Breaking News

माडी अयोध्याधाम बहसः के भन्छन् चितवनका स्थानीय सरकार प्रमुखहरु ?

Banner

                                                                                                                               

    प्रस्तुति – नारायण सापकोटा,

प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मस्थानको सम्बन्धमा सार्वजनिक गर्नुभएको विषय देशभर नै चर्चाको विषय बनेको छ । राजनीतिक दलका नेताहरु, सामाजिक व्यक्तित्व, महिला अगुवा, धार्मिक व्यक्तित्वहरु, पर्यटन व्यवसायी, युवाहरु र सञ्चारकर्मीहरुले अयोध्याधामको निमार्णको विषयलाई विकाससँग जोडेरे आफ्ना धारणाहरु सार्वजनिक गरिसकेका छन् । यो अभियान सफल भएका समग्र देशकै पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्ने विश्वास पनि रहेको छ । यो अभियानलाई अगाडि बढाउँदा राष्ट्रिय निकुञ्ज, चेपाङ बस्ती, रिउ करिडोर, सुकुम्वासी समस्या, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षाका समस्याहरु समाधान गर्ने योजनासहित अगाडि बढ्नुपर्छ भन्ने धारणा सबै क्षेत्रबाट आएका छन् ।

माडी नगर कार्यपालिकाको वैठकले यसअघि साविक अयोध्यापुरी गाविसका तीन स्थानलाई सिफारिस गर्ने निर्णय गरेपनि विभिन्न छलफल र अनुसन्धान गर्दै कृष्णनगर पार्कलाई नै उपयुक्त स्थान छनौट गरी सिफारिस गर्ने निर्णय गरेको छ भने जटायु पार्कलगायतका स्थानहरु माडीका विभिन्न स्थानमा बनाउन सकिने आधार तयार पारेको छ । यो विषयले माडीको साथै देशकै पर्यटनको विकासमा कस्तो प्रभाव पार्छ ? भन्ने सम्बन्धमा यसपटक चितवनका स्थानीय सरकार प्रमुखहरुको विचारलाई समावेश गरिएको छ । बहसको अभियानमा आएका विचारहरुलार्ई समावेश गर्दै जाने लक्ष्य पनि रहेको छ ।

रेनु दाहाल, मेयर , भरतपुर महानगरपालिका –

प्रधानमन्त्रीज्युले भानु जयन्तीको अवसरमा सार्वननिक गर्नुभएको रामको जन्मभूमि र अयोध्याको विषयलाई विभिन्न खोज अनुसन्धान गरेर नै प्रमाणित हुने आधार तयार गर्नुपर्छ । ऐतिहासिक, धार्मिक र पुरातात्विक रुपले प्रमाणित गर्न सकिएन भने विवादको विषय बन्न सक्छ । त्यसैले विज्ञहरुलाई जुटाएर तथ्य र प्रमाणहरुलाई ऐतिहासिक, पुरातात्विक र धार्मिक रुपबाट अध्ययन अनुसन्धानको काम पनि अगाडि बढाउनुपर्छ भन्ने मलाई लागेको छ ।

माडी ऐतिहासिक, पुरातात्विक र धार्मिक दृष्ट्रिकोणले महत्वपूर्ण स्थल हो । यी विषयहरुमा गहिरिएर अध्ययन अनुसन्धान हुन सकेको छैन् । प्रधानमन्त्रीले सार्वजनिक गर्नुभएको विषयले अध्ययन अनुसन्धानलाई सक्रिय बनाएको छ । अध्ययन अनुसन्धानबाट वास्तविक तथ्यसहित रामधाम निर्माणको काम अगाडि बढ्यो भने माडीको मात्र होइन समग्र देशकै पर्यटन विकासमा सहयोग पुग्छ । विभिन्न विकासका आधारहरु तयार हुन्छन् । रोजगारीको अवसर प्राप्त हुन्छ । आर्थिक उन्नतिका आधार तयार हुन्छन् । विकासको कोणबाट हेर्दा यो विषयले सकारात्मक प्रभाव पारेको छ । विकासको अवसरका रुपमा पनि अगाडि बढ्न सक्छ ।

