समाचार

गोर्खा भर्ती खारेज गर्न विप्लव समुहको माग

Banner

काठमाडौं, असार ६–

प्रतिबन्धित नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गोर्खा भर्ति यथाशीघ्र बन्द गर्न सरकारसँग माग गरेका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै विप्लवले नेपाली युवाहरुलाई भारतीय सेनामा भर्ती भएर लडाकु नबन्न आग्रह गरेका छन्। सरकारले युवाहरुलाई देशमै रोजगार दिनुपर्नेमा उल्टै गोर्खा भर्तिमा जान दिनु लज्जाकै विषय भएको विप्लवको भनाइ छ।

गोरखा रेजिमेन्ट अङ्ग्रेज साम्राज्यवादकालीन र नेपाली सामन्ती राणाकालीन सम्झैताको निरन्तरता भएको भन्दै विप्लव समुहले यसको खारेजी गर्न माग गरेको छ ।

लद्दाखको सीमा क्षेत्र गलवान उपत्यकामा चीन र भारतबीच सीमा विवाद हुँदा भारतीय सेनाको मृत्यु भएपछि गोर्खा रेजिमेन्टमा कार्यरत नेपाली युवाहरुलाई बिदा कटौति गरेर बोलाएर युद्धमा पठाउने तयारी गरेको भन्दै विप्लवले आपत्ति जनाएका छन्। ‘दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने विषय स्वीकार्य छैन,’ विप्लवले भनेका छन्, ‘यो असंलग्न राष्ट्रहरुले अबलम्बन गरेको सिद्धान्तविरुद्ध छ। दुई देशको समान छिमेकबीच रहेको नेपाल र नेपालीका लागि अति संवेदनशील र खतरनाक छ ।’

गोर्खा भर्ती राणाकालीन सम्झौता भएको बताउँदै विप्लवले उक्त सम्झौता २१ औ शताब्दीमा समेत कायम हुनु देशका लागि अस्वीकार्य र लज्जाको विषय भएको बताए। भारतमा झण्डै एक लाख नेपाली गोर्खा रेजिमेन्टमा कार्यरत छन्।

तत्कालीन समयमा पैसा र चाकडीका लागि युवाहरुलाई अर्काको देशका लागि लड्न पठाउने चलन २१ औं सताब्दीमा पनि देशका लागि लज्जास्पद र अपाच्य हुने विप्लव समुहको ठहर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>