विचार/ब्लग

चितवनमा अयोध्याधाम बहसः के भन्छन् सञ्चारकर्मी ?

Banner

भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी .शर्मा ओलीले रामको जन्मस्थानको सम्बन्धमा सार्वजनिक गर्नुभएको अभिव्यक्ति यतिबेला देशभर नै चर्चाको विषय बनेको छ । राजनीतिक दलका नेताहरु, सामाजिक व्यक्तित्व, महिला अगुवा, धार्मिक व्यक्तित्वहरु, पर्यटन व्यवसायी, युवाहरुले अयोध्याधामको निमार्णको विषयलाई विकाससँग जोडेरे आफ्ना धारणाहरु सार्वजनिक गरिसकेका छन् । यो विषयलाई अवसरको रुपमा लिनुपर्ने धारणा पनि आइरहेको छ । यो अवसरका समृद्ध माडी बनाउनको लागि राष्ट्रिय निकुञ्ज, चेपाङ बस्ती, रिउ करिडोर, सुकुमबासी समस्या, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षाका समस्याहरु समाधान गर्ने गुरुयोजनासहित अगाडि बढ्नुपर्छ भन्ने धेरैको मत रहेको छ । यो विषयले माडीको समग्र विकासमा कस्तो प्रभाव पार्छ ? यो माडी विकासको लागि अवसर नै हो त ? भन्ने सम्बन्धमा यसपटक सञ्चारकर्मीहरुको विचारलाई समावेश गरिएको छ । बहसका क्रममा आएका नयाँ विचारहरुलार्ई समावेश गर्दै जाने लक्ष्य पनि रहेको छ ।

गोविन्द आचार्य अध्यक्ष, नेपाल पत्रकार महासंघ , केन्द्रीय समिति– प्रधानमन्त्रीज्युले विभिन्न खोज अनुसन्धान गरेर नै रामको जन्मभूमि अयोध्याको बारेमा विषय सार्वजनिक गर्नुभएको होला भन्ने नै लाग्योे । माडीमा मात्र होइन राष्ट्रिय रुपमा नै छलफल र बहसको विषय बन्यो । अध्ययन अनुसन्धानबाट वास्तविक तथ्य अगाडि आयो भने माडीको मात्र होइन समग्र देशकै पर्यटन विकासमा सहयोग पुग्छ । यो विषयमा अध्ययन अनुसन्धानबाट तथ्यसहितका प्रमाणहरु खोज्नु जरुरी रहेको छ । प्रधानमन्त्रीको अभिव्यक्तिबाट जनतामा उत्साह पनि थपेको छ ।
भानु जयन्तीका अवसरमा प्रधानमन्त्रीले विषय सार्वजनिक गर्नुभयो तर अनुसन्धानको काम प्रभावकारी रुपमा अगाडि बढेको देखिदैन । त्यसैले सरकारबाट नै अनुसन्धानलाई चुस्त रुपले अगाडि बढाउनुपर्छ । अनुसन्धानबाट आएका तथ्यहरुलाई सञ्चारमाध्यमबाट सार्वजनिक गर्नुपर्छ । सञ्चारकर्मीहरुले पनि खोज र अनुसन्धानको कार्यलाई अगाडि बढाउने माहौल सिर्जना गर्नुपर्छ । आशा छ , देशकै कार्यकारी प्रमुखले सार्वजनिक गरेको विषय निष्कर्षमा पुग्नुपर्छ । तर, परराष्ट्र मन्त्रालयबाट आएको विज्ञप्तिले केही अन्यौलता पनि उत्पन्न भएकोले विषयलाई थप स्पष्ट पार्नुपर्ने आवश्यकता रहेको छ ।

गोविन्द देवकोटा , सहासचिव, सामुदायिक रेडियो प्रचारक संघ(अकोराब) – चितवनको माडी धार्मिक,पुरातात्विक महत्वका दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो । यहाँका महत्वपूर्ण स्थलहरुको बारेमा अनुसन्धान नभएको अवस्थामा प्रधानमन्त्रीबाट सार्वजनिक भएको विषयले अध्ययन अनुसन्धानकर्ताहरुको ध्यान तानिएको छ । विषय प्रधानमन्त्रीबाट नै सार्वजनिक भएको र माडीमा राम र अयोध्याका सम्बन्धमा विभिन्न विषयहरु रहेकाले अनुसन्धान निष्कर्षमा पुग्ने प्रर्याप्त आधारहरु रहेका छन् ।

