चितवन विशेष
जो कोरोना नियन्त्रणमा खटिए, उनै संक्रमित भए

चितवन, असोज ४–
रत्ननगर नगरपालिकाका मेयर नारायण वन कोरोना संक्रमणबाट नगरबासीलाई जोगाउन अहोरात्र खटिए । नेपालमा लकडाउन सुरु भएपछि योजना बनाएरै उनी कोरोना नियन्त्रणमा सक्रिय भए । नगरबासीलाई सचेत गराउनेदेखि क्वारेन्टिन हुँदै आइसोलेसन व्यवस्थापनमा उनको सक्रियता उत्तिकै रह्यो ।
सुरुवाती दिनमा ज्याला मजदुरी गरेर जिविका चलाउने विपन्न नगरबासी भौकै बस्न नपरोस् भनेर राहत बाड्न खटिए । राहतलाई श्रमसंग जोडेर उनले विपन्न वर्गलाई आम्दानीको श्रोतको आधार खडा गरिदिए । काम नपाएका विपन्न वर्गलाई राहतसंगै दिनभरीको ज्याला दिएर गुजरा गर्ने सहज बाटो बनाए ।
स्वास्थ्य सचेतनाको बारेमा पनि उनले उत्तिकै महत्व दिएर नगरबासीलाई सचेत गराउने काम गरे । टोल टोलमा पुगेर सामाजिक दुरी कायम गर्न, माक्स लगाउन, हात धुन नगरबासीलाई आग्रह गरे । कोरोना महामारीको चपेटामा परेर भारत सहित तेश्रो मुलुकबाट स्वदेश फर्कने युवाहरुको व्यवस्थापनको लागि क्वारेन्टिन निर्माण गरेर राखे । सिमामा आएका आफ्ना नागरिकलाई घर सम्म ल्याउन सवारी साधनको व्यवस्थापन गरे ।
जसका कारण सजिलै सिमाबाट नगरबासी घर सम्म आउन सके । बाहिरबाट आएका कुनै पनि नागरिक अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने सरकारले नियम बनाएपछि मेयर वनले नगरमा द्रुत गतिमा क्वारेन्टिन निर्माण गरे । नगरभित्रका विद्यालय र सामुदायिक भवनमा १९ वटा क्वारेन्टाइन बनाए र विदेशबाट आएका आफ्ना नागरिकलाई व्यवस्थापन गरे । क्वारेन्टाइनमा बसेकाहरुलाई उनले बेवास्था गरेनन । पटक पटक क्वारेन्टाइनमै पुगेर हौसला प्रदान गरे । क्वारेन्टाइन व्यवस्थापनमा उत्कृष्ट काम गरेकै कारण विदेशबाट आएका अघिकाँस नागरिक सुरक्षित भएर घर जान पाए । जिल्लामा कोरोना संक्रमणको दर बढ्न थालेपछि मेयर नारायण वन आफ्नो नगरमा मात्र सिमित हुन चाहेनन् ।
पूर्वी चितवनबासीलाई कोरोना संक्रमणको जोखिमबाट जोगाउन योजना बनाएर काम सुरु गरे । कोरोना व्यवस्थापनको लागि पूर्वी चितवनको सयुक्त आइसोलेसन बनाउने योजना बनाए । मेयर वनको अगुवाइमा रत्ननगर ५ टरौलीमा चार वटै नगरपालिकाका संक्रमित राख्ने गरी सयुक्त आइसोलेसन सञ्चालनमा रहेको छ । सुरुमा रत्ननगर १४ पिठुवामा रहेको गुन्जमान सिंह अस्पतालमा २१ बेडको आइसोलेसन तयार गरेर मेयर वनले संक्रमितको संख्या बढ्न थालेपछि संयुक्त आइसोलेसन बनाएका हुन । करिब एक महिना अघि रत्ननगर ४ देवौलीमा रहेको शिवशिक्त खाद्य उद्योगमा कार्यरत कामदारहरुलाई कोरोना संक्रमण देखियो ।
कुल ५२ जना संक्रमितको व्यवस्थापनको लागि मेयर वन अहोरोत्र खटिए । उनीहरु सामान्य उपचारले कोरोना मुक्त भइरहेका छन् । पूर्वी चितवनबासीलाई नै कोरोना संक्रमणको जोखिमबाट बचाउन अहोरात्र खटिएका रत्ननगरका मेयर वन आफै संक्रमित भए । असोज १ गते राती चितवन मेडिकल कलेज परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । कहाँबाट कोरोना संक्रमण भयो उनलाई जानकारी छैन । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखापरेपछि उनले भदौं २८ गते रत्ननगर अस्पताल चेकजाँच गराएर स्वाब दिए । अस्पतालमा स्वाव दिएपछि उनी घरमै बसे । घरमै बसेर कोरोना नियन्त्रणको लागि थप काम गर्दै गए ।
बिहीबार रत्ननगर–१४ स्थित चाउचाउ उद्योगका कामदारलाई कोरोना संक्रमण पुष्टि भयो । घरमै बसेर मेयर वनले सो उद्योगका सञ्चालक र प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरेर १८ जना संक्रमितलाई सुरक्षित र व्यवस्थित आइसोलेसनमा राख्ने व्यवस्था मिलाएका छन् । करिब एक हस्ता अघि कोरोना संक्रमणका कारण रत्ननगर २ टाँडीका दुई जनाको मृत्यु भयो । मृत्यु भएका ति व्यक्तिका परिवारलाई सान्त्वना प्रदान गर्न मेयर वन घरमै पुगे । खाद्य उद्योगमा कोरोना संक्रमितको व्यवस्थापन र टाँडी बजारका दुई जनाको मृत्यु भएपछिको वातावरण सहज बनाउन खटिदा आफुलाई संक्रमण भएको हुन सक्ने मेयर वनले अड्कल गरेका छन् ।
अर्को तर्फ बिरामी दिदीको उपचारको लागि अस्पताल जाँदा सरेको पनि हुन सक्ने आशंका पनि उत्तिकै छ । ‘कहाँ र को बाट संक्रमण भयो थाहा छैन’ उनले भने ‘मैदा मिल र टाँडी बजारमा फैलिएको कोरोना नियन्त्रणका क्रममा सरेको हुनुपर्छ । स्वाव दिने बेलामा उनीमा केही लक्षण देखिएको भएपनि अहिले उनको स्वस्थ्य अवस्था सामान्य रहेको छ ।’
























