विचार/ब्लग

लकडाउनको अवस्था र अनुभूति

Banner

सन्तोष पन्त

परिचयः

लकडाउन (बन्दाबन्दी) भनेको एकान्तवासको अवस्था हो, जो जहाँ छ त्यहि रहने अवस्था हो । जसमा सुरक्षाका कारण घर बाहिर निस्कन प्रतिबन्ध लगाईएको हुन्छ । यो राज्य सरकारबाट गरिएको विशेष व्यवस्था हो । संक्रामक रोग ऐन, २०२० को दफा २ मा व्यवस्था भएको विशेष व्यवस्था गर्ने अधिकार प्रयोग गरी नेपाल सरकारले नेपाल भर यो लकडाउनको आदेश जारी गरेको हो ।

नेपाल सरकार मन्त्री परिषद्को २०७६ चैत्र ९ गतेको निर्णय बमोजिम चैत्र ११ गतेदेखि १८ गतेसम्म र पुनः १६ गते बसेको बैठकले चैत्र २५ गते सम्म, चैत्र २४ गतेको बैठकले २०७७ बैशाख ३ गते सम्म र पुनः बैशाख २ गते बसेको बैठकले बैशाख १५ गतेसम्म समयावधी थप गरेकोले सोहि लकडाउनको अवस्थामा छौँ हामीहरु अहिले । स्वाईन फ्लू भन्दा दश गुणा बढी खतरनाक मानिएको कोरोना भाईरस (कोभिड १९) को सक्रमणमाट विश्वका प्रायः कुनै पनि राष्ट्र चोखो रहेको देखिदैन भने यसको संक्रमणवाट करिव १९ लाख भन्दा बढी संक्रमित भई सकेको र १ लाख भन्दा बढी मानिसको मृत्यु समेत भई सकेको र नेपालमा समेत १६ जनामा संक्रमण देखिई सकेकोले यो लकडाउनलाई जीवन बाँच्ने क्याप्सुलका रुपमा ग्रहण गरी यस्को पूर्ण पालनाको विकल्प देखिदैन ।

अवस्थाः

नेपाल सरकारले देशका प्रायः सबै सिमा नाकाहरु बन्द गरी नेपाल प्रवेश गर्न रोक लगाएको छ भने अत्यावस्यक र अनुमति प्राप्त बाहेकका सवारी सञ्चालनमा रोक समेत रोक लगाएको छ । सिनेमाहल सांस्कृतिक केन्द्रहरु रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्यूजियम, स्वीमिंग पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लव, होटल, लज रेष्टुरा, विद्यालय आदि सबै बन्द गरी सबै देशवासीहरुलाई घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ । सरकारी, अर्धसरकारी, गैरसरकारी आदि कार्यालयहरु समेत बन्द जस्तै नै छन् । जनमानसमा संक्रमणको जोखीम हुन नदिन अपनाउनु पर्ने सावधानीका बारे विभिन्न संचार माध्यमहरुबाट सूचना प्रवाह भई रहेका छन् । नेपाल टेलिकम, एनसेलले डायल ट्यून नै कोरोना बारेको सजगतामा राखेका छन् ।

आम सञ्चारका साधनहरुले विज्ञापनलाई प्राथमिकता नदिई कोरोनाबाट बच्ने उपाय र यस्का लक्षणहरुका सम्वन्धमा सामग्रीहरु प्रकाशन तथा प्रशारण गरेका छन् । सामाजिक सञ्जालहरुमा देखिएका केही विकृति र अफवाह बाहेक सबै सञ्चारको आदन—प्रदान कोरोनाकै सन्दर्भमा छन् । वि.सं.२०७७ को सुरुआत तथा नयाँ वर्ष समेत विगतको जस्तो उत्साहप्रद रहेन भने शुभकामना आदान–प्रदान समेत कोरोनाकै सेरोफेरोमा रह्यो । अन्तराष्ट्रिय सीमा नाकाहरुमा र देशका प्रायः सबै पालीकाहरुमा क्वारेन्टिन स्थल तयार गरेको देखिएको छ भने सेल्फ क्वारेन्टिन र आईसोलेनलाई समेत कार्यान्वयन गरेको अवस्था छ ।

