खैरहनी

लकडाउनले नछेकेको खैरहनीको विकास निर्माण

Banner

चितवन, जेठ ३०–

चितवनको खैरहनी नगरपालिकामा विकास निर्माणको काम तीव्र रुपमा भईरहेको छ । कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरे पनि सो रोगबाट बच्न सुरक्षा अपनाउँदै विकास निर्माणको काम भईरहेको खैरहनीका नगर प्रमुख लालमणि चौधरीले बताए ।

संघीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति र नगरपालिका तथा वडागत योजनाहरुको काम भईरहेको नगर प्रमुख चौधरीको भनाई छ । तर कालोपत्रे निर्माणको काम भने सम्पन्न हुन नसक्ने उनले बताए । कालोपत्रेका सव वेश र वेशको काम हुने भए पनि प्रि मिक्स गराउने काम भने नहुने देखिएको छ ।

नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठका अनुसार नगरमा पूर्वाधार विकास निर्माण कार्य ४ सय ५२ वटा रहेको छ । जसमध्ये अधिकांश सम्पन्न हुने उनले बताए । शुक्रबारसम्म २ सय १० वटा योजनाहरुको सम्पन्न भईसकेको इन्जिनियर श्रेष्ठले जानकारी दिए । अन्य योजनाहरु भने सम्झौता भएर निर्माणका क्रममा रहेका छन् ।

खैरहनी वडा नम्वर ३ को वडा कार्यालय अगाडीको सडकमा ७५ लाख बराबरको आरसीसी ढलको काम भईरहेको छ । जसमा बागमती प्रदेश सरकारको ५० लाख र खैरहनी नगरपालिकाको २५ लाख रुपैयाँ समावेश छ । त्यस्तै नगरपालिका परिसरमा निर्माणाधिन सभाहलको काम पनि तीव्र भईरहेको छ । कुल ६७ लाख ९१ हजारको लागतमा सभाहल निर्माण भईरहेको हो । आगामी नगर सभा सोही हलमा आयोजना गर्ने गरी निर्माणको काम अन्तिम चरणमा पुगेको नगरपालिकाकी अनुगमन समिति संयोजक समेत रहेकी उपप्रमुख सुनिता थपलियाले बताईन् ।

त्यस्तै वडा नम्वर १ र ९ को वडा कार्यालय भवनको काम पनि तीव्र भईरहेको छ । खैरहनी–५ गौचरनमा मैदानमा पर्खाल लगाउने र फोहोर मैला व्यवस्थापनका लागि भवन निर्माण पनि भईरहेको छ । संघीय सरकारको ४० लाख र नगरपालिकाको ३२ लाख ५३ हजार लगानी छ । जहाँ फोहोरको वर्गीकरण गरेर फोहोर व्यवस्थापनको काम हुनेछ । त्यस्तै खैरहनी–६ मा तरकारी तथा फलफूल संकलन तथा विक्री केन्द्रको काम द्रुत गतिमा भईरहेको नगरपालिकाले जनाएको छ ।

खैरहनी–१० मा बुढीराप्ती खोलामा पुल निर्माण यसै वर्ष सम्पन्न भईसकेको छ भने खैरहनी–३ को पटिहानी पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नगरमा संचालित योजनाहरुको निर्माणसंगै अनुगमन पनि भईरहेको छ । नगरपालिकाकी उपप्रमुख थपलियाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा, पूर्वाधार विकास समिति संयोजक होमकुमार पुन, सदस्य टिकादत्त इटनी लगायत प्राविधिकको टोलीले निरन्तर रुपमा अनुगमन गरिरहेको नगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>