चितवन विशेष
फेसबुकबाट सिकेर मास्क बनाउँदै नमुना: लकडाउनमा मात्रै एक लाख मास्क बिक्री

चितवन, असोज २०
गत चैतको कुरो हो । समय कोरोना क्रासको थियो । यद्यपि अहिले पनि छ । कोरोनाले गर्दा नै कैयौं बेरोजगार भए । कत्तिले गर्दागर्दैकोे कामलाई बन्द गर्नुप¥यो । सधै एकैनास नहुने समयले धेरै गरिखानेलाई बाच्न नै सकस बनाइदियो । तर, कत्तिले यही समयलाई सदुपयोग गर्दै वैकल्पिक बाटो खोजे र सफलता पनि हात पारे । यस्तैमा एक हुनुहुन्छ भरतपुर महानगरपालिका–१० मा रहेको नमुना लेडिज ट्रेलर्सकी सञ्चालिका नमुना पौडेल ।
कोरोनाको हल्ला र लकडाउनको घोषणासँगै बजारमा मास्कको कालोबजारीले चर्को अभाव हुन थाल्यो । त्यही बेला सामाजिक सञ्जालमा प्राय अपडेट भइरहने नमुनाले एउटा भिडियो देख्नुभयो । कपडाको मास्क बनाइरहेको । खुबै चाखले त्यो भिडियो हेरेको बताउने उहाँले त्यही सिको गर्दै कपडाको १० वटा मास्क बनाउनुभयो र फेसबुकमा पोष्ट गर्नुभयो- ‘मास्क चाहिए सम्पर्क गर्नुहोला ।’
”तुरुन्तै अनपेक्षित रुपमा ५०० वटा मास्कको अर्डर आयो । सक्दिनकी जस्तो लागेको थियो । तर, च्यालेन्जकै रुपमा लिएर रातभर काम गरी भोलिपल्टै ५०० नसके पनि ३०० मास्क बनाएर दिएँ” बिगतलाई सम्झदै उहाँ भन्नुहुन्छ ।नमुनाले ट्रेलर्स चलाएकै १० वर्ष भइसक्यो तर अहिले जति दङ्ग कहिल्यै हुनुहुन्न उहाँ । मास्क अर्डर तारन्तर आइनै रह्यो । उहाँ भन्नुहुन्छ, ‘चैत ९ बाट सुरु गरेकोे मास्क बनाउन २५ गतेसम्म पुग्दा त १० हजार मास्क बनाएर बेचिसकेका थियौ ।’
लकडाउनमा उहाँले खोजेको वैकल्पिक बाटोले अहिले फराकिलो यात्रा तय गरेको छ । हालसम्म उहाँले एक लाख मास्क बिक्री गरिसक्नुभएको छ भने कैयौँलाई निःशुल्क मास्क वितरण गर्नुभएको छ । उहाँ आफ्नो व्यवसायबाट निकै सन्तुष्ट हुनुहुन्छ ।
उहाँ हरेक दिनजसो चितवनको बजार क्षेत्र राउन्ड मार्नुहुन्छ मास्क बोकेर । कयौं सडकमा बस्ने बेसाहारालाई तथा अन्य व्याक्तिलाई पनि मास्क बाडिसक्नु भएको छ । मास्क बोकेर क्यान्सर अस्पताल पुग्नुभयो,कारागार पुगेर त्यहाँ निःशुल्क मास्क बाड्दा पाएको आत्मसन्तुष्टिले पुलंकित हुनुहुन्छ उहाँ ।

मास्क बनाउँदा सुरुमै आफ्नै ढङ्गले बनाउने उहाँले पछिल्लो समयमा एक जना डाक्टरकै निर्देशन अनुसार बनाइरहेको बताउनु हुन्छ । कपडा बजारबाट किनेर ल्याएर माग अनुसारकै बनाइदिने गरेको बताउनुहुन्छ ।
उहाँले चलाएको ट्रेलर्स उहाँ आफै मात्रै काम नगरेर थप २ जनालाई रोजगार दिनु भएको छ । लकडाउनताका त चार जनाले नै काम पाएका छन् । कुनैबेला शिक्षण पेसा गर्ने नमुनाले शिक्षण पेसामा पाएको आर्थिक अभावले कपडा सिलाउने काम सिकेर यसमै जमिरहनु भएको छ । ‘मैले त शून्यबाट सुरु गरेकोे हो । तर निरन्तर एउटै क्षेत्रमा काम गर्दा सफलता एकदिन जसै मिल्ने रहेछ ’ उहाँ भन्नुहुन्छ । संकट र महामारीको समयमा पनि आफ्नो पेसालाई अब्बल बनाउन सफल नमुना पौडेल अहिले नाममात्र ‘नमुना’ नभएर साच्चैको नमुना बन्नु भएको छ ।


























