क्रिकेट
सीपीएलः सन्दीपको टिम जमैका तलवाज ५ विकेटले विजयी

काठमाडौं, भदौं ३–
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम जमैका तलवाजले क्यारेबियन प्रीमियर लीग (सीपीएल) टि–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । सेन्ट लुसियाले दिएको १५९ रनको लक्ष्य पछ्याएको सन्दीपको जमैकाले १८.५ ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनाउँदै जित हासिल गर्यो ।
जमैकाको जितमा आसिफ अलिले नटआउट ४७ रन बनाए भने कार्लोस ब्राथवेट १८ रनमा नटआउट भए । जमैकाका लागि ग्लेन फिलिप्सले ४४ रनको पारी खेले । जमैकाको सुरुवात भने राम्रो रहेन । ४.१ ओभरमा २ विकेट गुमाउँदै मात्र १३ रन जोडेको थियो । जमैकालाई जितको आधार तय गर्न कप्तान पवेल र फिलिप्सको साझेदारी महत्वपूर्ण रह्यो । यी दुईले ६३ रनको साझेदारी गरे । कप्तान पवेल २६ रन बनाएर आउट भए । यस्तै आन्द्रे रसेलले १६ रनको योगदान दिए । सेन्ट लुसियाका लागि विलियम्सले सर्वाधिक २ विकेट लिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको सेन्ट लुसियाले ७ विकेट गुमाएरु १५८ रन जोडेको थियो । उसका लागि रोस्टन चेजले ५२ रनको अर्धशतकिय पारी खेले । यस्तै नजिबुल्लाह जर्दानले २५ रन जोडे ।
जमैका लागि मुजिब उर रहमान र परमौलले समान २–२ विकेट लिए । यस्तै नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट स्पेल गर्दै एक विकेट लिए । सन्दीपले ४ ओभरमा १२ बल डट फाल्दै महत्वपूर्ण एक विकेट लिए । उनले आक्रमक पारी खेलिरहेका नजिबुल्लाह जर्दानलाई क्याच आउट पारे । सन्दीपले ४ ओभरमा २३ रन मात्रै खर्चिए ।
प्रतियोगितामा पहिलो जित हासिल गरेसंगै जमैका शीर्ष स्थानमा उक्लिएको छ ।

























