Breaking News

आजदेखि सातै प्रदेशमा कोरोना परीक्षण सेवा, अब नमुना काठमाडौं ल्याउनुनपर्ने

Banner

काठमाडौं, चैत २०-

सातै प्रदेशबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको छ । सरकारले आज (बिहीबार) देखि कोरोना परीक्षण प्रयोगशाला देशका सातै प्रदेशमा सञ्चालन भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धेरैजसो प्रदेशमा बुधबारै कोरोना परीक्षण सुरु भइसकेको र बाँकी प्रदेशमा आज (बिहीबार) यस्तो परीक्षण सुरु हुने जानकारी दिएको छ ।

प्रदेश १ को धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै कोरोना परीक्षण भइरहेको छ। जहाँ १२ नमुना परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

पोखरामा पनि बुधबार कोरोना परीक्षण सुरु भएको छ। त्यहाँ अहिले ४ नमुना परीक्षण क्रममा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजदेखि प्रदेश राजधानी हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण गरिने बताए । आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबबाट आज बिहान १० बजेदेखि संकलित नमूनामा कोरोना संक्रमण परीक्षण गरिने तयारी सकिएको बताए ।

प्रदेश २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नम्बर ५ को बुटवलमा पनि बिहीबार कोरोना परीक्षण सुरु हुने जानकारी छ ।

प्रयोगशाला सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा उपकरणसहित जनशक्ति खटाइसकेको जनाएको छ ।

यसअघि कोरोना परीक्षण काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै हुन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>