माडीमा रामधाम निर्माणको पहल गरिरहँदा वाल्मीकि आश्रमदेखि ठोरीहुँदै जनकपुरसम्मका धार्मिक एवम् पुरातात्विक स्थलहरुको स्तर उन्नति गर्ने विषयमा गुरुयोजना तयार गरेर जानुपर्छ । माडीको लागि बाधक मानिएका निकुञ्जका केही ऐनहरु छन् छन् , तिनीहरुलाई संशोधन गर्नुपर्छ । यसका साथै चेपाङ् बस्ती, शिक्षा, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने मार्गचित्र तयार गर्नुपर्छ । माडी विकासका मुख्य आधार भनेका नै पर्यटन र कृषि हुन् । रामधाम निर्माणको विषयले यी दुबै क्षेत्रको विकास हुन्छ । यो विषय धाम निर्माण मात्र होइन समग्र माडीको विकासको विषय बन्नुपर्छ । यसको लागि सञ्चारकर्मीहरु अनुसन्धानमा केन्द्रित भएर वास्तविकता बाहिर ल्याउनुपर्छ ।

राधेश्याम खतिवडा , अध्यक्ष, नेपाल पत्रकार महासंघ ,चितवन – प्रधानमन्त्रीकै अग्रसरता माडीका पौराणिक र ऐतिहासिक स्थलहरुको अध्ययन अनुसन्धान कार्य अगाडि बढाउनु सकारात्मक कार्य हो । हाम्रो देशका कयौं धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका विषयको बारेमा प्रर्याप्त खोज अनुसन्धान भएर तिनीहरुको महत्व बाहिर आउन सकेको छैन । माडीमा पनि कयौं धार्मिक र पुरातात्विक महत्वका स्थलहरु ओझेलमा परिरहेको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्तिले अध्ययन अनुसन्धानको विषयलाई अगाडि बढाउने काम भएको छ । यसबाट माडीको मात्र होइन देशकै पर्यटन विकासमा ठूलो योगदान मिल्नेछ भन्ने लागेको छ ।

प्रधानमन्त्रीले उठाउनुभएको भएको विषय आस्था, सद्भाव र विकाससँग सम्बन्धित भएकाले अनुसन्धानबाट आएका विषयहरुलाई सञ्चारकर्मीहरुले बाहिर ल्याउनुपर्छ । पत्रकारहरु परिवर्तनका संबाहक भएकाले अबको पत्रकारिता आर्थिक समृद्धि र विकासतर्फ केन्द्रित हुनुपर्छ । पत्रकारहरुले पनि प्रधानमन्त्रीले उठाएका विषयहरुमा अनुसन्धान गर्ने र तथ्य सार्वजनिक गर्ने माहौल तयार गरिदिनुपर्छ । अबको पत्रकारिता अध्ययन र अनुसन्धानका केन्द्रित हुनुपर्ने भएकोले अनुसन्धानमा पत्रकारहरु सक्रिय हुनुपर्छ ।

प्रकाश ज्ञवाली , संयोजक ,प्रेस संगठन, चितवन – प्रधानमन्त्रीले गहन अध्ययन र अनुसन्धान गरेर नै विषय सार्वजनिक गर्नुभएको हो भन्ने लागेको छ । ऐतिहासिक र पुरातात्विक विषयहरुको अध्ययन अनुसन्धान हुन नसकेको अवस्थामा अध्ययन र अनुुन्धानको काम अगाडि बढ्नु सकारात्मक काम हो । यो प्रसङ्गले माडीका धार्मिक र ऐतिहासिक महत्वका विषयहरु बाहिर आउँछन् र विकासको आधार तयार हुन्छ । राम र अयोध्याका विषयमा सम्बन्ध राख्ने विषयहरु माडीमा प्रर्यात्त रहेकाले पनि प्रधानमन्त्रीको भनाइ सिद्ध हुने धेरै आधारहरु रहेका छन् । यसमा सरकारले नै सक्रियता देखाएर अगाडि बढ्नुपर्छ ।