माडीमा विकासका विभिन्न संभावनाहरु भएर पनि विकासको गति द्रुत रुपले अगाडि बढेको छैन । माडीमा चेपाङ्का समस्या, भूमिहीन सुकुम्बासीलगायत दलित, आदिवासी जनजातिका समस्या, रिऊ करिडोर र यातायातको समस्या, नदी नियन्त्रण , निकुञ्ज र वन ऐनले उत्पन्न गरेका तमाम समस्या छन् । यी समस्याको समाधान नगरी माडी बासीले न्याय पाउँदैनन् । त्यसैले बलियो सरकार भएको अवस्थामा यस्ता समस्या समाधान गर्नतर्फ सरकारको ध्यान जानुपर्छ । रामन्दिर बनाउनु मात्र होइन , समग्र माडीका समस्याहरु समाधान गर्ने मार्गचित्र तयार गरी अगाडि बढ्नुपर्छ ।

ठाकुरप्रसाद ढकाल ,मेयर, माडी नगरपालिका–

प्रधानमन्त्रीज्युले विभिन्न शास्त्रीय अध्ययन र विज्ञहरुसँगको छलफलबाट नै अयोध्याको विषय सार्वजनिक गर्नुभएको हो भन्ने मलाई लागेको छ । किनभने चितवनको माडी धार्मिक, पुरातात्विक, ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो । यहाँका महत्वपूर्ण स्थलहरुलाई अध्ययन गर्दा प्रधानमन्त्रीज्युले सार्वजनिक गर्नुभएको विषयलाई निष्कर्षमा पु¥याउने धेरै आधारहरु रहेका छन् । त्यसैले यो विषय समग्र माडी विकाससँग जोडिएको विषय भएकोले मैले सकारात्मक रुपमा लिएको छु । माडी नगरपालिकाले पनि यो विषयलाई आस्था र विकाससँग जोडेर रामधाम निर्माणको प्रक्रिया अगाडि बढाइरहेको छ ।

माडीमा रामधाम बनाउनको लागि प्रधानमन्त्रीले लिएको अग्रसरतालाई तथ्यमा आधारित छैन्, यसले माडीका अन्य विकासहरु ओझेलमा पार्छ भन्ने विचारहरु पनि आएका छन् । यस्ता विचारहरु पुर्वाग्रही ढङ्गबाट आएका हुन भन्ने मलाई लागेको छ । माडी नगरपालिकाले माडीको चेपाङ् बस्ती बसाउने, बाटो विस्तार र कालोपत्रे गर्ने, रिउ करिडोर, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रको विकासमा काम गरिरहेकै छ । यी विषयहरु रोकेर राममन्दिर बनाउने विषय पटक्कै होइन् । समग्र माडी विकासका गुरुयोजनासहित अगाडि बढ्ने विषय हो । त्यसैले यो विषयमा अनावश्यक विवाद नगरी सामुहिक एकताको भावनाले काम अगाडि बढाउनुपर्छ ।

चितवन राष्ट्रिय निकुञ्ज माडीको लागि वरदान हुन सकेन । पञ्चायतकालमा बनेको निकुञ्ज ऐनले माडी विकासमा अवरोध उत्पन्न गरेको छ । त्यसैले माडी नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन अनुसार काम गर्न पाउनुपर्छ । माडीमा राम मन्दिर बनाउने सन्दर्भमा विकासको लागि बाधक बनेका निकुञ्ज ऐनहरु संशोधन गरेर जानुपर्छ । माडी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष के.पी.शर्मा ओलीको प्रतिष्ठासँग जोडिएको र पार्टी अध्यक्ष प्रचण्डको कर्मक्षेत्र रहेको स्थान हो । त्यसैले दुबै अध्यक्षहरुले माडीवासी जनताको भावनालाई सम्बोधन गरी अगाडि बढ्नुपर्छ । प्रधानमन्त्री र पार्टी अध्यक्षसँग प्रतक्ष्य रुपमा जोडिएको विषय भएकोले यो सन्दर्भमा निकुञ्ज ऐन संशोधन गरेर स्थानीय सरकार सञ्चालन गर्ने बाटो खुल्ला हुन्छ भन्ने मलाई लागेको छ ।

यो विषय धर्मको मात्र होइन, धार्मिक सहिष्णुता , संस्कृति,जनताको आस्था, सामाजिक परिवेश र विकाससँग जोडिएको विषय हो । कम्युनिष्ट पार्टीको सरकार समाजको आवश्यकता, जनताको चहाना , आस्था र विकासलाई पनि सम्बोधन गरी अगाडि बढ्नुपर्छ । त्यसैले धर्मको कुरा उठाएर विवाद गर्नुभन्दा एकताको भावनाले अवसरलाई सदुपयोग गरी अगाडि बढ्नको लागि सबैमा अनुरोध पनि गर्दछु ।