पछिल्लो समयमा सर्भिलेन्सको दायरालाई बढाएर विदेशवाट फर्किएकाहरुको सम्पर्कमा रहेका, ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु, गम्भीर प्रकारको स्वास प्रश्वासको बिरामीहरु, दीर्घ रोगीहरुमा संक्रमणको लक्षण देखिएमा र निरन्तर स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीहरुको समेत नमूना परीक्षणको व्यवस्था गरेको समेत देखिएको छ । क्वारेन्टिन, परीक्षण र आईसोलेशन नै यसबाट बच्ने उपयुक्त विधि भएकोले आजकल दैनिक करिव ५०० जनाको परीक्षण भई रहेको छ । व्यक्तिगत सुरक्षाका सामग्री, परीक्षण सामग्री आदिको व्यवस्था भई रहेको, अहिलेको अवस्थाको लागि त्यस्ता सामग्रीहरु पर्याप्त भएको र जिल्ला जिल्लामा पुगेको आशालाग्दो अवस्था पनि देखिएको, सुनिएको छ ।

प्रायः सबै अस्पतालहरुमा फिवर क्लीनिक र मुख्य—मुख्य स्थानहरुमा कोरोना विशेष अस्पताल समेत तयार भएका छन् भने अस्पतालमा भिडभाड कम गर्न अत्यावस्यक बाहेका बिरामीलाई अस्पतालमा परीक्षण नगरी चिकित्सकहरु संग फोनबाट सम्पर्क गर्ने व्यवस्था, अति विपन्न परिवारहरुलाई स्थानीय तहको एक द्धार प्रणालीबाट राहत वितरणको कार्य समेत भएको पाईएको छ । संघ, प्रदेश र स्थानिय तहमा समेत कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना भएका छन् भने संघमा रहेको कोषमा करिव दुई अरब रकम समेत संकलन भई सकेको अवस्था छ ।

राज्यका तर्फबाट भएका प्रयासहरु जनचाहना बमोजिमका र पर्याप्त छै्रनन्, गहिरिएर हेर्दा, खोज्दा धेरै कमजोरीहरु फेला पर्दछन् । यसो गरेको भए हुन्थ्यो, उसो नगरेको भए हुन्थ्यो भन्ने, भन्न सकिने अवस्था छ । त्यो यो संक्रमणको अन्त्य र जनजीवन सामान्य भए पछिको समीक्षाको विषय बन्ला तर नेपाल सरकारवाट सकारात्मक प्रयासहरु भएका छन्, हुँदै छन्, प्रयास जारी राखेको पनि देखिन्छ । तसर्थ हामी सबैले सकारात्मक सोच्नु र उच्च मनोवालका साथ शारीरिक रुपमा टाढा तर मानसिक रुपमा एकजुट भएर यस महामारीका विरुद्धमा उभिनु अहिलेको अवस्यकता र अपरिहार्यता हो ।

आज विश्वको सर्वशक्तिमान देश अमेरिकाको अवस्था डरलाग्दो देखिएको छ, ईटली, स्पेन, फ्रान्स र बेलायत जस्ता मुलुकहरु आत्तिएका छन् । छिमेकी देश भारतको अवस्था पनि चिन्ताजनक नै देखिन्छ, जहाँ बैशाख २१ गते सम्मका लागि लकडाउनको आदेश जारी भएको छ । अन्य देशको अवस्था हेर्दा चिनले कोरोना विरुद्धमा छिट्टै विजय हासिल गरेको जस्तो देखिन्छ । जस्को कारण नागरिकहरुको कडा अनुशासन र राज्यको कडा कानून र कार्यान्वयनको दरिलो पक्ष हो । अमेरीका, ईटली र स्पेनको भयावह अवस्थाको कारण राज्यले लकडाउन उपर कडाई गर्न नसक्नु र नागरिकहरुले यस्लाई वास्ता नगर्नु वा कम महत्व दिनु हो । हामी नेपालीले यसैलाई मुल मन्त्र र मार्ग दर्शनका रुपमा लिई यसबाट सजगता नअपनाउने हो भने हाम्रो अवस्था पनि त्यस्तै नहोला भन्न सकिन्न, संक्रमणको दोस्रो स्टेजमा त हामी पुगि सकेका छौँ । दोस्रोवाट तेस्रो हुँदै विनासको बाटो लाग्न धेरै बेर लाग्ने छैन ।

