Breaking News

भरतपुरमा पटक-पटक विद्युतको लाइन किन काटिन्छ ? यस्तो छ कारण

Banner

चितवन, साउन २१-

भरतपुर महानगरपालिका–११ बसेनीकी कल्पना दाहाल अचेल थाहा नै नदिइ बिजुली आउने र जाने भएर दिक्क हुनुहुन्छ । कहिले राइस कुकरमा जोडेको भात काँचै हुन्छ भने कहिले बालबालिकाको अनलाइन क्लास पनि चौपट हुने उहाँले गुनासो गर्नुभयो । लाइन अचानक जाने र आउने हुँदा निकै समस्या हुन्छ । कहिले साँझ, कहिले बिहान र त कहिले दिउँसो अचानक १०/१५ मिनेटदेखि दुई घण्टासम्म बत्ती काटिने गरेको छ । उहाँ त एक प्रतिनिधि पात्र मात्र हो । उहाँ जस्तो चितवनका हजारौं ग्राहक अहिले बत्ती आउने र जाने समस्याले दिक्क भएका छन् ।

केही हप्ता अघिदेखि चितवनमा बिजुली अनियमित भइरहेको छ । लोडसेडिङकै झल्को दिनेगरि लाइन झ्याझ्याप जाने–आउने गरिरहेको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले विद्युत् प्रणालीमा नै देखिने समस्याले यस्तो भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ दुई तीनदिन अघिदेखि गर्मी बढेर बिजुलीको लोड बढेकाले यस्तो भएको हो ।’ उहाँले बुधबार बिहान बाइपास सडकमा बिजुलीको पोल सार्नका लागि सूचना नै निकालेर बिजुली लाइन काटिएको बताउनुभयो । तर, सधै बिधुत् सेवामा हुने गडबडीमा भने सेवाग्राहीलाई कुनै पूर्वजानकारी नै हुँदैन । यसको दीर्घकालिन समाधानको लागि भरतपुरको सम्पूर्ण बिजुलीका तारहरुलाई भूमिगत नै गर्नुपर्ने प्रमुख महतोको बिचार छ । हावाहुरीका कारण रुख ढलेर प्रसारणलाइनमा क्षति भएर पनि बिजुली प्रसारणमा असर गर्ने उहाँले बताउनुभयो ।

विद्युत् प्राधिकरणले प्रणालीमा समस्या देखाए पनि यसको सबैभन्दा धेरै मारमा सेवाग्राही परेका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पसका कम्प्युटर विज्ञानका प्राध्यापक सुरेश शर्माले बिजुली आउने जाने हुँदा विद्युतीय सामग्रीहरु बिग्रिने सम्भावना धेरै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ ल्यापटप र मोबाइलमा खासै असर नगरे पनि रेफ्रिजेरेटर, फ्यान, टेलिभिजन सेट मा धेरै नै असर गरिरहेको हुन्छ ।’ यसको क्षतिको सामान्यरुपमा सजिलै मूल्यांकन गर्न नसकिने उहाँको विचार छ । कतपय सर्वसाधारण नागरिकले कुलमान घिसिङको कार्यकाल सकिन लागेकोले विधुत् सेवा अनियमित भइरहेको आशंका गर्छन् । तर, विद्युत् प्राधिकरणका अधिकारीहरु भने अहिलेको समस्या कुनै व्यक्तिसँग सम्बन्धित नभएको बताउँछन् ।

देश कोरोनाको चपेटामा पर्नुअघि नै देशभरको विद्युत् माग गत वर्ष एक हजार १५० मेगावाट थियो । आगामी वर्ष प्राधिकरणले मुस्किलले थप २०० मेगावाट माग वृद्धि हुने जनाउँदै आएको छ । यसअनुसार आगामी वर्ष कुल विद्युत् माग एक हजार ३५० मेगावाटभन्दा बढी हुनेछैन । तर, प्रणालीमा बिजुली उपलब्ध भएअनुसार आन्तरिक र बाह्य बजार नभएका कारण एक हजार १८३ मेगावाट खेर जाने तथ्यांकले देखाएको छ । यसरी एकातिर विद्युत् सेवा धेरैभन्दा धेरै उपयोग गर्न प्राधिकरणले सेवाग्राहीले अनुरोध गरेको छ भने अर्काे तिर लोड बढ्यो भनेर वितरणमा गडबडी आइरहेको छ । यस्ता समस्याको समाधानमा प्राधिकरणको चासो जान जरुरी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>