नारायण वन , मेयर, रत्ननगर नगरपालिका –

प्रधानमन्त्रीले विभिन्न अध्ययन अनुसन्धान गरेर रामधाम बनाउने पहल गर्नु सकारात्मक कार्य हो । सरकार प्रमुखले विषय सार्वजनिक गर्नुभएको छ त्यसलाई निष्कर्षमा पु¥याउने जिम्मा हामी सबैले लिनुपर्छ । यो विषय विकास र समृद्धिसँग जोडिएको विषय भएको हुनाले अवसरको रुपमा लिनुपर्छ र सफल बनाउन सबैको सहयोग पनि अपरिहार्य हुन्छ ।

प्रधानमन्त्रीकै अग्रसरता माडीका पौराणिक र ऐतिहासिक स्थलहरुको अध्ययन अनुसन्धान गरी रामधाम बनाउने काम अगाडि बढ्नु सकारात्मक कार्य हो । यो विषय माडी र चितवनको मात्र होइन राष्ट्रकै इज्जत , प्रतिष्ठा र पहिचानसँग जोडिएको विषय हो । प्रधानमन्त्रीले सार्वजनिक गरेर अग्रसरता लिएको विषयलाई सफल बानाउने जिम्मा पनि हामी सबैको हो । त्यसैले विकासको अवसरको रुपमा आएको रामधाम निर्माणको विषयलाई सकारात्मक रुपमा लिएर अगाडि बढ्नुपर्छ । यो विषयले देशकै पर्यटन विकासमा नयाँ आयाम थप्छ भन्ने लाग्छ ।

माडी क्षेत्र परापुर्व कालदेखि नै धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका दृष्टिले महत्वपूर्ण स्थल हो । यस्ता स्थलहरुको प्रयाप्त खोज अनुसन्धान तिनीहरुको महत्व बाहिर आउन सकेको छैन । प्रधानमन्त्रीको अभिव्यक्तिले अध्ययन अनुसन्धानको विषयलाई अगाडि बढाउने काम भएको छ । यसबाट माडीको मात्र होइन देशकै पर्यटन विकासमा ठुलो योगदान मिल्नेछ भन्ने मलाई लागेको छ ।

लालमणि चौधरी , मेयर, खैरेहनी नगरपालिका –

प्रधानमन्त्रीले सार्वजनिक गर्नुभएको अयोध्याको प्रसङ्ग गहन अध्ययन र अनुसन्धान गरेर अगाडि बढाउने विषय हो । यसले दीर्घकालिन रुपमा कस्तो प्रभाव पार्छ भनेर दूरदृष्टिले काम गर्नुपर्छ । यो विषय देशकै पहिचानसँग जोडिएको विषय भएकोले अध्ययन अनुसन्धान गरी तथ्यका आधारमा अगाडि बढ्नु उपयुक्त हुन्छ ।

यो विषय देशको तथ्यका आधारमा अगाडि बढ्यो भने समग्र देशकै गौरवको विषय बन्छ । यसले देशको पर्यटन विकासमा मात्र होइन समग्र विकासमा नै नयाँ आयाम थप्ने काम गर्छ । त्यसैले राष्ट्रिय, अन्तराष्ट्रिय विज्ञहरुको सहभागितामा अनुसन्धान हुनुपर्छ । तथ्यका आधारमा कार्य अगाडि बढ्ने अवसर आयो भने खैरेहनी नगरपालिकाले गर्ने सहयोगमा कुनै कमी आउँदैन् । यो विकाससँग सम्बन्धित विषय भएकोले सबैको सहयोग हुनुपर्छ । विषय अन्तराष्ट्रियकरण हुन्छ र पर्यटकहरुका लागि आकर्षण स्थल बन्नेछ ।

प्रभा बराल , मेयर, राप्ती नगरपालिका –

प्रधानमन्त्रीले विभिन्न अध्ययन अनुसन्धान गरेर सार्वजनिक गर्नुभएको विषय धार्मिक आस्था र विकाससँग जोडिएको विषय हो । यो विषयले माडीको मात्र होइन देशकै विकासमा ठुलो सहयोग हुन्छ भन्ने मलाई लागेको छ । माडीमा राम र अयोध्या सम्बन्धका विभिन्न विषयवस्तु रहेको हुनाले अध्ययन र अनुसन्धान अगाडि बढाउनुपर्छ । खोज र अध्ययनका कामहरु अगाडि बढिहेका छन् । माडीवासीमा उत्साह थपेको छ । आर्थिक उन्नति र रोजगारका अवसरहरु आउँछन् । त्यसैले यो विषयलाई अवसरको रुपमा लिएर माडीको समग्र विकासमा केन्द्रित हुनुपर्छ ।

