Breaking News

नारायणीमा पानीजहाज चढ्ने सपना अधुरै, कोरोनाको त्रास घट्ने बित्तिकै उद्घाटन गरिने

Banner

चितवन, भदौं १६-

चितवनमा कोरोनाको संक्रमण बढ्दै गएपछि विभिन्न उद्योग तथा व्यवसाय ठप्प भएका छन् । देशभर बहुप्रतिष्ठित योजनाको रुपमा हेरिएको नारायणी नदीमा सानो पानी जहाज(क्रुज) सञ्चालनको कार्य पनि अबरुद्ध बनेको छ । नेपालमा समुन्द्र नभए पनि नारायणी नदीमा पानीजहाज चढेर मनोरञ्जन लिन चाहने सर्वसाधारणको सपना क्रुज नचल्दा अधुरै बनेको छ ।

नारायणी नदीमा वैशाख १ गते नयाँ वर्षबाट क्रुजसीप (सानो पानीजहाज)सञ्चालनमा ल्याउने भनिएको थियो । उद्घाटनको लागि प्रधानमन्त्री लगायत शीर्ष नेताहरुको समय पनि मिलाइएको थियो तर कोरोनाको त्रासले भएको लकडाउनले उद्घाटन कार्य रोकिन गयो । क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले गत फागुन ३० गते होली मनाउन भारत गएका केही प्राविधिक भारत र नेपालमा भएको लकडाउनले फर्कन नपाएको नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ १० दिन जतिको केही प्राविधिक काम बाँकी छ । कोरोना महामारी सामान्य अवस्थामा आएर मानिसहरु भेला हुने वातावरण बन्ने बित्तिकै हामी क्रुजको उद्घाटन गर्ने छौं ।’ कोरोनाको विश्वव्यापी महामारीले गर्दा हामीले उद्घाटनको तयारी गरिरहँदा पनि उद्घाटन गर्न सकेनौं जसले गर्दा देशभित्र क्रुज चढ्न चाहेहरुको सपना अधुरै रहेको प्रबन्धक कँडेलले बताउनुभयो ।

भरतपुर महानगरपालिका–१६ मा सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै जहाज निर्माण सुरूआत भएको थियो । सुरुमा पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले काममा केही ढिलाइ भएको थियो । पछि मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै वैशाख १ गते नयाँ वर्षबाट सानो जहाज सञ्चालनमा ल्याइने तयारी गरिएको थियो ।

कम्पनीले गत वर्षबाटै अनलाइन बुकिङ आह्वान गर्ने तयारी पनि गरेको थियो । क्रुजसीपमा बिहानी खाना (ब्रेकफाष्ट क्रुज), दिवा खाना (लन्च क्रुज) र रात्रिकालीन खाना ( डिनर क्रुज)का लागि टिकटको व्यवस्था गरिने बताइएको थियो । कम्पनीका अनुसार जहाज भित्र नै गायकको प्रत्यक्ष प्रस्तुतिमा पर्यटक रमाउन सक्नेछन् भने भित्रनै बारहरू रहनेछन् । भूइँतलामा ९० वटा कुर्ची , बीचमा ११० र छतमा २० जना बस्न मिल्ने गरी पानी जहाज तयार गरिएको छ । दोस्रोतलाको बाहिर बसेर समेत यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

क्रुजको उद्घाटन गरिएपछि ब्रेकफास्टमा दुई घण्टाको यात्रा र लञ्च र डिनरमा तीन÷तीन घण्टाको यात्रा गराइनेछ । यात्राका क्रममा काभ्रेघाटबाट सुरु यात्रा देवघाट हुँदै फर्किएर गोलाघाटसम्म बाह्य दृश्य हेरेर यात्रु रमाउन सक्नेछन् । नेपालमा व्यावसायिकरूपमा सञ्चालन गर्न लागिएको यस प्रकारको क्रुज पहिलो रहेको बताइएको छ ।

ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा जहाज निर्माण गरेर राखिएको छ । कम्पनीका अनुसार क्रुजसीपको सञ्चालनका लागि आवश्यक तीन जना क्रिउ मेम्बर र प्राविधिक हाललाई विदेशी रहने छन् । दीर्घकालीनरूपमा नेपाली जनशक्ति नै उत्पादन गर्नका लागि आवश्यक तालिम केन्द्र पनि सञ्चालन गर्ने कम्पनीको योजना छ । क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरेको हो । क्रुजमा दुई इञ्जिन रहेका छन् । क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ । क्रुज निर्माण विसं २०७५ चैतबाट थालिएको हो । क्रुज निर्माणका लागि १५ करोड हाराहारी खर्च भइसकेको छ । कोरोना महामारी र लकडाउन बढ्दै गएमा कम्पनीको लागत अझ बढ्न जाने सम्भावना छ ।

फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>