इच्छकामना

इच्छाकामनामा क्वारेन्टिनमा बस्नेलाई खानाको व्यवस्था

Banner

चितवन, जेठ १६–

चितवनको इच्छाकामना गाउँपालिकाले क्वारेन्टिनमा बसेकाका लागि खानाको व्यवस्था गरिदिएका छन् । गाउँपालिकाका विभिन्न वडाको क्वारेन्टिनमा रहेका २६ जनालाई खानाको व्यवस्था गरिएको हो ।

खानाका लागि चामल, नुन, तेल तरकारी उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताउनुभयो । उनीहरुलाई आफ्नो घर पायक पर्ने गरी क्वारेन्टिनमा राखिएकाले परिवारले नै खाना पुर्‍याउने गरेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले उनीहरुलाई घर पायक पर्ने क्वारेन्टिनमा राखेका छौँ । होटलबाट खाना लैजाने व्यवस्था नभएपछि आवश्यक पर्ने चामल नुन तेल लगायतका खाद्यान्न सामग्री व्यवस्था गरिएको छ, आवश्यक सुरक्षा सतर्कताका साथ परिवारका सदस्यले खाना पुर्‍याउने गरेका छन् ।”

अध्यक्ष गुरुङका अनुसार क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत नियमित खटाएका छन् । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमार्फत नै परिवारले खाना पुर्‍याउने गरेका छन् । क्वारेन्टिनमा रहेका र उनीहरुका घरपरिवारलाई कोरोनासम्बन्धी आवश्यक परामर्शसमेत दिइएको उहाँले बतानुभयो ।

हाल भारतबाट आएका २४ जना र नेपालका अन्य जिल्लाबाट आएका दुई गरी २६ जना गाउँपालिकाका विभिन्न क्वारेन्टिनमा राखिएको छ । राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङको क्वारेन्टाइनमा पाँच, सर्वशान्ति मावि कुरिन्टारको क्वारेन्टाइनमा १९ र वडा नं ७ स्थित रानीखोला आधारभूत विद्यालयको क्वारेन्टाइनमा दुईजनालाई राखिएको छ । यसअघि आठजना क्वारेन्टिनमा बसेर स्वास्थ्य जाँच गराई घर फर्किसकेको अध्यक्ष गुरुङले बताउनुभयो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>