Breaking News

चितवनका साहित्यकारका लागि लकडाउन बन्यो बरदान

Banner

चितवन, साउन ३१-

साउन ७ गते सकिएको देशव्यापी लकडाउनपछि केही जनजीवन सामान्य भए पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय प्रशासनले चितवनसहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा (कर्फु) लगाएको छ । चितवनमा पनि शुक्रबार साँझबाट कर्फु लागेको छ । प्रायः सबै पेसा र व्यवसायका मानिसहरुको दैनिकी कहिले लकडाउन र कहिले कर्फुले अस्तव्यस्त नै भए पनि सधै एकान्त मनपराउने साहित्यकारहरुको लागि भने यो समय सबैभन्दा उत्तम बन्दै गएको छ । अन्य काम र व्यवसाय नभएको समयमा सिर्जनात्मक काममा जुट्नको लागि लकडाउनले उनीहरुलाई थप उर्जा थपेको छ ।

कोही प्राध्यापन त कोही विभिन्न साहित्यिक कार्यक्रममा व्यस्त हुने साहित्यकारले क्याम्पस र विद्यालय बन्द हुँदा सिर्जनाको लागि निकै राम्रो समय पाएका छन् । कहिले देश त कहिले विदेशतिर विभिन्न कार्यक्रममा डुलिरहने साहित्यकार एलबी क्षेत्रीको दैनिकी अहिले भरतपुरको कैलासनगर स्थित निवासमा नै सीमित भएको छ । उहाँ लकडाउन र कर्फुमा प्राय गरेर पढ्नमा र लेख्नमा नै व्यस्त हुनुहुन्छ । मदन पुरस्कारका लागि नोमिनेसनमा परेको भुवन ढुंगानको उपन्यास‘परितेक्त’ पढ्नमा व्यस्त हुनुहुन्छ । उहाँले नारायणी अनलाइनलाई भन्नुभयो, ‘मेरो लागि अब दुई वर्षसम्मको लागि प्याक भयो । २० वटा संस्मरण लेख्दै छु भने अंग्रेजी कथा र कविता सङ्ग्रहको पनि तयारी गर्दै छु । ’

चितवनका साहित्यकारहरुलाई लकडाउनले घरको दराजमा थन्किएका कतिपय पुस्तक पढ्ने र विश्प्रसिद्ध सिनेमाहरु हेर्ने अवसर पनि निकै जुरेको छ । समाज, संस्कृति, दर्शन र साहित्यलाई गहिरोसँग बुझ्नको लागि अध्ययन भन्दा ठूलो अरु केही छैन । अध्ययनशील व्यक्तित्वहरुको लागि बाहिरी काम र पेसा गर्नु नपर्ने यो समय बरदान नै बनेको छ । प्राय सप्तगण्डकी बहुमुखी क्याम्पसमा प्राध्यापनमा व्यस्त हुने भूपेन्द्र खड्का ‘भूपिन’ को लागि लकडाउनपछि क्याम्पस बन्द हुँदा पूरै समय पढ्न र लेख्ने काममा खर्च हुने गरेको छ । उहाँले नारायणी अनलाइनलाई भन्नुभयो, ‘ हाम्रो लागि लकडाउन र कर्फु एकदमै स्वर्गीय समय हो । सधै भीडमा पनि एकान्त खोज्ने म जस्तालाई यो समय सिर्जनात्मक काममा बितिरहेको छ ।’ सामान्यतया उहाँको दैनिकी पढ्ने र लेख्ने कार्यमा नै व्यस्त हुने गरेको छ । उहाँले जनकलाल शर्माको ‘हाम्रो समाज’ भन्ने पुस्तक पढ्न सुरु गर्नु भएको छ भने अर्का साहित्यकार रामहरि श्रेष्ठको अष्ट्रेलिया बसाइको डायरी पनि पढ्दै हुनुहुन्छ । दुई तीन वर्षदेखि पढ्न नपाएका पुस्तकहरु पढ्ने सौभाग्य लकडाउनले जुराइदिएकोमा उहाँ निकै खुसी हुनुहुन्छ । लेखन र अध्ययनमात्र नभएर चलचित्र निर्माणसम्बन्धी केही ज्ञान पनि उहाँले बटुल्ने सौभाग्य पनि पाउनु भएको छ । उहाँले भन्नुभयो, ‘ चलचित्र निर्माण सम्बन्धी जानकारी लिनको लागि ‘बाराका’ नामको वृतचित्र हेरे । इन्डोनेसियाको सत्ता परिवर्तनमा आधारित रहेको वृत्तचित्र ‘एक्ट अफ किलिङ’ पनि उहाँको रोजाइमा प¥यो । फुटकर कविताहरु पनि कवि भूपिनले यो अवसरमा धेरै लेख्दै हुनुहुन्छ । लकडाउनले सुनसान र चुपचाप बनेका भरतपुरको सडक तथा सेरोफेरोले भूपिनको मन र मस्तिस्कलाई थप बढी सिर्जनात्मक बनाइदियो ।