अत्यावश्यक काम नपरी हिडडुल नगर्ने, घरमै बस्ने गरी राज्यले जारी गरेको आदेशको मर्मलाई पहिलो हप्ताको तुलनामा विस्तारै कमजोर हुदै गएको देखिएको छ । हुन त लामो अवधि भएर आत्तिएर पनि होला, देशवासीहरु बाहिर निस्केको तर जीवन सुरक्षा भन्दा ठूलो त केहि हुदैन नि । हामी नेपाली धुलो—धुँवा खाएका, बलिया, परिश्रमी, बहादुर, रोग प्रतिरोधात्मक क्षमता भएका आदि आदि भन्दै केहि हुदैन भन्नेहरुको जमात एकातर्फ रहेको छ भने कोरोना आयो भने पक्कै बाचिन्न, कस्ता कस्ता काहाँ गए मुसाका छाउरा दरवार भन्दै बाचुञ्जेल त रमाईलो गर्ने नै हो भन्नेहरुको पनि कमी देखिदैन ।

घरमा बसे बाँचिन्छ, बचाईन्छ भन्ने स्पष्ट जानकारी हुँदा हुँदै पनि अबुझ बनेर बाहिर निस्कनुलाई के भन्ने ? अहिले घरमै विकल्प भएका केहि आवस्यकताहरुलाई पनि अत्यावस्यक ठान्ने र सो को पुर्ति गर्न घरबाट बाहिर निस्कने, लामो अवधिकालागी खाध्यान्न भण्डारण गर्न बाहिर निस्कने, मर्निङ्ग वाक, ईभिनिङ्ग वाक आदिलाई जारी राख्ने, धेरै दिन भयो भनेर आफन्तलाई भेट्न जाने, धेरै दिन सम्म स्टार्ट भएन भनेर साँझ विहान सवारी स्टार्ट गरेर यस्सो घुमाउने, गाउँ घर, बजार कस्तो भएछ भनि हेर्न जाने, छिमेकीको घरमा तथा चोकमा भेट भएर गफिने आदि विकृति देखिन थालेका छन् ।

सुरक्षाकर्मीहरु पनि धेरै दिन सम्म जारी भएको लकडाउन र आफ्नो असुरक्षाका कारण थाकेको मनस्थितिमा रहेको पाईएको छ भने निश्चित ईलाकामा बाहेक अन्यत्र आफ्नो पहुँच पु¥याउन सकेको देखिदैन, राहत कोषमा जीवनको पर्वाह नगरी फिल्डको कमाण्ड गर्दै कर्तव्य पालनामा खटिने जुनियर अधिकृत समेतको तलब कट्टी भएकोले पनि मनोवल उच्च देखिदैन । अत्यावस्यक सामग्रीहरुको व्यवसाय सुरक्षित साथ सञ्चालन गर्ने गराउने भन्ने गृह मन्त्रालयको सूचनाको मर्म विपरित गुट्खा, चुरोट, खैनी, मादक पदार्थहरु आदि समेत विक्री वितरण र अन्य अन्य सामग्रीहरुको ओसार—पसार भई रहेको, खुलेका स्टोर पसलहरु समेत निश्चित समयमा मात्र नभई दिनभर सञ्चालन भई रहेको समेत देखिएको छ ।

अब के गर्नु पर्ला ?

सरकारले हामी सबैको सुरक्षाका लागि लागू गरेको व्यवस्था हो लकडाउन । यो कोरोना प्रभावित र शंकितका लागि मात्र लागू गरेको आदेश होईन, हामी सबैले अनिवार्य पालना गर्नु पर्ने कानूनी आदेश हो । कानूनी आदेश पालना नगर्ने व्यक्ति अपराधि ठहर्छ । एकातिर संक्रमणको डर अर्को तिर अपराध, तसर्थ लकडाउनको पालना गर्नुको कुनै विकल्प नै छैन । आमसर्वसाधरणहरुले आफ्ना छिमेकीहरुको सम्पर्क र अवस्थाका बारेमा सूचना संकलन गरी आवश्यकता अनुसार स्थानीय सरकारलाई उपलव्ध गराउनु पर्दछ भने लकडाउनको आदेशको उल्लंघन भएमा निशंकोच स्थानीय प्रशासनलाई जानकारी दिनु पर्दछ ।

