिकामा सबैभन्दा कम ७० वटा अपराधसम्बन्धी घटना दर्ता भएका छन् ।
प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लागुऔषधसम्बन्धी अपराध ४९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८१/०८२ मा १८५ वटा रहेको यस्तो अपराध गत वर्ष २७५ पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ । यस्तै बैंकिङ कसुरसम्बन्धी अपराध पनि ४६ प्रतिशतले वृद्धि भएको छ । सवारी ज्यान र ठगीसम्बन्धी मुद्दा क्रमशः ८ र ३ प्रतिशतले बढेका छन् । यद्यपि चोरी, अभद्र व्यवहार, आत्महत्या, जबर्जस्ती करणी, विद्युतीय अपराध, बाल यौन दुरुपयोग तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा भने घटेको प्रहरीले जनाएको छ ।
एक वर्षको अवधिमा अदालतबाट दोषी ठहर भएका ८७७ जनालाई पक्राउ गरिएको प्रहरीको तथ्यांक छ । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा २९४ जनाले बढी हो । आर्थिक वर्ष २०८१/ ०८२ मा ५८३ जना पक्राउ परेका थिए । गत आर्थिक वर्षमा पक्राउ परेका दोषीहरूको कुल कैद अवधि १२२ वर्ष ८ महिना २० दिन रहेको छ । साथै, ६ करोड ७६ लाख ४७ हजार ६१९ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।
प्रहरीले सो अवधिमा हराएका ४१० वटा मोबाइल फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको जनाएको छ। त्यस्तै, जिल्लाभर १२ हजार ८३४ पटक गस्ती सञ्चालन गरिएको, ९१ वटा बन्द, विरोध, जुलुस तथा ¥याली भएका र प्रहरीको ‘१००’ नम्बरमा ४५ हजार ९३७ पटक नागरिकबाट फोन आएको तथ्यांक पनि सार्वजनिक गरिएको छ ।

























