क्रिकेट
चेन्नाईले हैदरावादलाई २० रनले हरायो

काठमाडौं, असोज २७–
युएईमा जारी इण्डियन प्रीमियर लीग (आइपीएल)मा साविक उपविजेता चेन्नाई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई २० रनले पराजित गरेको छ । लीगको दोस्रो चरणको पहिलो खेलमा चेन्नाईले उत्कृष्ट सुरुवात गरेको हो ।
चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको हैदरवाद ८ विकेटको क्षतिमा १४७ रन मात्रै जोड्न सक्यो । उसका लागि केन विलियम्सनले सर्वाधिक ५७ र जोनी ब्रेस्टोले २३ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले उल्लेखीय प्रदर्शन गर्न सकेनन् ।
चेन्नाईका लागि कर्ण शर्मा र ब्राभोले समान २/२, शाम करन, रविन्द्र जडेजा र शार्दुल ठाकुरले समान एक/एक विकेट लिए ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको चेन्नाईले ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो । उसका लागि शेन वाट्सनले ४२, अम्बाती रायडुले ४१, शाम करनले ३१ रनको योगदान दिए । हैदरवादका लागि सन्दीप शर्मा, खालिल अहमद र नटराजनले समान २/२ विकेट लिए ।
आजको जीतसंगै चेन्नाई ८ खेलमा ३ जीत र ५ हार व्यहोर्दे ६ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । यस्तै हैदरावाद आजको खेलमा पराजित भए पनि नेटरनरेटका आधारमा ६ अंकका साथ पाँचौ स्थानमा यथावत छ ।
























