Breaking News

चितवनमा अनलाइन शिक्षा : कतै सुरु, कतै अलमल

Banner

चितवन, भदौं २८

देशमा कोरोना संक्रमण दर बढेसँगै वैकल्पिक शिक्षाको रुपमा लिइएको अनलाइन शिक्षालाई व्यवस्थित ढंगबाट सञ्चालन गर्नेमा चितवनका शिक्षण संस्थाहरुमा एकरुपता देखिँदैन । अझै शतप्रतिशत विद्यार्थीहरु अनलाइन कक्षामा समावेश हुन सकेका छैनन् । कक्षा ११ मा लिइने नयाँ भर्नामा पनि अघिल्ला वर्षहरुमा जस्तो भर्ना सुरु गर्ने र अन्त्य गर्ने काममा शिक्षण संस्थाहरुको बीचमा एकरुपता देखिँदैन ।

चितवनको अवस्थालाई हेर्दा निजी शिक्षण संस्थाहरुले कक्षा १२ को पठनपाठन धमाधम सुरु गरेका छन् । कक्षा ११ को पनि आक्रामक ढंगबाट विज्ञापन गर्दै विद्यार्थी भर्नालाई विशेष प्राथमिकता दिएका छन् तर कतिपय सामुदायिक र सरकारी विद्यालयहरु भने अहिलेसम्म पनि अलमलमा नै देखिन्छन् । कतिपय शिक्षण संस्थाहरुले चाहेर पनि समयमा अनलाइन कक्षा सञ्चालन गर्न सकेका छैनन् । शिक्षा मन्त्रालयले पनि सही समयमा सही निर्णय गर्न नसक्दा शैक्षिक क्षेत्र झनै अलमलमा परेको विद्यालय सञ्चालकहरु बताउँछन् । परम्परागत ढंगबाट मात्र पठनपाठन गर्ने र सोही अनुसार मूल्यांकन गर्ने परिपाटीलाई भत्काएर वैकल्पिक मूल्यांकन विधिहरु अपनाउनेतर्फ सरोकारवाला निकायहरुको खासै ध्यान जान सकेको छैन ।

कक्षा ११ मा विद्यार्थीको भर्ना र शुल्कबारे सरकारी निकायबाट कुनै निर्देशन नआएकोले पनि आआफ्नै शैलीबाट विद्यार्थीहरुसँग विद्यालयहरुले सम्पर्क गरिरहेका छन् । भरतपुरमा रहेको अरोमा कलेजले अनलाइन कक्षा संचालन गरिहेको छ । कलेजका प्राचार्य शेरबहादुर क्षेत्रीले कक्षा १२ को साउनदेखि र कक्षा ११ को यही भदौ २१ गतेदेखि अनलाइन कक्षा संचालन भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘कोरोना कहरका कारण तत्काल कलेज खुल्ने संभावना नदेखिएपछि अनलाइन कक्षा सुरु गरेका छौं, विद्यार्थीहरु पनि अनलाइन कक्षाबाट खुशी छन् ।’

भरतपुरको गुरुकुल कलेजले असोज १ गतेबाट ११ कक्षाको पठनपाठन सुरु गर्ने तयारी गर्दै छ भने साउनदेखिनै कक्षा १२ को अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । विज्ञान, व्यवस्थापन र मानविकी संकायमा पढाउने यस क्याम्पसले माइक्रोसफ्ट टिमबाट पढाउने तयारी गरेको कलेजका पिन्सिपल टिकाराम चापागाइँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कक्षा ११ मा ६१३ जना विद्यार्थीहरुले फर्म भरेका छन् । विद्यार्थीहरुसँग ५००० रुपैयाँ दर्ता शूल्क लिएर नाम लेखाइ अनलाइन कक्षामा प्रवेश दिएका छौं ।’

त्यसैगरी भरतपुरकै वाल्मीकि कलेजले पनि कक्षा ११ का विद्यार्थीहरुलाई नियमित अनलाइन कक्षा सुरु गरिसकेको छ । व्यवस्थापन र विज्ञान संकायमा पढाउने यस कलेजमा २०० जना विद्यार्थीले कक्षा ११ को अनलाइन कक्षा लिइरहेका छन् । कक्षा १२ को अनलाइन कक्षाको सुरुवात भएको भने एक महिना भइसकेको छ । कलेजका प्रिन्सिपल लक्ष्मीकान्त चालिसेले कक्षा १२ मा ६० प्रतिशत मात्र विद्यार्थीहरु अनलाइन कक्षामा आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘शिक्षा मन्त्रालयको नीति नै अलमल देखिन्छ । विद्यार्थीलाई अध्ययनमा समावेश गरिराख्नुपर्छ भने अनलाइन कक्षालाई प्राथमिकतामा राखेका छौं ।’

