Breaking News

‘कोरोना भाइरसबाट बच्न योग गरौं’

Banner

डा.सुनिल सापकोटा

योग तथा प्राकृतिक चिकित्सक

शरीरलाई स्वस्थ तथा मनलाई शान्त बनाइ राख्ने सर्वोत्तम उपाय भनेकै योग नै हो । नियमित योगको अभ्यासले शारीरिक, मानसिक तथा आध्यात्मिक विकास हुन्छ । दैनिक योग अभ्यास गर्नाले शरीरमा सकरात्मक परिवर्तनहरु देखिन थाल्छन् । शरीर स्वस्थ र फूर्ति हुन्छ । पाचनक्रिया राम्रो हुन्छ । शरीरका हरेक अङ्गहरुमा रक्तसञ्चार वृद्धि हुन्छ । मन शान्त हुन्छ, राम्रो निन्द्रा लाग्छ, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।

अहिलेको समयमा योग भन्नाले योगासनलाई मात्र बुझ्ने गरिएको अथवा कतिपयले त शारीरिक व्यायामलाई नै योग भन्ने गरेको पाइन्छ । यो दुवै बुझाईहरु गलत हुन् । योगका प्राचिन ग्रन्थहरुका अनुसार योगका आठ अभ्यासहरु रहेका छन् । जसलाई अष्टाङ्ग योग भनिन्छ । यस अन्तरगत यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, ध्यान, धारणा र समाधी पर्छन् । यम भन्नाले आफू बसेको समाजमा भएका नियम कानूनहरुको पालना गर्नु हो । नियम भन्नाले व्यक्तिगत अनुशासन पालना गर्नु हो । आसन भन्नाले योगासनलाई जनाउँछ । प्रत्याहार भनेको मनलाई पाँच इन्द्रियहरुको पछाडी लाग्न नदिनु हो । धारणा भनेको मनलाई कुनै एक ठाउँमा टिकाउन प्रयास गर्नु हो भने ध्यान भनेको मनलाई लामो समयसम्म एकै ठाउँमा टिकाएर राख्नु हो । अन्त्यमा समाधी भनेको शरीर, मन र आत्माको एकाकार हुनु हो र योगको अन्तिम अवस्था हो । यसलाई प्राप्ति गर्नका लागि लामो समय लाग्न सक्छ । तर यो अवस्थासम्म नपुगे पनि अष्टाङ्ग योगका अरु अभ्यासहरुले शरीरलाई स्वस्थ र मनलाई शान्त बनाइ राख्छन् । यो आठवटा अङगहरुको अभ्यास गर्नु नै सही मानेमा योग गर्नु हो ।

अहिले गलत तरिकाहरुले योग गर्ने र गराउने कार्यको व्यापकता नै देख्न पाइन्छ । गलत तरिकाले योग गरेको खण्डमा विभिन्न शारीरिक तथा मानसिक समस्याहरु देखिन सक्छन् । तसर्थ दक्ष योग प्रशिक्षक अथवा योग तथा प्राकृतिक चिकित्सकहरुको सल्लाह, सुझाव अनुसार मात्र गर्नुपर्छ ।

योग समयको आवश्यकता हो । आजको भागदौड तथा तनावको जीवनमा शरीरलाई स्वस्थ तथा मनलाई शान्त राख्नको लागि योगको कुनै विकल्प छैन । योग हरेक उमेर समूहहरुका लागि आवश्यक छ तर उमेर समूह अनुसार यसको अभ्यास गर्नुपर्छ । आज विश्वभरी महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्नको लागि योगको अभ्यास अत्यन्त जरुरी बनेको छ । कोरोना भाइरस रोकथामका लागि सरकारले तोकेका नियमहरुको पालना गर्नुपर्ने हुन्छ । व्यक्तिगत अनुशासन तथा सरसफाईमा ध्यान पनि उत्तिकै दिनुपर्छ । शरीरलाई स्वस्थ तथा मनलाई शान्त राख्नुपर्छ । अनि रोगप्रतिरोधात्मक क्षमताको वृद्धि गर्नुपर्छ । त्यसका लागि योगका सबै अभ्यासहरु गर्नु अनिवार्य हुन्छ ।

कोरोना भाइरसको रोकथाम र उपचार मध्येका दुई वटा मुख्य कुरा भनेको रोग प्रतिरोधात्मक क्षमता तथा तनाव व्यवस्थापन हो । चिकित्सा शास्त्रमा यसको कुनै भ्याक्सिन पनि छैन नत औषधि नै । अस्पतालमा गरिने उपचार भनेको देखिने लक्षणहरुको तथा यदि बिरामीमा कुनै जटिल समस्या देखिएमा जीवन बचाउने उपचार (Life Saving Treatment) मात्रै हो । बिना औषधि तथा भ्याक्सिन बिरामीहरु ठिक हुनुको एक मात्र कारण भनेको शरीरको रोग प्रतिरोधात्मक क्षमता हुनु नै हो । जसको रोग प्रतिरोधात्मक क्षमता बलियो छ, उसले सजिलै यस रोगबाट विजय प्राप्त गर्दछ ।

