खैरहनी

खैरहनीमा दोश्रो चरणको राहत वितरण सुरु

Banner

चितवन, वैशाख ८–

सरकारले लकडाउनलाई निरन्तरता दिएपछि पूर्वीचितवनको खैरहनी नगरपालिकाले दोश्रो चरणको राहत वितरण सुरु गरेको छ । चैत २० र २१ गते पहिलो चरणमा राहत वितरण गरेको खैरहनीले सोमबारदेखी दोश्रो चरणको राहत वितरणको काम सुरु गरेको नगर प्रमुख लालमणि चौधरीले जानकारी दिए ।

राहत वितरणका लागि खैरहनी वडा नम्वर १,२,३,४,५ र ११ लाई नगरपालिकाबाट राहत पठाईएको छ । वडा नम्वर १ ले वितरणको काम सोमबारदेखी नै सुरु गरेको छ । लकडाउनका कारण ज्याला मजदुरी गर्ने र विपन्न परिवारलाई खानामा समस्या भएपछि पुनः राहत वितरण थालिएको नगर प्रमुख चौधरीले बताए ।

राहत वितरणका लागि कार्यविधि बनाएर नगरपालिकाले मापदण्ड बनाएको छ । एक जनासम्म रहेकालाई ५ किलो चामल, आधा लिटर तेल, एक पोका नुन र एक किलो दाल, २ जना रहेको परिवारलाई १० किलो चामल, एक किलो दाल, एक पोका नुन र एक लिटर तेल, ३ देखी ४ जनासम्मको परिवारलाई १५ किलो चामल, एक किलो दाल, एक पोका नुन र एक लिटर तेल तथा ५ जना वा सो भन्दा माथिका परिवारलाई २० किलो चामल, एक लिटर तेल, डेढ किलो दाल र एक पोका नुन वितरण गरिने नगर प्रमुख चौधरीले बताए । नगरका १३ वटै वडाका टोल विकास संस्थाबाट ज्याला मजदुरी गर्नेहरुको विवरण संकलन गरिएको थियो ।

विवरण अनुसार नगरभित्रका ४ हजार ४ सय २२ परिवारले राहत पाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले बताए । राहतका लागि सबैभन्दा बढी वडा नम्वर १३ बाट ६ सय २३ जना परिवार तथा सबैभन्दा कम वडा नम्वर ११ बाट १ सय ३६ परिवारको तथ्यांक आएको छ ।

खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलियाले लकडाउनको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले आवश्यकता अनुसार राहत वितरण गरिएको बताईन् । यसअघि छुटफुट हुँदा गुनासो आएको भन्दै यसपटक कार्यविधि अनुसारनै तथ्यांक लिईएको उनको भनाई छ । पहिलो चरणमा खैरहनी नगरपालिकाले ३ हजार ६ सय ५९ घरधुरीलाई राहत वितरण गरेको थियो । राहत वितरण अघि नगरपालिकाले सर्वपक्षिय बैठक राखेर यसबारे छलफल पनि गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>