त्यस्तै पूर्व चितवनको न्यु क्यापिटल कलेजले कक्षा ११ र १२ को दुवै तहका कक्षाहरु अनलाइनबाट सुरु गरिसकेको छ । कक्षा १२ मा झण्डै ८० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा समावेश भएको कलेजका प्रिन्सिपल भूपेन्द्र धितालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनलाइन कक्षाको विकल्प नभएकोले पनि हामी अनलाइनलाइ एउटा वैकल्पिक शैक्षिक प्रणालीको रुपमा विकास गर्ने प्रयास गरिरहेका छौं ।’ उहाँले कतिपय विद्यार्थी तथा अभिभावकहरु अनलाइन शिक्षाबारे स्पष्ट नहुनाले र कतिपय विद्यार्थीलाई पढ्दै मन नभएकोले पनि अनलाइन कक्षाबाट छुटिरहेको जानकारी दिनुभयो । कलेजमा कक्षा ११ मा विज्ञान संकायमा १०० जना र व्यवस्थापनमा ७० जना विद्यार्थीले नाम लेखाइसकेका छन् ।

भरतपुरकै अर्काे कलेज प्रेरणा कलेजमा कक्षा १२ का अनलाइन कक्षाहरु भने भदौंको सुरुबाट चलिरहेका छन् । कक्षा ११ को विज्ञानको कक्षा चलिरहेको भए पनि व्यवस्थापनको कक्षा भने असोज १ गतेबाट सुरु गर्ने कलेजले जनाएको छ । कलेजका पिन्सिपल मोहन लामाले कक्षा १२ मा ८० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा समावेश भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ एसईई दिएको धेरै समय भइसकेकोले विद्यार्थीलाई पढ्ने बानी पनि बस्ने भएकोले अनलाइन कक्षा उपयोगी हुन्छ । कक्षा ११ को अझै पाढ्यपुस्तक बजारमा नआएको भए पनि शिक्षकहरुले पाढ्यक्रमअनुसार आवश्यक ज्ञान दिनुहुन्छ ।’ उहाँले कक्षा ११ को विज्ञान संकायमा ८० जना विद्यार्थीले नाम लेखाएको जानकारी दिनुभयो । सबै निजी कलेजका सञ्चालकहरु सरकारले निजी शिक्षण संस्थाहरुप्रति गर्ने व्यवहार सकारात्मक नभएको आरोप लगाउँछन् । त्यस्तै अनलाइन कक्षा लिने र दिने परिपाटीलाई पनि व्यवस्थित गर्ने तर्फ खासै ध्यान दिन नसकेको उनीहरुको विचार रहेको छ ।

के गर्दैछन् सामुदायिक र सरकारी विद्यालय ?

निजी शिक्षण संस्थाको तुलनामा अनलाइन कक्षाको सवालमा पनि सामुदायिक र सरकारी विद्यालयहरु केही ढिलो भएका छन् । बजारी क्षेत्रका विद्यालयहरु केही सक्रिय रहे पनि ग्रामीण भेगमा भने खासै सक्रियता बढ्न सकेको छैन । सरकारी लगानीका विद्यालयहरुको कामकारबाहीमा पनि अनलाइन कक्षाबारे एकरुपता देखिएको छैन । भरतपुरको नारायणी नमुना माविले पाँच हजा रुपैयाँ दर्ता शुल्क लिएर आइतबारबाट अनलाइन कक्षा सुरु गरिसकेको छ तर पश्चिम चितवनको भीमनगर माविले भने असोज १ गतेबाट मात्रै कक्षा ११ को अनलाइन कक्षा सुरु गर्ने तयारी गरेको छ । भीमनगरमा कक्षा १२ को अनलाइन कक्षा सुरु भएकै छैन तर नारायणी माविमा भने कक्षा सुरु भएको एक महिना बढी भएको छ । भीमनगर माविका प्रधानाध्यापक कोमलनाथ घिमिरेले सरकारको पनि स्पष्ट नीति नभएकोले विद्यालयहरु अलमलमा परेको बताउनुभयो । शिक्षक महासंघ चितवनको अध्यक्षसमेत रहनु भएको उहाँले भन्नुभयो, ‘अभिभावकको घर भ्रमणमा सात चरणमा पुग्यौं । तर, समुदायमा संक्रमण फैलँदै गएपछि रोक्नु भन्ने आदेश आएपछि रोकेका छौं ।’ उहाँले कक्षा ११ का विद्यार्थीहरु सम्पर्कमा नै रहेको बताउनुभयो । अभिभावक र विद्यार्थीलाई अनलाइन कक्षाको लागि मनोवैज्ञानिकरुपमा कसरी तयारी गर्ने भन्ने बारेमा स्पष्ट नीति नआएको उहाँले बताउनुभयो । अर्काेतिर नारायणी नमुना माविका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले कक्षा १२ मा ६५ प्रतिशत हाराहारीमा विद्यार्थीहरु अनलाइन कक्षामा पढिरहेको बताउनु हुन्छ । उहाँले ग्रामीण भेगका विद्यार्थीहरु भने अनलाइन कक्षामा आउन नसकेको बताउनुभयो ।

