अन्तर्राष्ट्रिय
लद्दाखको गलवान उपत्यकामा झडपपछि भारतले दाबी गर्ने भूमिमा चीनले बनायो सैन्य क्याम्प !

काठमाडौं, असार १२-
केही दिनअघि पूर्वी लद्दाखको गलवान उपत्यकामा भारत र चीन को झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो।
सोही स्थानमा आफ्नो भनेर दाबी गर्ने भूमिमा चीनले बंकरलगायत संरचना बनाएको स्याटलाइट तस्बिरमा देखिएको छ ।
झडपपछि भएको वार्तामा दुवै पक्ष केही पछि हट्ने सहमति गरिएको बताइएको थियो।
तर, अहिले सो स्थाना चीनले बंकर, टेन्ट र सैन्य सामग्री भण्डार गृह तयार गरेको बताइएको छ ।
दुवै पक्ष वार्तामै रहेका बेला २२ जुनको भनिएको ती तस्बिर सार्वजनिक भएका हुन् । अन्तरीक्ष प्रविधिसम्बन्धी कम्पनी म्याक्सारले खिचेको ती तस्बिरको विश्लेषण गर्दै रोयटर्सले अघिल्लो महिनासम्म ती संरचना त्यहाँ नभएको जनाएको छ ।
यसबारे भारत र चीन दुवैले कुनै टिप्पणी गरेका छैनन् । यद्यपि सीमा क्षेत्रमा चीनले सैन्य संख्या वृद्धि गरेको आरोप भारतले लगाएको छ।
पूर्व भारतीय कुटनीतिज्ञ पी स्तोब्दान भने भारतले कुनै वक्तव्य जारी नगरेकाले यसबारे यसै भन्न नसकिने बताउँछन्। तर, चीनले सो क्षेत्रमा सैन्य संरचना बनाएको देखिएकाले त्यो चिन्ताजनक भएको उनको भनाइ छ।



























