Breaking News

‘हर घरमा प्रधानमन्त्रीको फोटो राखेर गर्व गर्ने दिन कहिले आउँला…..!’

Banner

देशमा गणतन्त्र स्थापित गरेको पनि चौध प्रन्ध वर्ष हुन थाली सक्यो । जति गणतन्त्र दिवस मनाईन्छ त्यो भन्दा धेरै त यो बीचमा देशले प्रधानमन्त्री पाई सक्यो होला १ नेताहरू देश बनाउन भन्दा पनि सरकार बनाउन बढी जोड दिने गर्छन् । सानो सानो कुरालाई लिएर नेताहरू बिच प्रायः झगड़ा भई रहने अनि एउटाले अर्को र अर्कोले आर्को माथि आफ्नो औला तेर्साउने बानी दिन दिनै बढी रहेको हुन्छ । देशमा आर्थिक विकास र रोजगार सृजना त केबल पार्टीहरूको चुनावी घोषणा पत्रमा मात्र पढ्न पाईन्छ । जब चुनाव जितेर सत्ता सञ्चालन गर्न पुग्छन् घोषणा पत्रमा लेखेका सबै कुरा नेताहरू बिर्सिन्छन् । अनि सुरू हुन्छ सत्ता फेरबदलको खेल ।

मेरो हजुरबाले आफ्नो अन्तिम सास फेर्नु अगाडि सम्म पनि नेताहरूको तारिफ गर्नु भएन । न यो मन्त्री यो नेता देश र जनताको लागि चाहिने व्यक्ति हो भनेर नै मलाई चिनाउनु भयो । उहाँको अनुहारमा जहिले देशका नेता देखेर निराशापन छाएको मैले देखि रहेको हुन्थे । उहाँको आशा निराशमा परिणत भए सँगसँगै उहाँको शरीरले पनि विश्राम लियो । आज मेरो बुबाको अनुहारमा पनि उस्तै हजुरबाको झै निराशपन झल्किएको म हरेक समय देखि रहन्छु । देशले राणा शासन फालेर प्रजातन्त्र प्रणाली प्राप्ती गर्यो । पञ्चायत फालेर बहुदल प्राप्ती गर्यो । राजतन्त्र फालेर लोकतन्त्र र गणतन्त्र प्राप्ति गर्यो ।

तर आजसम्म देश र जनताको लागि विकासले भरिपूर्ण पारी दिने एक शक्तिशाली प्रधानमन्त्री पाउन सकेको छैन । आफ्नो परिवार जस्तै जनतालाई मान्ने प्रधानमन्त्री पाउन सकेको छैन । एक देश भक्ति, राष्ट«प्रेमी प्रधानमन्त्री पाउन सकेको छैन । देशले प्रधानमन्त्री त पायो तर आफ्नो स्वार्थ पूर्ती मात्र गर्नेहरू । जसरी मेरो हजुरबा को अनुहार सत्ता चलाउनेदेखि क्रोधमा परिवर्तन भयो उस्तै मेरो बुबाको पनि भएको छ । अब बिस्तारै बिस्तारै मेरो अनुहार पनि उस्तै क्रोधमय हुदै जाने छ । सत्ता चलाएर बस्ने नेताहरूको अनुहार सधैँ हसिलो हुन्छ तर जनताको अनुहार निराशापनमा परिवर्तन भई रहन्छ । सत्ता परिवर्तनको लागि नेताहरूको बिचमा बार्गेनिंग भई रहन्छ तर देश र जनता माथि उकास्ने बारे कुनै पनि नेताहरूको अलिकति मन गएको भेट्न सकिदैन ।

देशमा आमुल परिवर्तन भयो । तर देशलाई तिब्र विकासको गतिमा दौडाउने नेताको अभाव सधैँ देशले खेपी रहेको छ । दश वर्ष जनयुद्ध खेपेका नेपाली जनताले जब जनयुद्ध सकिएर मुल राजनीतिक पार्टीमा प्रवेश गरेको माओवादी पार्टीबाट पनि जनताले ठूलो आश गरेका थिए । हिजो युद्ध बेला नेपाल र नेपालीको लागि अनि गरिब र निमुखा जनताको लागि एक मात्र विकल्प माओवादी हो भन्दै युद्धमा हुम्न बाध्य बनाएका आफूलाई क्रान्तिकारी बताउनेहरू नै जब शान्ति प्रकृति गरेसँगै सत्ता चलाउन पुगे उनीहरूको ती नारा पनि असिना बिलाए झै सबै बिलाए । देशको विकास, गरिब जनताको उकास, आर्थिक क्रान्ति, धनी, गरिब सम्मान यी सबै उनीहरूको देखाउने दात जस्तो भइदियो । सत्ता मोहले उनिहरूलाई पनि छोड्न सकेन । सत्ता र धनको ठूलो भूमरीमा नमज्जाले डुबी रहे । अन्ततः जनताले ठूलो आश गरेको पार्टी नै सत्ता मोह र विविध कारण कयौँ पार्टी भएर फुटे ।

