समाचार
मन्त्रिपरिषद्को निर्णय : मरिच आयात खुला, छोकडा, केराउ र मदिरा आयातमा प्रतिबन्ध कायमै

काठमाडौं, असार ५-
हिजाे बसेको मन्त्रिपरिषद्को बैठकले मरिचको आयातमा लगाउँदै आएको प्रतिबन्ध खुलाएको हो ।
अर्थ एवं संचार तथा सुचना प्रविधिमन्त्री डा युवराज खतिवडाले शुक्रबार मन्त्रिपरिषद निर्णय सुनाउँदै औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थका रुपमा प्रयोग हुने मरिच आयात प्रतिबन्ध फुकुवा गरिएको बताए।
सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा निकासी तथा पैठारी ऐन २०१३ को दफा ३ को उपदफा २ बमोजिम २०७६ चैत २४ गतेको राजपत्रमा मरिच, केराउ, छोकडा, मदिरालगायत वस्तुहरुको आयात प्रतिबन्ध लगाएको सूचना प्रकाशित गरेको थियो। अर्थमन्त्री खतिवडाका अनुसार राजपत्रमा औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थका रुपमा मरिच आयात खुलाउने प्रतिबन्धात्मक वाक्यांश थप भएको बताए।
‘औद्योगिक कच्चा पदार्थको रुपमा आवस्यक पर्ने मरिच सम्बन्धित उद्योगको क्षमता र खपतका आधारमा उद्योग विभागले प्रमाणित गरेको परिमाण बराबर उद्योग आफैले आयात गर्न सक्नेछ,’ खतिवडाले सरकारको निर्णय सुनाउँदै भने, ‘तर छोकडा, केराउ र मदिरालगायत वस्तुको आयातमा भने प्रतिबन्ध कायम नै रहेको छ।’
मरिच आयातमा प्रतिबन्ध लगाउँदा चोरी निकासी बढेको र मरिचमा आधारित उद्योगलाई कच्चा पदार्थ जुटाउन समस्या देखिएका कारण सरकारले यस्तो निर्णय गरेको मन्त्री खतिवडाको भनाई छ।
यसअघि सरकारले मरिचको आयातमा प्रतिबन्ध लगाउँदै आएको थियो। सोहीकारण, मरिच सबैभन्दा बढी चोरीनिकासी गरिने वस्तु बन्दै आएको थियो।



























