Breaking News
भरतपुरको जेम्स वल्ड फनपार्कका मेसिनमा खिया लाग्न थालेपछि व्यवसायी चिन्तित

चितवन, असोज ८-
उद्घाटन भएको एक वर्ष पनि नपुग्दै भरतपुरको लंकुमा रहेको जेम्स वल्र्ड फन पार्क कोरोनाका कारणले बन्द भएपछि मेसिन बिग्रने चिन्ताले व्यवसायीलाई पिरोलेको छ ।
फागुन १० गतेबाट देशव्यापी लकडाउन हुनुभन्दा दुई दिन अघिनै जिल्ला प्रशासन कार्यालय चितवनले फन पार्कलाई बन्द गर्ने निर्देशन दिएपछि फनपार्क बन्द भएको थियो । कोरोना संक्रमण बढ्दै गएपछि सात महिनासम्ममा पनि सञ्चालनमा आउन सकेको छैन । सञ्चालनमा आएर पैसा कमाउने चिन्ता भन्दा पनि लगानीकर्तालाई अहिले सबै मेसिन बिग्रिएर लगानी डुब्ने हो कि भन्ने चिन्ता छ ।
फन पार्कका अध्यक्ष महेश तिवारीले सबै खेल खेलाउने मेसिनहरु नचलाएर बिग्रियो भने मर्मत सम्भार गर्न गाहे हुने नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘ सरकारबाट राहत वा पुर्नकर्जाको लागि केही प्रयास भएको छैन । कर्मचारीहरुलाई तलब खुवाउने देखि मेसिन बिग्रने चिन्ताले सताएको छ । सुरक्षाको मापदण्ड अपनाएर भीडभाड नगरी खोल्न पाए पनि केही राहत हुने थियो ।’ फन पार्कका मेसिनहरु खिया लागेर बिग्रिएमा चीनबाट जनशक्ति ल्याएर बनाउनुपर्ने भएकोले निकै खर्चिलो हुने उहाँले बताउनुभयो । उहाँले धेरै क्षेत्रफलमा फन पार्क रहेकोले निश्चित दूरी कायम गरेर मापदण्ड अपनाउँदै खेलाउन सकिने बताउनुभयो । जसको लागि उहाँ पर्यटन मन्त्रालयदेखि स्थानीय निकायसम्म सञ्चालन अनुमतिको लागि धाइरहनु भएको छ ।
फन पार्कमा ७० जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएकोमा अहिले ६ जना पूर्णकालिन र १० जना अल्पकालिनरुपमा काम गरिरहेका छन् । फन पार्कले लकडान र कोरोना महामारीले अहिलेसम्म ६ करोडको कारोबार गुमाएको र राज्यले एक करोडको राजस्व गुमाएको जनाएको छ ।
सहरी कोलाहलबाट केही समय विश्राम लिएर रमाउन २५ करोड बढी लगानीमा फन पार्क निर्माण गरिएको हो । २०७५ वैशाख १ गते उद्घाटन गरिएको फनपार्क चैतको पहिलो हप्ताबाटै लकडाउनको मारमा परेको हो । मनोरञ्जनका साधन र सुविधाका हिसाबले नेपालकै सबैभन्दा ठूलो फन पार्क भनिएको यस पार्कमा विश्वमा उत्कृष्ट मानिएका खेलहरू राखिएका छन्। नारायणगढबाट तीन किलोमिटर दुरीमा तीन बिघा क्षेत्रफलमा फन पार्क सञ्चालन गरिएको छ । फन पार्कमा सानादेखि ठूला गरी एक सय खेल समावेश छन् । सबै उमेर समूहलाई लक्ष्य गरी छुट्टा छुट्टै खेलको व्यवस्था गरिएको छ । भेटघाट ग्रुपले प्रवद्र्धन गरेको फन पार्कमा प्रयोग भएका सामान चीन, भारत र ताइवानकबाट ल्याइएको हो । चीन र भारतका प्राविधिक आएर निर्माण गरेका हुन् ।
