त्यसैगरी कक्षा ११, १२ मा दिवा शत्रमा कक्षा चलाइरहेको भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले अहिलेसम्म कक्षा १२ मा अनलाइन कक्षा सुरु गरेको छैन । कक्षा ११ मा विद्यार्थीहरुको नाम टिप्ने काम मात्र भइरहेको छ । क्याम्पस प्रमुख मणिराज महतोले असोजबाट कक्षा ११ र कक्षा १२ को कक्षा सुरु गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ क्याम्पसमा ५० प्रतिशत बढी विद्यार्थीहरु पहाड र ग्रामीण क्षेत्रबाट आउने भएकोले सबै विद्यार्थीको बारेमा सूचना संकलन गर्ने काम भइरकेको छ । यो महिनाभर लकडाउन नै भएकोले पनि असोजबाट कक्षाहरु असोजबाट सुरु हुन्छ ।’ चितवनका सबै सामुदायिक क्याम्पसहरु सबैमा कक्षा ११ र कक्षा १२ मा अनलाइन कक्षाहरु सुरु भएको छैन ।

शिक्षामा किन छैन एकरुपता ?

शिक्षा लिनेदिने प्रक्रियालाई परम्परागत शैलीमा मात्र सञ्चालन भइरहेकोले पनि सरकारले सबै विद्यालयहरुलाई अनलाइन शिक्षाबारे स्पष्ट दिशानिर्देश गर्न सकेको छैन । भर्ना खोल्ने समय, कक्षा सुरु मीति र विद्यार्थी भर्ना प्रक्रियाबारे स्पष्ट दिशानिर्देशन शिक्षा मन्त्रालयबाट आउन नसकेकोले पनि सबै विद्यालयमा एकरुपता हुन नसकेको विज्ञहरु बताउँछन् ।

काठमाडौँ विश्वविद्यालयबाट स्टिम एजुकेशनअन्तर्गत गणित विषयमा पीएचडी गर्दै गर्नुभएको र अन्तर्राष्ट्रिय जर्नलमा शैक्षिक प्रणालीबारे झण्डै एक दर्जन बढी अनुसन्धानमूलक लेख लेखिसक्नुभएको प्राध्यापक बसन्त लामिछानेले परम्परागत शिक्षण पद्धति त्यागेर अनलाइन शिक्षाको बहुउपयोगिता र प्रयोगबारे सरकारले सोच्न नसक्दा यो अवस्था आएको बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘ तीन घण्टा परीक्षा हलमा बसेर जाँच दिने भन्दा सरोकारवाला निकायहरुले मूल्यांकनका अन्य विकल्पहरुबारे सोच्न सकेनन् । पाढ्यपुस्तक लेख्ने र घोक्ने विधिमा मात्र सबै भरपर्दा यस्तो अलमल आएको हो ।’ उहाँले चितवनका विद्यालय र क्याम्पसहरु सरकारको आदेश कुरेर बस्ने तर विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्ड वैकल्पिक शिक्षाका आयामहरु बारे सोच्न नै नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ नयाँ परिस्थितिअनुसार नयाँ विधिमा चल्न नसक्ने शिक्षक, कर्मचारी र विद्यार्थी संगठनहरु पनि अहिले बाधक बनेका छन् । परम्परागत शिक्षण पद्धति अहिले मृतप्राय भएको छ । समाजलाई पूनर्गठन र रुपान्तरणको लागि अहिलेको परम्परागत शिक्षा र मूल्यांकन पद्धतिले काम गर्दैन ।’ यसका लागि नीति निर्मातामा परिवर्तन गर्ने इच्छाशक्ति आवश्यक पर्ने उहाँको विचार छ । अनलाइन कक्षाबारे सबैको एकमत नै भए पनि सबै शिक्षण संस्थाहरुमा अध्ययन अध्यापनमा भने एकरुपता आवश्यक देखिन्छ । नत्र अनलाइन शिक्षाका नाममा विकृति र विसंगति मौलाउने सम्भावना पनि त्यत्तिकै देखिन्छ ।

प्रस्तुति : मधुसूदन दवाडी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>