Breaking News
चितवनका तीन कृषक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत

चितवन,असोज ३०-
कृषि ज्ञान केन्द्र चितवनले चितवनका तीन जना उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ । आज (शुक्रबार) बागमती प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले तीन जना कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गर्नुभएको हो ।
उत्कृष्ट कृषक पुरस्कारबाट भरतपुर महानगरपालिका २५ स्थित नोवेल एग्रिकल्र्चर र्फमका संचालक कृष्ण प्रसाद न्यौपाने, इच्छाकामना गाँउपालिका ५ स्थित एकिकृत सुन्दर कृषि फर्मका संचालक रामप्रसाद जैसी बोहोरा र खैरहनी नगरपालिका १२ कुमरोज स्थित लालीगुराँस सहकारीका प्रतिनिधि कृष्ण भण्डारी पुरस्कृत हुनुभएको छ । उहाँहरुलाई जनही १०/१० हजार रुपैंया र सम्मानपत्र प्रदान गरिएको छ ।

सो अवसरमा बोल्दै मन्त्री लामाले कृषि पेसामा लाग्ने किसानलाई सधैं सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले कृषकको सम्मान विना कृषि पेसा सम्मानित नहुनेभन्दै सरकारको प्राथमिकतामा किसान रहेको बताउनुभयो ।
“व्यवसायीक कृषि कर्ममा लाग्ने किसानहरुको संख्या दिन प्रतिदिन बढ्दै छ,उहाँले भन्नुभयो’,देशभित्रै ठूलाठूला कृषि फर्महरु स्थापना भइरहेका छन ।” उहाँले चितवन कृषि उत्पादनको केन्द्र भएको भन्दै यहाँका किसान हरेक कुरामा उदाहारण बनेको बताउनुभयो । भौगोलिक बनावटले पनि चितवनमा स्याउदेखी आँपसम्म फल्ने जमिन रहेको उल्लेख गर्नुभयो ।

उत्कृष्ट कृषक पुरस्कारका लागि जिल्लाका १४ जना किसानले आवेदन दिएका थिए । उनिहरु सबैको फर्ममा जिल्ला कृषि विकास समन्वय समितिले स्थलगत अवलोकन पश्चात उत्कृष्ट कृषक छनोट गरिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताउनुभयो । “आवेदन दिएको सबै कृषक उत्कृष्ट छन,उहाँले भन्नुभयो,त्यसमध्य पनिs तीनजना छनोट गरेर सम्मानित गरेका हौं ।”
किसान कृष्ण प्रसाद न्यौपानले पुरस्कृत हुन पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो,“मेरो लागि यो पुरस्कार नोवेल पुरस्कारभन्दा कम्ती लागेन ।” उहाँले सरकारका तर्फबाट किसानका लागि सधै उत्प्रेरणाका कार्यक्रमहरु संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले सम्मानबाट थप प्रेरणा मिलेको भन्दै कृषिलाई अझै व्यवसायीक बनाउन लागिपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटी,प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई लगाएतको सहभागिता रहेको थियो ।



