देशका सांस्कृतिक, आर्थिक विकास आस्था र विश्वाससँग पनि जोडिएका हुन्छन् । प्रधानमन्त्रीले उठाउनुभएको विषय पनि आस्था र विकाससँग जोडिएको विषय हो । त्यसैले सञ्चारकर्मीहरुले पनि अनुसन्धान गरी तथ्यहरु सार्वजनिक गर्न सहयोग गर्नुपर्छ । वाल्मीकि आश्रम, अयोध्यापुरी, सीताराम गुफा, हनुमान पर्वत, बाँदर झुलालगायतका स्थलहरुको बारेमा अनुसन्धान गर्न र सत्य तथ्य विषयहरुलाई अन्तर्राष्ट्रियकरण गरी पर्यटकहरुको गन्तव्यस्थल बनाउने कार्यमा सञ्चारकर्मीहरुले पहल गर्नुपर्छ ।

अनिल ढकाल , अध्यक्ष, प्रेस युनियन चितवन– प्रधानमन्त्रीले विभिन्न अध्ययन अनुसन्धान गरेर सार्वजनिक गर्नुभएको विषय धार्मिक आस्था र विकाससँग जोडिएको विषय हो । यो विषयले माडीको पर्यटन विकासमा ठूलो सहयोग हुन्छ भन्ने मलाई लागेको छ । माडी राजनीतिको केन्द्र बन्दै आएको छ तर विकासको केन्द्र बन्न सकेको छैन । यो विषयले माडी विकासको पनि केन्द्र बन्ने सङ्केत देखिएको छ । त्यसको लागि विषयलाई राजनीतिकरण नगरी माडीवासीको एकताले काम अगाडि बढाउँनुपर्छ । रामधाम निर्माण गर्दा अन्य विकासहरु रोकिने भन्ने होइन्, समग्र विकास अगाडि बढाउने वातावरण तयार गर्नुपर्छ ।

सञ्चारकर्मीहरुले पनि यो विषयलाई प्रचारमा ल्याएर तथ्यहरु सङ्कलन गर्ने वातावरण तयार गर्दै तथ्यहरु सार्वजनिक गर्नुपर्छ । एकता र सद्भावको वातावरण तयार गरी विषयलाई अन्तराष्ट्रियकरण गर्नतर्फ सञ्चारकर्मी र सञ्चारमाध्ययमको ध्यान जानुपर्छ ।

सन्तकुमार चौधरी , संस्थापक अध्यक्ष, आदिवासी जनजाति पत्रकार संघ (फोनिज) चिवतन – प्रधानमन्त्रीले सार्वजनिक गर्नुभएको विषयले माडीका धार्मिक, पुरातात्विक र ऐतिहासिक विषयहरुको अध्ययन अनुसन्धान अगाडि बढेको छ , माडीप्रतिको आकर्षण बढेको छ । माडी जाउँ भन्ने भावना जागृत पनि गराएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो बढ्दै गएको छ । यसबाट पर्यटन विकास हुने आधारहरु तयार भएका छन् ।

सञ्चार माध्यमहरुले जनभावनाको कदर गर्दै विकासको माहौल सिर्जना गर्नुपर्छ । यो विषय पनि विकास र समृद्धिको विषय भएको हुनाले अध्ययन अनुसन्धान कार्यलाई सहयोग गर्नुपर्छ । माडीमा धार्मिक ,पुरातात्विक र ऐतिहासिक महत्वका स्थलहरु ओझेलमा परेका छन् । अध्ययन अनुसन्धान गरी ती विषयहरुलाई बाहिर ल्याउनको लागि सञ्चार माध्यमहरु सक्रिय हुनुपर्छ ।