कहिले देशको मुल कानुन फेर्ने नाममा त कहिले सत्ता फेर्ने दाउमा देश र जनता अनि नेपालको विकास बिर्सिने नेताहरू दिन दिनै बढी रहे । दश वर्ष जनयुद्ध खेपेको देश नेपाल जब जनयुद्ध सकिएसँगै देशमा गणतन्त्र स्थापना गरेपछि अब त साच्चै देशले ठूलो काचुली फेर्छ भन्ने नेपाली जनताको सपना सिसा फुटे झै चक्नाचुर भई रहेको छ । घडीमा समय परिवर्तन हुनु भन्दा छिटो सत्ता परिवर्तन हुने खेलले दिक्क मानेका नेपाली जनता संविधान निमार्ण भएसँगै स्थायी सरकार आएपछि त देश पक्कै विकासको गतिमा हिड्छ भन्ने सोचेँका थिए । तर ‘जुन …… आए पनि कान नै चिरेको भने झै’ अहिलेको अवस्थामा पनि उस्तै गति छ । नेतालाई जनता भन्दा प्यारो कुर्ची भएपछि देश विकास कहिल्यै हुने रहेनछ । अहिले स्थायी सरकारको चाल पनि उस्तै रहन गयो । ठूला ठूला भ्रष्टाचार काण्डहरूको सामना खेपी रहेको अहिले सत्ता पनि कुन बेला परिवर्तन हुन्छ कसैलाई थाहा छैन । भारतले नाकाबंदी गरेको बेला भारतको सामु नझुकेका केपी शर्मा ओलीलाई जनताले राम्रो साथ दिएर सत्तामा पु¥याई दिए । उनीबाट ठूलो आश गरेका करोडौँ नेपालीको त्यो आश पनि विस्तारै घृणामा परिवर्तन हुदै गई रहेको छ । उनकै पालामा मन्त्रीहरू विभिन्न काण्डमा परेर राजीनाम दिन बाध्य भएका छन् । साथै आश गरेको प्रधानमन्त्रीबाट नै भ्रष्टाचार गर्नेहरू माथि समर्थन गरेको कारण जनता झन रूष्ट बन्दै गएका छन् । देश विकासको गति लिने आशमा जनता बसि रहँदा विकास त त्यस्तै हो तर भ्रष्टाचार चाँही बढेको बढै छ ।

साँच्चै, देशमा शासन प्रणाली त कयौँ पटक फेरी रह्यो तर देशमा शासन गर्नेहरूको चालचलन कहिल्यै फेरिएन । नातावाद र कृपावाद हाबी भएको नेपाली राजनीतिमा गरिब जनता माथि सत्ता चलाउनेको आँखा कहिल्यै पर्न सकेन । देश र जनतालाई खोक्रो बनाएर आफ्नो पेट फुलाउनेहरू मात्र सत्तामा पुग्ने क्रम कहिल्यै रोकिएन । हर नेपालीले गर्व गर्ने सत्ता आज सम्म देशले पाउन सकेको छैन ।

गरिबी र बेरोजगारीको कारण आज लाखौँ नेपाली आफ्नो जन्म भुमी छोडेर रोजगारको लागि अन्य मुलुकमा गई रहेका छन् । चुनावको बेला ठूलो ठूलो आवाजमा विकास र रोजगारीको नारा लगाउने नेता चुनाव जिते सँगै नुन खाएको कुखुरो झै झोक्राएर बस्छन । उनीहरू चुनावका ति सबै आवाज बिर्सिन्छन र लाग्छन सत्ताको बार्गेनिंगतर्फ । सत्ता जोगाउनको लागि पाच तारे होटलमा मिटिङ गर्ने मन्त्रीहरू जनताको बिचमा जाने समय हुदैन । चुनाव जितेर गएका नेता आर्को पटकको चुनाव घोषणा नगरिए सम्म आफुले जितेको ठाउँसम्म कहिल्यै पुग्दैनन् । मन्त्री पद जोगाउन नेताहरू भेट्न जाने समय हुन्छ तर आफुलाई जिताएका जनता भेट्न जाने समय उनिहरूलाई हुदैन ।

देशले कयौँ प्रधानमन्त्री पायो । तर आज सम्म नेपाली जनताले गर्व गरेर आफ्नो घरको भित्तामा देशको सम्झिन लायक भनेर फोटो टास्ने प्रधानमन्त्री पाएको छैन । जनताको घरका भित्तामा हेर्ने हो भने कुनै पनि प्रधानमन्त्रीको फोटो झुन्डाईएको देख्न सकिदैन । सत्तामा पुगि सकेपछि सबैभन्दा पहिला नेपाली जनतालाई आफ्नो मुटु सम्झिने, उद्योगहरू खोल्ने, बेरोजगारी लाई रोजगारीको विकल्पहरू खोज्ने,सत्ता मोह अलिकति नगर्ने, देशका नागरिकलाई देशमा नै कुनै न कुनै क्षेत्रमा लगाउने, आथिर्क वृद्धि दर उच्च बनाउने, गरिब जनतालाई धनीतर्फ उन्मुख गराउने, हरेक समय केवल जनता र देशको लागि मात्र सोँची रहने र नेपाललाई विश्वको शक्तिशाली देश जस्तै बनाउने यस्तै प्रधानमन्त्री हामीले कहिले प्राप्ती गर्छौ होला १ हामी जनताहरूले हर घरमा प्रधानमन्त्रीको फोटो राखेर गर्व गर्ने दिन कहिले आउला…………..।

राजन पराजुली
चितवन

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>