विभिन्न क्याम्पसमा प्राध्यापन र कार्यक्रममा व्यस्त हुने चितवनको अर्की साहित्यकार सरिता तिवारीको दैनिकी आजभोलि भरतपुरको कृष्णपुरस्थित निवासमा नै व्यस्त हुने गरेको छ । उहाँ यो लकडाउनको समय आफ्नो नयाँ उपन्यासको कामलाई बिट मार्ने तरखरमा हुनुहुन्छ । कान्तिपुर दैनिकमा निरन्तर स्तम्भ लेख्ने उहाँको धेरै समय लेख्न र पढ्नमा नै बित्ने गरेको छ । उहाँले नारायणी अनलाइनलाई भन्नुभयो, ‘महिलाको स्वतन्त्रता र मुक्तिसँग सम्बन्धित दर्शनहरुबारे म अध्ययनमा व्यस्त छु । मलाई रुकुममा दलितहरुमाथि भएको हिंसाको विषयले निकै सोच्न बाध्य बनायो । समाजमा हुने यस्ता संरचनात्मक हिंसाको बारेमा भारतका दार्शनिक अम्बेडकरका पुस्तकहरु पढ्दै छु ।’ उहाँको लागि यो लकडाउनको समयमा वर्षाेदेखि पढ्न चाहेका तर पढ्ने फुर्सद नपाएका पुस्तकहरु पढ्ने निकै राम्रो अवसर बनेको छ । उहाँले चाहेर पनि पढ्न नपाएको डोरबहादुर विष्टको पुस्तक‘भाग्यवाद र विकास’ पुस्तक पढ्नु भएको छ । नेपालको सन्दर्भमा समाजशास्त्रिय चिन्तनका बारेमा लेखिएको पुस्तकहरु पनि उहाँले धेरै नै अध्ययन गर्नुभयो । देश तथा विदेशमा घटेका पछिल्ला राजनीतिक घटनाक्रमहरु र सामाजिक विषयवस्तुबारे धेरै जान्ने र बुझ्ने अवसर लकडाउनले जुराएकोमा वहाँ निकै खुसी हुनुहुन्छ ।

विभिन्न विद्यालय र क्याम्पसमा आवद्ध अर्का साहित्यकार सुरेन्द्र अस्तफलले पनि लकडाउन आफ्नो लागि बरदान नै साबित भएको नारायणी अनलाइनलाई बताउनु भयो । उहाँले भन्नुभयो,‘मदन पुरस्कारको लागि नोमिनेसनमा परेका सबै पुस्तकहरु पढ्न थालेको छु । अहिले ‘कान्छा महारानी’ पढ्दै छु ।’ उहाँलाई आफ्नो कविता सङ्ग्रह ‘तेल भिसा’ प्रकाशनको सबै काम सक्ने अवसर लकडाउनले नै जुटायो । पढ्ने मात्र नभएर उहाँ देश तथा विदेशका साहित्यकारहरुसँग अनलाइनमा जोडिएर समाज र साहित्यबारे विचार विमर्श पनि गरिरहनु भएको छ । उहाँको लागि कोरोना कहरका बीच सुरु भएको लकडाउन अन्यन्त उपयोगी र उर्जाशील समय बन्यो ।

त्यसैगरी चितवनका अन्य साहित्यकारहरु बालकृष्ण थपलिया, रमेश प्रभात, ईन्द्र रेग्मी, सुमन घिमिरे पनि आफूलाई अध्ययन र लेखनमा नै व्यस्त राख्दै लकडाउनको समयलाई बरदान बनाइरहनु भएको छ । अवश्य पनि कोरोना कहरकै बीचमा चितवनका साहित्यकारहरुका  थप नयाँ पुस्तक पाठक सामु आउँदै छन् । जुन आफैँमा सकारात्मक विषय हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>