अन्तर्राष्ट्रिय
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना

वासिङ्टन, असार २६-
इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट’ योजनासम्बन्धी खुफिया जानकारी यसै साता संयुक्त राज्य अमेरिकासँग साझा गरेको अमेरिकी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् । अमेरिका–इरानबीच पुनः सैन्य तनाव बढ्दै पूर्ण युद्धतर्फ फर्किन सक्ने आशङ्का भइरहेका बेला सार्वजनिक भएको यो दाबीले सुरक्षा चिन्ता थप बढाएको छ ।
सिएनएनले यस विषयमा जानकार अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै वासिङ्टनले ट्रम्पविरुद्ध हुन सक्ने सम्भावित हत्या प्रयाससम्बन्धी सूचनाहरू लामो समयदेखि निगरानी गरिरहेको भए पनि इजरायलले उपलब्ध गराएको पछिल्लो जानकारी भने एउटा विशिष्ट र नयाँ षड्यन्त्रसँग सम्बन्धित रहेको जनाएको छ । वाल स्ट्रिट जर्नलले पनि अज्ञात स्रोतहरूकै आधारमा अमेरिकी गुप्तचर निकायले ट्रम्पलाई लक्षित ‘ताजा’ योजनाबारे जानकारी प्राप्त गरेको उल्लेख गरेको छ ।
इरानले सन् २०२० को जनवरीमा अमेरिकी आदेशमा इरानी वरिष्ठ सैन्य कमान्डर कासिम सुलेमानीको हत्या भएपछि त्यसको प्रतिशोध लिने प्रतिबद्धता पटक–पटक दोहोर्याउँदै आएको छ । त्यसयता ट्रम्पको सुरक्षासम्बन्धी जोखिमबारे अमेरिकी सुरक्षा निकायहरू सतर्क रहँदै आएका छन् ।
समाचारबारे प्रतिक्रिया माग्दा ह्वाइट हाउसले ट्रम्पले बुधबार व्यक्त गर्नुभएको भनाइतर्फ ध्यानाकर्षण गराएको थियो । नाटो शिखर सम्मेलनपछि फर्किने क्रममा एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू इरानको निशानामा रहेको दाबी गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, “उनीहरू अमेरिकी नेतालाई हटाउन चाहन्छन् । म उनीहरूको प्रत्येक सूचीमा छु ।”
ट्रम्पले टर्कीबाट फर्किने क्रममा नयाँ कतारी उपहारस्वरूप प्राप्त जेट प्रयोग नगरी पुरानै एयर फोर्स वनबाट यात्रा गर्नुभएको थियो । नयाँ विमानलाई बेलायत पठाएर त्यहाँबाट अर्को विमान परिवर्तन गरिएको घटनाले सुरक्षा व्यवस्थाबारे व्यापक चर्चा भएको थियो ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार उक्त निर्णय विशेषगरी नयाँ विमानमा आवश्यक सुरक्षा प्रणाली पूर्ण रूपमा जडान नभएको र त्यसैबेला अमेरिका–इरान तनाव चुलिएकाले अपनाइएको सावधानीका रूपमा हेरिएको छ । न्युयोर्क टाइम्सले यो परिवर्तन अमेरिकी गोप्य सेवाको अनुरोधमा सुरक्षात्मक उपायस्वरूप गरिएको जनाएको छ ।
पछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सुरक्षा व्यवस्थाबारे विस्तृत टिप्पणी गर्न चाहनुभएन । तर विगतमा पनि आफूलाई लक्षित हत्या प्रयासका आशङ्का उठिसकेको सङ्केत दिँदै इरानबाट आउने जोखिमलाई हल्का रूपमा नलिनुपर्ने धारणा व्यक्त गर्नुभयो । रासस


























