समाचार

भारतसँगको सीमा जोडिएको दार्चुलामा महिला, बालबालिका हराउने क्रममा वृद्धि

Banner

नरेन्द्रसिंह कार्की

दार्चुला, साउन १८-

दार्चुलामा गएको चार वर्षको अवधिमा २०४ जना महिला तथा बालबालिका हराएका छन् । भारतसँगको सीमा जोडिएको दार्चुलामा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । बितेको चार वर्षमा हराएकामध्ये १५० जना महिला तथा बालबालिका घर फर्किसकेका छन् भने अझै ५२ जना फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाको महिला तथा बालबालिका सेलले जनाएको छ ।

जिल्लाबाट हराउनेमा १२६ जना महिला रहेका छन् भने ३५ जना बालबालिका रहेको महिला तथा बालबालिका सेवा केन्द्र दार्चुलाले जनाएको छ । महिला बालबालिका सेवा केन्द्र दार्चुलाका अनुसार आर्थिक वर्ष २०७३-७४ मा २० महिला, पाँच जना बालक तथा छ जना बालिका हराएका छन् । यसरी हराएकामध्ये ३२ जना महिला तथा बालबालिका मात्रै फेला परेका छन् । दुई जना अझै भेटिएका छैनन् ।

यस्तै आर्थिक वर्ष २०७४-७५ मा ३३ जना महिला तथा बालबालिका हराएकामा २९ जना मात्रै फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो । चार जना महिला तथा बालबालिका अझै फेला परेका छैनन् । आव २०७५-७६ मा जिल्लाबाट ३५ जना महिला हराएका छन् भने १० जना बालक तथा १९ जना बालिका हराएकामा अझै १३ जना महिला तथा दुई बालक चार बालिका फेला पर्ने बाँकी रहेको जनाइएको छ ।

यस्तै आव २०७६-७७ मा ३९ महिला, १४ जना बालक तथा नौ जना बालिका हराएका थिए । जसअनुसार ४४ जना मात्रै फेला परेकोे प्रहरीले जनाएको छ । अझै २७ जना फेला पर्ने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यस्तै चालू आवको साउन महिनामा मात्रै दुई जना महिला हराएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका सेवा केन्द्र दार्चुलाको तथ्याङ्कले देखाएको छ । हराएका महिला तथा बालबालिकाका अभिभावकले दिएको सूचनाका आधारमा खोजी गर्न देशभरका प्रहरी युनिटमा हुलियासहित जानकारी गराइने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

हराएको भनी उजुरी परेकामध्ये केही महिला तथा बालबालिका भने घर फर्किसकेका छन् । अभिभावकले दिएको हुलियाका आधारमा प्रहरीले खोजी गर्दा र आफैँ घर फर्केकासमेत प्रहरीले जानकारी दिएको छ । हराएका अधिकांश महिला वैवाहिक सम्बन्ध स्थापित गर्न आफूखुशी हिँड्ने गरेको प्रहरीको अनुमान छ । परिवारलाई अत्तोपत्तो नदिइ घर, विद्यालय, पसल, घाँस दाउराबाटै हराउँदा परिवारलाई मानसिक तथा शारीरिक तनाव हुने गरेको प्रहरीले जनाएको छ । गरिबी, चेतना अभाव, मादक पदार्थ सेवन, पारिवारिक बेमेललगायतका कारण महिला तथा बालबालिका घर छाड्न बाध्य हुने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलामा भारतसँगको खुला सीमाका कारण पनि भारतमा गएर उतै बेपत्ता हुने अवस्था पनि विद्यमान छ । भारतमा गएर कैयौँ महिला तथा बालबालिका उतै मजदूरी गर्ने, बिहेबारी गर्ने र शोषणमा पर्ने गरेको अधिकारकर्मी गौरी बडाल बताउनुहुन्छ । “खुला सीमानाका भएका कारण पनि कहाँ गए भन्ने यकिन हुँदैन”, उहाँले भन्नुभयो, कोही सम्पर्कमा आए पनि प्रहरीलाई घर फर्किएको जानकारी गराउँदैनन् ।” दार्चुलामा भारतसँग लेकमको लाली, मालिकार्जुनको जोलजीवी, महाकाली नगरपालिकाको दत्तु सदरमुकाम खलङ्गा र व्यास गाउँपालिकाको तिगरम र सीतापुलमा वैधानिक नाका छन् भने ट्युब र तुइनमार्फत वारपार गरेर जाने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>