खैरहनी

खैरहनीमा फलफूल वितरणगरि मनाइयो निजामति दिवस

Banner

चितवन, भदौ २२–

चितवनको खैरहनी नगरपालिकाले विविध कार्यक्रम गरेर सोमबार निजामति कर्मचारी दिवस मनाएको छ । नगरपालिकाले सोमबार कार्यालय आउने पहिलो सेवाग्राहीलाई स्वागत, आइसोलेसनमा रहेका कोरोना संक्रमित र विभिन्न क्वारेन्टिनमा रहेकाहरुलाई फलफूल वितरणसहित उत्कृष्ट कर्मचारी घोषणा गरेर दिवस मनाएको हो ।

पाहिलो सेवाग्राही खैरहनी–१ का हरेराम चौधरीलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले फूलको गुच्छा तथा फलफूल दिएर स्वागत गरे । त्यस्तै पूर्वीचितवनका चार वटा नगरपालिकाले स्थापना गरेको आइसोलेसनमा रहेका कोरोना भाइरस संक्रमितहरु, राधास्वामी ब्यास नेपाल, पर्सा खानेपानी र खैरहनी माध्यमिक विद्यालयको क्वारेन्टिनमा रहेकाहरुलाइ फलफूल वितरण गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत शर्माको नेतृत्वमा वडा अध्यक्षसहित कर्मचारीहरुको टोलीले फलफूल वितरण गरेका थिए ।

यस्तै दिवसको अवसरमा नगरपालिकामा कार्यरत तीन जना कर्मचारीलाई पुरस्कृत गर्ने घोषणा गरियो । कोरोना भाइरसको संक्रमण जारी रहेकाले स्वास्थ्य मापदण्डलाई टेकेर उत्कृष्ट घोषणा गरिएकाहरुलाई प्रशंसा पत्र, दोसल्ला ओढाउने काम भने भएन । यसवर्ष उत्कृष्ट कर्मचारीका रुपमा स्वास्थ्य शाखा उपप्रमुख रुद्र शर्मा, खैरहनी–१ का वडा सचिव निर्मला कुमारी अधिकारी र कार्यालय सहयोगी भगवती अर्याल घोषित भएका छन् । परिस्थिति सामान्य भएपछि औपचारिक कार्यक्रम गरेर उनीहरुलाई पुरस्कृत गरिने नगरपालिकाले जनाको छ ।

खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरी, उपमेयर सुनिता थपलियाको उपस्थितिमा उत्कृष्ट कर्मचारीको नाम घोषणा गरिएको थियो । सो अवसरमा मेयर चौधरीले कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यले मात्र नगर समृद्ध बन्ने बताउनुभयो । जनप्रतिनिधिले नीति नियम बनाउने र त्यसको कार्यान्वयन कर्मचारीले गर्नु पर्ने औल्याउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा स्थानीय शिक्षा अधिकारी राजु बानियाँ, स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>