स्थानीय सरकार र प्रशासनले यथासम्भव सबै स्थानीय तहमा र नभए पनि जिल्लागत रुपमा कम्तिमा एक सूचना केन्द्र स्थापना गरी सूचना संकलन, विश्लेषण, वितरण र फलोअपलाई प्रभावकारी रुपमा लागू गर्नु पर्दछ । सवारी नचलेकोले सहरबाट पैदलै गाउँ जानेहरुको लर्को देखिएकोले त्यस्तो कार्यलाई निरुत्साहित गर्नु पर्दछ । ठाउँ ठाउँमा खाना ख्वाउने, पानी खान दिने, बास दिने आदि नगरी जो जहाँ छ त्यहिँ लकडाउनमा सुरक्षित राख्नु राज्यको दायित्व हो । कानून उल्लंघन गरेमा कारवाही र व्यवहारिक समस्या भए व्यवस्थापन गर्नु राज्यको कर्तव्य हो । सरकारलाई लकडाउनको अवधि थप गर्ने निर्णय गर्न त सहज होला तर त्यसको व्यवस्थापन र कार्यान्वय पक्ष चुनौतिपूर्ण बन्दै गएको छ ।

लकडाउनको उल्लंघनको अवस्था र आमसर्वसाधरणको अहिलेको मानसिकतालाई विचार गर्दा राज्य उचित व्यवस्थापन सहित कठोर हुन आवश्यक देखिएको छ । खान बस्नकै समस्या भए सम्बोधन गर्दै, स्वास्थ्य र सुरक्षा सामग्रीको आपूर्ति तथा वितरणलाई उच्च प्राथमिकता दिई लकडाउनको आदेशको पूर्ण कार्यान्वयन नै अहिलेको अपरिहार्यता हो । आम नागरिहरुबाट लकडाउनको आदेश उल्लंघनको दर बढीनै रहने र कोरोनाको संक्रमण पनि बढी नै रहने हो भने राज्यका सबै सुरक्षा अंगलाई परिचालन गरी र अपर्याप्त भएमा कराररमा व्यवस्था समेत गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) बमोजिम कर्फ्यू आदेश, नेपालको संविधानको धारा २७३ बमोजिम संकटकालिन व्यवस्था आदि जो जे गर्नु पर्ने हो, गर्न सरकार पछि पर्नु हुदैन ।

निश्कर्षः

हामी सबै उच्च मनोवल र साहसका साथ सजग हुने बेला हो यो, कोरोनाको संक्रमण र अकाल मृत्युसंग डराई सजग हुने बेला हो यो । हामी घर बाहिर नगएसम्म कोरानो हाम्रो घरमा आउनै सक्दैन, हामी सजग भयौँ भने, घरवाट बाहिर निस्केनौ भने, घरमै पनि सुरक्षित बस्यौँ भने, बाहिरको कुनै पनि व्यक्तिलाई घरमा स्वागत गरेनौं भने, सक्रमणको शंकालाई लुकाएनौँ भने, कोरोना संक्रमण रोकथामका लागि सरकारका निर्देशन र चिकित्सकका सुझावहरुलाई पालना गर्‍यौँ भने स्थिति छिट्टै सहज बन्न सक्छ वा यहि बैशाख १५ गते पछि लकडाउनको अर्को आदेश थप गर्न नपर्न पनि सक्छ । आजै—अहिल्यै विचार गरेनौँ भने, संवेदनशील भएनौँ भने स्थिति दिन दुई गुणा रात चौगुणा विग्रन सक्छ । संक्रमितलाई अस्पताल लैजाने र मृतकको अन्तिम संस्कर र किरीया कर्म गर्ने मानिस समेत नहुन सक्छ । तसर्थ सबै जना एक ढिक्का भएर लागौँ र घरमै बसौँ, राज्यलाई सहयोग गरौँ, आफ बाचौँ र अरुलाई बचाऔँ ।

(लेखक सेवा निवृत्त प्रहरी अधिकृत तथा लाइसियम इन्टरनेशनल मोडल स्कुल रत्ननगरका प्रवन्ध निर्देशक हुन् )

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>