चितवन विशेष
भरतपुर अस्पतालका मेसु २० दिनपछि भए कोरोनामुक्त

चितवन, भदौं १९–
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारी २० दिनपछि कोरोनामुक्त भएका छन् ।
आज (शुक्रबार) भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा डा.तिवारीको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोनामुक्त भएपछि डा.तिवारीलाई अस्पतालमा निमित्त मेसुको जिम्मेवारी पाएका डा.जगन्नाथ तिवारी, कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेल, अस्पतालका सूचना अधिकारी लिलाधर पौडेललगायत अन्य विभागिय प्रमुखहरुले फूलको गुच्छा दिएर बधाई ज्ञापन गरेका थिए ।
कोरोनामुक्त हुन पाएको डा.तिवारीले खुशी साटेका थिए । उनले सबैको सहयोगका कारण नै कोरोनालाई परास्त गर्न सफल भएको बताए । बिरामीको सेवामा खटिएका डा.तिवारीलाई संक्रमण भएको थियो ।
उनी अस्पतालकै क्याबिनमा आइसोलेसनमा बसेका थिए । उनले सुरुमा आफूलाई केही लक्षण देखिए पनि पछि विस्तारै सबै ठिक भएको बताए । उनले सामान्य खोकीको औषधि सेवन गर्नु बाहेक अन्य कुनै औषधि प्रयोग नगरेको बताए ।
भरतपुर अस्पतालका हालसम्म ३१ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ जना कोरोनामुक्त भएका छन् ।




