सूर्य पाठक , अध्यक्ष , सामुदायिक रेडियो माडी – प्रधानमन्त्रीले नै चासो दिएर रामधाम निर्माणको विषय अगाडि आउनु माडीवासीको लागि स्वागत योग्य विषय हो । यसबाट माडीको पर्यटन विकासमा मात्र होइन समग्र विकासको आधार बन्छ भन्ने मलाई लागेको छ । त्यसैले यो विषयमा माडीवासीको एकता र सहयोग आवश्यक छ । यसलाई राजनीतिक प्रतिशोधको विषय बनाउनु हुँदैन । यसले माडी विकासका ढोकाहरु खोल्ने सङ्केत देखाएको छ । अहिले यो अनुसन्धानको विषय भएकोले अनुसन्धान कार्यमा सहयोग गर्नुपर्छ ।

विकास र परिवर्तनमा सञ्चार माध्यमको महत्वपूर्ण भुमिका हुने भएकोले यो विषयलाई निष्कर्षमा पु¥याउन सञ्चार माध्यमहरु सक्रिय हुनुपर्छ । माडीमा खोज र अनुसन्धान नभएका धार्मिक , ऐतिहासिक महत्वका विषयहरु धेरै छन् । ती स्थलहरुको अध्ययन अनुसन्धान गरी वास्तविकता बाहिर ल्याउने काममा पनि सञ्चार माध्यमको आवश्यता रहेको छ । समृद्ध माडी बनाउने विषयमा सञ्चारमाध्यमको ध्यान जानुपर्छ ।

प्रमिता ढकाल, अध्यक्ष क्रियाशील पत्रकार महिला समूह, चितवन – प्रधानमन्त्रीज्युले रामधाम माडीमा बनाउँनुपर्छ भनेर गर्नुभएको पहलले उत्साह जगाएको छ । यसबाट समग्र माडीको विकासमा टेवा पुग्ने सङ्केत मिलेको छ । माडी आफैमा धार्मिक, ऐतिहासिक दृष्ट्रिले महत्वपूर्ण स्थल भएको हुनाले पनि प्रधानमन्त्रीको पहल निष्कर्षमा पुग्ने आधारहरु देखिन्छन् । यसको लागि वृहत अध्ययन अनुसन्धानको खाँचो रहेको छ ।

माडीका राष्ट्रिय निकुञ्जको समस्या, भारतसँगको खुल्ला सिमा, सुकुमबासी लगायत धेरै समस्याहरु रहेका छन् । ती समस्याहरुलाई पनि रामधाम निमार्णसँगै अगाडि बढाउनुपर्छ । सञ्चारमाध्यमहरुले पनि विकास र समृद्धिलाई केन्द्रमा राखेर अनुसन्धान कार्यलाई अगाडि बढाउने वातावरण तयार गर्नुपर्छ ।

अमीर रामदाम, अध्यक्ष, राष्ट्रिय दलित पत्रकार संघ, चितवन – प्रधानमन्त्रीले विस्तृत अध्ययन अनुसन्धान गरेर माडीमा रामधाम बनाउने विषय सार्वजनिक गर्नुभएको हो । माडी विकास गर्ने उद्देश्यसहित प्रधानमन्त्रीले अगाडि सार्नुभएको विषयलाई हामीले सकारात्मक रुपमा लिएका छौं । माडीमा धार्मिक तथा पुरातात्विक महत्वका स्थानहरु पर्यटन विकासका आधार हुन । त्यसको लागि वाल्मीकि आश्रमदेखि ठोरीसम्मका स्थलहरुको विकास गर्ने गुरुयोजना तयार गरेर अगाडि बढुनुपर्छ ।

मन्दिर , धामहरुमा जातीय विभेदका विषयहरु आइरहँने हुँदा प्रधानमन्त्रीको अग्रसरतामा माडीमा बन्न लागेको रामधाममा जातीय विभेद हुँदैन भन्ने लागेको छ । सबै जात जातिको साझा स्थल बन्नुपर्छ । रामधामको निर्माणसँगै जातीय छुवाछुदको विषयलाई निरुत्साहित गर्न सञ्चार माध्यमहरुले खबरदारी गर्दै अगाडि बढ्नुपर्छ ।

प्रस्तुतिः पत्रकार नारायण सापकोटा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>