अर्कोतर्फ कमजोर रोग प्रतिरोधात्मक क्षमता हुनेहरुलाई जटिल समस्या देखिन सक्छन् । त्यसैले रोग प्रतिरोधात्मक क्षमता बढाउनु अति आवश्यक छ । अर्कोतर्फ अहिलेको अवस्थामा विभिन्न कारणहरुले गर्दा सर्वसाधरणहरु तथा कोरोना संक्रमितहरुमा मानसिक तनावको अवस्था एकदमै बढेर गइरहेको छ । मानसिक तनावका कारणले धेरै जनाले आत्महत्या गरेका समाचार सुन्दै आइरहेका छौं । तसर्थ तनाव व्यवस्थानको सन्दर्भमा एकदमै आवश्यक देखिन्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु तथा तनाव व्यवस्थापनको सर्वोत्तम उपाय योग नै हो । योगको साथमा अन्य केही प्राकृतिक तरिकाहरु पनि अपनाउन सकिन्छ ।

योगले रोग प्रतिरोधात्मक क्षमता बढाउने र तनाव व्यवस्थापनमा सहयोग गर्नु बाहेक फोक्सोको कार्यक्षमता बढाउँछ । श्वास लिँदा प्रयोग हुने मांसपेशीहरुलाई बलियो बनाउँछ । दिर्घरोगहरु जस्तैः उच्च रक्तचाप, मधुमेह, दम आदीलाई नियन्त्रण गर्नमा सहयोग गर्छ । निन्द्रालाई गहिरो बनाउँछ । शरीरमा स्फूर्तिको विकास हुन्छ । पाचन प्रक्रिया राम्रो हुन्छ । मनलाई शान्त बनाउँछ । शरीरमा प्रचुरमात्रामा अक्सिजनको पूर्ति हुन्छ, सकरात्मक सोँचको विकास हुन्छ । योग अभ्यासमा गरिने जलनेती क्रियाले माथिल्लो श्वास मार्गलाई सफा गर्ने गर्दछ ।

के–के अभ्यास गर्न सकिन्छ ?

१) यमः घर, क्वारेन्टिन अथवा आइसोलेसन जुन ठाउँमा भए पनि नेपाल सरकार तथा स्थानीय सरकारले तोकेका नियमहरुका पालना गर्ने ।
२) नियमः व्यक्तिगत सरसफाई, अनुशासन तथा रोगको संक्रमण नहोस् भन्नका लागि बनाएका सुझावहरुको पालना गर्ने ।
३) आसनः निम्नलिखित आसनहरु गर्नेः
–सुक्ष्म व्यायाम, सूर्य नमस्कार, गोमुखासन, सिहांसन, माजर्रि आसन, नौकासन, धनुरासन, क्रिकोणासन, ताडासन, बज्रासन, शंखासन, स्वस्तिकासन आदी ।
४) प्राणायामः अनुलोम–विलोम, नाडीसुल्के, कपालभाती, भ्रामरी आदी ।
५) प्रत्याहारः अनावश्यक तथा भ्रामक समाचारको पछाडी नलाग्ने, यो रोग लागेपछि मरिहाल्छ भन्ने गलत धारणा हटाउने, सकरात्मक सोँचको विकास गर्ने ।
६) धारणा र ध्यानः भजन कृतन, ओमकार ध्यान, योग निन्द्रा आदी ।
७) योग क्रियाः जलनेती (दैनिक), कुञ्जल (हप्ताको २ पटक मात्र)

\कोरोना भाइरसबाट बच्न, योगको साथमा विभिन्न प्राकृतिक तरिकाहरु पनि अपनाउनु आवश्यक छ । दैनिक सूर्यस्नान गर्ने, स्वच्छ हावामा बस्ने, प्राकृतिक स्वास्थ खाना खाने, अस्वस्थकर खाना नखाने, प्रशस्त्र मात्रामा पानी पिउने, तातो पानीको बाफ लिने, मनतातो नुन पानीले घाँटी कुल्ला गर्ने, समयमा नै सुत्ने गर्नुपर्दछ । यसको साथै निम्नलिखित प्राकृतिक जडिबुटिहरु पनि सेवन गर्ने । जस्तैः गुजौं, अदुवा, बेसार, लसुन, प्याज, ज्वानो, तुलसी, अमला, दालचिनी, धनियाँ इत्यादी ।

(नोटः दक्ष योग प्रशिक्षक वा योग तथा प्राकृतिक चिकित्सकको निर्देशन वा सल्लाहमा मात्र योग गर्नुहोला ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>