खैरहनी
खैरहनीले आन्तरिक श्रोतबाट दियो किसानलाई राहत

चितवन, जेठ २५–
गत वैशाखमा हावाहुरी र असिनापानीले तरकारी खेतीमा क्षती पुर्याएपछि खैरहनी नगरपालिकाले किसानहरुलाई राहत रकम प्रदान गरेको छ । नगरको आन्तरिक श्रोतबाट १० लाख भन्दा बढी रकम पीडित किसानहरुलाई राहत स्वरुप प्रदान गरेको नगरपालिकाले जनाएको छ ।
क्षतीको वर्गिकरण गरी उनीहरुलाई राहत रकम प्रदान गरिएको थियो । तरकारीको पनि वर्गिकरण गरिएको थियो । हावाहुरी र असिनापानीले नगरपालिकाको वडा नम्वर १० र ११ मा बढी क्षती पुर्याएको थियो । यी दुई वटा वडा तरकारी उत्पादनमा अव्वल छन् । किसानलाई दिईएको राहत रकम थोरै भएपनि दुखमा साथ दिईएको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले बताए । एक कठ्ठा भन्दा बढी जग्गामा खेती गरेका किसानलाई राहत दिईएको चौधरीले बताए ।
बढी क्षती भएको वडा नम्वर १० र ११ मा ‘क’ वर्गमा करेला, खुर्सानी र खर्वुजा तथा ‘ख’ वर्गमा अन्य तरकारीलाई राखिएको थियो । ‘क’ वर्गको तरकारी क्षती भएकालाई प्रति कठ्ठा ५ सय ५० रुपैयाँ र ‘ख’ वर्गको तरकारी क्षती भएकालाई प्रति कठ्ठा ४ सय ५० रुपैयाँका दरले प्रदान गरिएको नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक ध्रुव आचार्यले जानकारी दिए ।
बाँकी वडाको ‘क’ वर्गमा पर्ने तरकारीको प्रति कठ्ठा ४ सय ५० रुपैयाँ र ‘ख’ वर्गका लागि ४ सय रुपैयाँ प्रदान गरिएको आचार्यले बताए । हावाहुरी र असिनापानीले खैरहनीमा २ हजार २ सय ८९ कठ्ठामा लगाईएको तरकारी बालीमा क्षती पु¥याएको थियो । खैरहनी–६ का किसान कृष्ण धरेलले रकम थोरै भएपनि किसानको दुःखमा नगरपालिकाले साथ दिएको प्रति खुसी व्यक्त गरे । क्षतीको रकम थोरै हो किसान धरेलले भने ‘नगरले आफ्नै श्रोतबाट राहत रकम दिएकोमा खुसी छु ।’ तर राहत दिदा अनुगमन गर्नु पर्ने उनको सुझाव थियो ।
गरिमा धान पीडितलाई पनि राहत वितरण
अघिल्लो वर्ष ‘गरिमा’ नामक हाईब्रिड धानको बीउ रोप्दा नोक्सानी बेहोरेका किसानहरुलाई राहत रकम प्रदान गरिएको छ । संघीय सरकारबाट प्राप्त भएको २५ लाख ४८ हजार रुपैयाँ बरावरको राहत रकम खैरहनी नगरपालिकाले यहाँका किसानहरुलाई प्रदान गरेको हो । राहत रकम कठ्ठाका दरले दामासाही रुपमा वितरण गरिएको छ ।
खैरहनीमा ४ हजार १ सय १० कठ्ठामा गरिमा जातको धान लगाईएको थियो । प्रतिकठ्ठा ६ सय १९ रुपैयाँका दरले किसानहरुलाई वितरण गरिएको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । उत्पादनको आधारमा नभई लागत मूल्य निर्धारण गरेर किसानलाई राहत दिईएको हो । कृषि ज्ञान केन्द्रले उत्पादन लागत प्रतिकठ्ठा ३ हजार ६ सय ३५ रुपैयाँ कायम गरेको थियो ।
खैरहनी–१० का किसान कृष्ण अर्यालले ढिलै भएपनि राहत रकम प्राप्त हुनु राम्रो पक्ष भएपनि क्षती अनुसार ज्यादै न्युन रहेको वताए । उनले १५ कठ्ठामा गरिमा धान लगाएका थिए । ‘आफुले पाएको रकमलाई राहतको रुपमा लिएको छु’ किसान अर्यालले भने ‘क्षतीपूर्ती हो भने यो न्यायोचित छैन् ।’ चितवनमा गरिमा धानका कारण किसानले १० करोड १९ लाख भन्दा बढीको नोक्सानी बेहोरेका थिए ।
























