Breaking News
सुरक्षा सतर्कता अपनाउन गृहमन्त्रालयले लगायो राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध

काठमाडौं, असार ५-
असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउनको लागि सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ ।
ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन प्रोत्साहित गर्न पनि गृहमन्त्रालयले भनेको छ ।
गृहमन्त्रालयले शुक्रबार जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।
रातिमा हुने हिँडडुलको अनुगमन भने प्रहरीले गर्नेछ ।
त्यस्तै, विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ ।
उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने पनि भनिएको छ ।

























