खैरहनी

खैरहनीको राहत कोषमा साढे २ लाख सहयोग

Banner

चितवन, चैत २७–

लकडाउनको समय अझ लम्विने संकेत मिलिरहेका बेला खैरहनी नगरपालिकाले स्थापना गरेको विपद् राहत कोषमा सहयोग बढ्ने क्रम तीव्र बनेको छ ।

नगरपालिकाले कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा त्यसपछि सिर्जित अवस्थालाई मध्यनजर गर्दै विपद् राहत कोष बनाएको थियो । सोही कोषमा बिहीबार एकै दिन २ लाख ५० हजार भन्दा बढी रकम सहयोग भएको छ । उद्योग बाणिज्य संघ खैरहनी, सयपत्री बहुदेश्यीय सहकारी संस्था र मेनका इन्जिनियरिङले आर्थिक सहयोग गरेका हुन् । उद्योग बाणिज्य संघ खैरहनीले १ लाख ५१ हजारसहित ५ सय थान माक्स सहयोग गरेको हो ।

त्यस्तै सयपत्री बहुउदेश्यीय सहकारीले ५१ हजार १५१ रुपैयाँ तथा मेनका इन्जिनियरिङले ५० हजार रुपैयाँ सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए । तीन वटै संस्थाले नगर प्रमुख लालमणि चौधरीलाई छुट्टाछुट्टै चेक हस्तान्तरण गरेका थिए । उपप्रमुख सुनिता थपलियासहित वडाध्यक्षहरुको सहभागीतामा संघका पदाधिकारी र सदस्यहरुसहित टोलीको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद सापकोटा, सयपत्री सहकारीको तर्फबाट अध्यक्ष रामशरण पाण्डे र कोषाध्यक्ष अशोक रैला तथा मनेका इन्जिनियरिङका तर्फबाट संचालक बुद्धि पाठकका छोरा हरिशरण पाठकले नगर प्रमुख चौधरीलाई चेक हस्तान्तरण गरे ।

विपद्का बेला आमनेपाली एकजुट हुन्छन् भन्ने सन्देश यस्ता सहयोगबाट पुष्टि हुँदै आएको नगर प्रमुख चौधरीले बताए । कोषमा विभिन्न व्यक्ती तथा संघसंस्थाले गरेको सहयोग रकम विपन्नलाई राहत वितरणका साथै संभावित भाईरस नियन्त्रणको काममा खर्चिने प्रमुख चौधरीले बताए । लकडाउन पछि खैरहनी नगरपालिकाले एक चरण राहत वितरण गरिसकेको छ ।

नगर भित्र ज्याला मजदुरी गर्ने तथा विपन्न ३ हजार ६५९ घरधुरीलाई राहत स्वरुप चामल, दाल, नुन र तेल परिवार संख्याका आधारमा वितरण गरिएको नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेले बताए । वैशाख ३ गते पछि पनि लकडाउनको समय थप भए पुनः राहत वितरण गर्नु पर्ने अवस्था आएमा नगरपालिका तयारी अवस्थामा रहेको प्रवक्ता पाण्डेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>