कम्युनिष्टहरु भौतिकवादी भएपनि संस्कृति र आस्थाको विषयलाई सम्पत्तिको रुपमा लिएका हुन्छन् । अध्ययन, अनुसन्धान र तथ्यमा आधारित भएर अगाडि आएका विषयलाई सम्मान गर्नुपर्छ । त्यसैले कम्युनिष्टको सरकारले धर्मको विषयमा कुरा हुन्न भन्ने विचारले समाजको मनोविज्ञान र आस्थाको विषयलाई सम्मान गर्न सक्दैन ।

माडीमा विकासका कार्यहरु अगाडि बढिरहेका छन् । रामधाम निर्माण गर्दा अन्य विकासहरु रोकिन्छ भन्ने कुरामा सत्यता छैन । रामधाम निर्माणले त समग्र विकासमा गति ल्याउने काम गर्छ ।

खुमनारायण श्रेष्ठ , मेयर, कालिका नगरपालिका –

प्रधानमन्त्रीले सार्वजनिक गर्नुभएको विषयलाई अध्ययन अनुसन्धान गरेर ऐतिहासिक र पुरातत्वविज्ञहरुले सार्वजनिक गरेको भए सान्दर्भिक हुन्थ्यो । विषय सार्वजनिक भएको छ । यतिबेला अनुसन्धानको कामलाई नै अगाडि बढाउनुपर्छ । अयोध्या नै माडीमा भनेर राम मन्दिरको निर्माणको काम अगाडि बढाउँदा अन्तराष्ट्रलाई नै मान्य हुने प्रमाण जुट्न सकेन भने विषय विवादित बन्छ । त्यसैले विज्ञहरुद्वारा उत्खनन्को आवश्यकता छ ।

प्रधानमन्त्रीले उठाउनुभएको विषयलाई माडी नगरपालिकाले अग्रसरता लिएर काम अगाडि बढाउनु सकारात्मक कार्य हो । स्थानीयमा सक्रियता र उत्साह देखिएको छ ।जमिन खोज्नेदेखि तथ्यहरु सङ्कलनको काम पनि भएको छ । यो विषयलाई तथ्य र प्रमाणका आधारमा अगाडि बढाउन सकियो भने देशकै पर्यटनको विकासमा सहयोग पुग्नुका साथै अन्य क्षेत्रको विकासमा पनि सकारात्मक प्रभाव पार्छ । त्यसैले भविष्यमा पनि विवादको विषय नबन्ने गरी काम गर्नुपर्छ ।

गीता गुरुङ , अध्यक्ष, ईच्छाकामना गाउपालिका –

देशमा पर्यटनको विकास गर्ने र हाम्रो धर्म संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रधानमन्त्रीज्युले राम मन्दिर निर्माण गर्न पहल गर्नु स्वागत योग्य काम नै हो । तर रामको जन्मभूमिका सन्दर्भमा सार्वजनिक गर्नुभएको विषय बृहत खोज र अनुसन्धानबाट सार्वजनिक गर्नुपर्ने विषय हो । सरकार प्रमुखले नै सार्वजनिक गर्नुभएको विषय अनुसन्धानबाट आएकै होला । अहिले राममन्दिर निर्माण गर्ने अनि अनुसन्धानबाट प्रमाण पु¥याउन सकिएन भने विवादको विषय बन्ने भएकोले अनुसन्धानलाई प्रभावकारी रुपमा अगाडि बढाएर काम गर्नुपर्छ भन्ने मेरो धारणा हो ।

अनुसन्धानबाट प्रमाणित आधारहरु तयार गरेर राममन्दिरको निर्माण अगाडि बढेमा यो माडीको मात्र होइन समग्र चितवनकै गौरव र प्रतिष्ठाको विषय हो । यसले देशकै पर्यटन क्षेत्रको विकास गर्छ । त्यसैले धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका विषयहरुको अध्ययन गरेर काम अगाडि बढाउनुपर्छ । यो विषयमा स्थानीय आदिवासीहरुसँग छलफल गरी अगाडि बढ्नुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>