खैरहनी
चितवनमा क्वारेन्टिनमा बसेकाहरुलाई दूध र दही बाड्दै मनाईयो दूध दिवस

चितवन, जेठ १९–
चितवनको खैरहनी नगरपालिका–१०, कठारस्थित क्वारेन्टिनमा बसेकाहरुसंग नन्दिनी दूग्ध उत्पादक सहकारी संस्थाले सोमबार विश्व दूध दिवस मनाएको छ ।
खैरहनी–१० शान्तिबजारमा रहेको दूध सहकारीले नगरपालिकाले सोही वडाको कठार माविमा बनाएको क्वारेन्टिनमा बसेकाहरुसंग ‘नियमित दूध सेवन गरौ, रोग प्रतिरोधात्मक क्षमता बढाऔं’ भन्ने नाराका साथ दिवस मनाएको हो ।
सो अवसरमा क्वारेन्टिनमा रहेकाहरुलाई दूध र दहीका साथै मास्क तथा स्यानिटाईजर समेत प्रदान गरिएको थियो । सहकारीका अध्यक्ष कमलराज थपलियाले ती सामग्रीहरु वडाध्यक्ष कारीराम चौधरीलाई हस्तान्तरण गरेपछि वडाध्यक्ष चौधरीले क्वारेन्टिनमा बसेकहरुलाई प्रदान गरेका थिए ।
कठार माविको क्वारेन्टिनमा अहिले २३ जना रहेका छन् । लकडाउनका कारण अहिले दूध किसान मर्कामा परिरहेका छन् । लकडाउनले दूध विक्री हुन कठिनाई भईरहेका बेला दूधको सेवन बढाउन सन्देश प्रवाहका लागि क्वारेन्टिनमा बसेहरुसंग यस पटकको दिवस मनाईएको संस्थाका निवर्तमान अध्यक्ष समेत रहेका केन्द्रीय दूग्ध सहकारी संघका सदस्य बालकृष्ण उप्रेतीले बताए । ‘संकटको बेला राज्यले दूध उत्पादक किसानलाई वास्ता गरेको छैन’ उप्रेतीले भने–‘राज्यको माथिल्लो तहमा रहेकाहरुलाई घचघचाउन यस्ता कार्यक्रमले मद्धत पुग्नेछ ।’
हाल देशभर रहेका क्वारेन्टिनमा बसेकाहरुलाई दूध उपभोग गराउन सके स्वास्थ्यलाई राम्रो हुनुका साथै खेर गईरहेको दूध समेत खपत हुने उप्रेतीको भनाई छ । वडाध्यक्ष कारीराम चौधरीले किसानहरुलाई परेको समस्यामा राज्यले सहयोग गर्नु पर्ने बताए । अघिल्ला वर्षहरुमा औपचारिक कार्यक्रम गर्ने गरिए पनि यसपटक भने देशको वर्तमान परिस्थितिका कारण अनौपचारिक कार्यक्रमका सामाजिक दुरी कायम गरी दिवस मनाईएको सहकारीका अध्यक्ष थपलियाले बताए ।
क्वारेन्टिनमा बसेकाहरुसंग दिवस मनाउन अध्यक्ष थपलियासहित उपाध्यक्ष सुशील कँडेल, सदस्य रामशरण दाहाल, व्यवस्थापक लिलाबहादुर थपलिया, लेखा समिति सयोजक श्यामनारायण फुयाँललगायत क्वारेन्टिन गएका थिए । नन्दिनी दूग्ध उत्पादक सहकारी संस्थाले हाल दैनिक तीन हजार लिटर दूध संकलन गर्दै आएको छ ।
























