इच्छकामना

इच्छाकामनामा कोरोना नियन्त्रणमा खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता

Banner

नारायण अधिकारी

चितवन, जेठ ६–

कोभिड–१९ को त्रास बढिरहेको समयमा इच्छाकामना गाउँपालिकाले कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाको कार्यपालिका बैठकले कोरोना सङ्क्रमण फैलिनबाट रोक्नका लागि जोखिम मोलेर सेवामा खटिने स्वास्थ्यकर्मीलगायत अन्य कर्मचारीहरुलाई प्रोत्साहन भत्तास्वरुप एक महिना बराबरको तलब उपलब्ध गराउने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले कोरोना रोकथामका कामलाई प्रभावकारी बनाउने उद्देश्यले प्रोत्साहनस्वरुप एक महिनाबराबरको तलब भत्ता उपलब्ध गराउने निर्णय गरिएको बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गरिरहेको छ, ती कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई प्रोत्साहनस्वरुप एक महिना बराबरको तलब दिने निर्णय गरेका छौँ ।”

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गाउँपालिकाले गाउँपालिका प्रवेश गर्ने नाकाहरुमा स्वास्थ्य सहायता कक्ष राखेको छ । गण्डकी प्रदेशबाट प्रवेश गर्ने नाका मुग्लिन पुल नजिक, धादिङबाट प्रवेश गर्ने नाका मौवा खोला र गाउँपालिका परिसरमा स्वास्थ्य सहायता कक्ष सञ्चालनमा रहेका छन् । पैदल यात्रुहरुलाई स्वास्थ्य जाँचपश्चात मात्र गाउँपालिका प्रवेश गर्न दिइएको छ । यसअघि पृथ्वी राजमार्ग हुँदै पैदल यात्रामा आएकाहरुलाई उनीहरुको गन्तव्यसम्म गाडी चढाएर पठाइएको थियो ।–रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>