अन्तर्राष्ट्रिय

स्मार्टफोन बिक्रीमा हुवावेले सामसुङलाई उछिन्यो

Banner

बेइजिङ साउन, १५-

चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार हुवावेले सामसुङलाई पछि पार्दै पहिलो पटक नयाँ रेकर्ड बनाएको हो ।

क्यानालिसका अनुसार अमेरिकी प्रतिबन्धको सामना गरिरहेको हुवावेले पाँच करोड ५८ लाख थान स्मार्टफोन अन्यत्र पठाएको छ । जबकी सामसुङले यही अवधिमा पाँच करोड ३७ लाख थान स्मार्टफोन निर्यात गरेको छ ।

अमेरिकी प्रतिबन्धका कारण हुवावेका मोबाइल सेटहरुको विदेशमा बिक्री घटेको छ, तर स्वदेशमा हुवावेका सेटहरुको माग तीव्र छ । हुवावेका सेटहरुमध्ये ७० प्रतिशतभन्दा बढी चीनमै बिक्री भइरहेका छन्, क्यानालिसले जनाएको छ ।

क्यानालिसका अनुसार हुवावेका स्मार्टफोनको निर्यात दोस्रो त्रैमासिक अवधिमा झण्डै एक तिहाइले घटेको छ । क्यानालिसका विश्लेषक मो जियाले चिनियाँ बजारले मात्र हुवावेलाई विश्वको पहिलो श्रेणीको स्मार्टफोन निर्माता कम्पनीका रुपमा टिकाइराख्न नसक्ने चेतावनी दिनु भएको छ।

दूरसञ्चार नेटवर्किङ उपकरण उत्पादनमा बर्चश्व कायम गर्न थालेको हुवावेलाई लिएर संयुक्तराज्य अमेरिका र चीनबीच विवाद पनि बढेको छ । अमेरिकाले हुवावेका कारण विश्वमै साइबर सुरक्षामा चुनौती खडा हुने चेतावनी दिँदै आएको छ ।

अमेरिकाले हालैमात्र हुवावेलाई अमेरिकी बजारमा प्रतिबन्ध लगाएको छ भने यस कम्पनीलाई एक्ल्याउन विश्वव्यापी अभियान नै सञ्चालन गरिरहेको छ ।
रासस\एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>