अन्तर्राष्ट्रिय
ल्याटिन अमेरिकामा मात्रै एक करोड ४० लाख व्यत्तिमा खाद्यान्न् अभाव हुनसक्ने

बोगोटा, कोलम्बिया, जेठ १५-
ल्याटिन अमेरिकी क्षेत्रमा मात्रै कोरोना भाइरसका कारण झण्डै एक करोड ४० लाख मानिसमा खाद्य अभावको समस्या पर्नसक्ने अनुमान गरिएको छ ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले ठूलो संख्यामा मानिसहरुलाई खाद्य अभाव हुने प्रक्षेपण गरेको हो ।
घर भित्रै बसिरहनु परेको, काम गर्न जान नपाएको, आर्थिक सङ्कटमा परेको लगायतका थप कारणले थप खाद्य सङ्कट उत्पन्न हुने सम्भावना रहेको डब्लुएफपीको ठहर छ ।
यसअघि सन् २०१९ मा भने त्यस क्षेत्रमा ३४ लाख मानिसमा खाद्य अभाव भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । अघिल्लो बर्षको तुलनामा आगामी बर्ष झण्डै चार गुणा मानिसमा खाद्य सङ्कट हुने अनुमान गरिएको हो ।
विश्वकै अति महत्वपूर्ण र राम्रो मानिएको ठाउँमा नै यस्तो अवस्था रहनु आफैमा चिन्ताजनक तथ्य भएको अधिकारीहरुको भनाइ छ ।
“हामी एउटा अति जटिल अवस्थामा प्रवेश गर्दैछौँ,” डब्लुएफपीका क्षेत्रीय निर्देशक मिगुएल बार्रेटोले भन्नुभयो, “यसलाई हामीले अर्को खाद्य सङ्कटको महामारी भन्न सक्दछौँ ।”
विषेश गरेर क्वारेन्टाइनमा बसेकाहरुलाई खाद्य अभाव बढी देखिएको उनीहरुले जानकारी दिएका छन् । खाद्य अभावको संकटमा परेकाहरु प्राय अनौपचारिक क्षेत्रमा काम गरेकाहरु र बेरोजगार भएकाहरु रहेका छन् ।
“म मेरो परिवारको नेतृत्वकर्ता हुँ, अहिले म बेरोजगार भएको छु, म पहिला हाइटीमा निर्माण मजदुरको रुपमा कार्यरत थिएँ,” ५७ बर्षीय डिउफेट लेबिएनले भन्नुभयो ।
संयुक्त राष्ट्रसंघले यस अघि पूर्वानुमान गरेको भन्दा धेरै मानिसले खाद्य सङ्कटको सामना गर्नुपर्ने देखिएको छ ।
अध्ययनकर्ताहरुले ११ देशमा यस्तो अवस्था रहेको जानकारी दिएका छन् । ती देशहरुमा भेनेजुएला, ब्राजिल, पेरु, चिली, मेक्सिकोलगायत रहेका छन् । रासस-एपी


























