Breaking News
चितवनमा कोरोनाको सन्त्रासः बिरामीलाई रगत पाउनै सकस

चितवन, चैत ४–
सोमबार मध्याह्न क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरको कार्यालयमा भरतपुरका राजु विश्वकर्मा उदास मुद्रामा भेटिए । हातमा रगत बोक्ने सेतो बाकस र भरतपुर अस्पतालको सिफारिस पत्र लिएर उनी यता–उता भौतारिँदै थिए । ‘बुवाको उपचारको लागि रगत चाहियो भनेर लिन आएको’ उनले भने, ‘यहाँ छैन भन्नुहुन्छ ।’
विश्वकर्मा कहिले काउन्टर त कहिले बाहिर ओहोरदोहोर गर्दै थिए । उनको अनुहार, हाउभाउबाट अनुहार निरास देखिन्थ्यो । ब्लड बैंकमा रगत नपाएपछि उनले आत्तिएर आफन्तलाई फोन लगाए । तर, कोही रगत दिने मान्छे भेटाएनन् । ‘सबै तर्फ प्रयास गर्दा पनि रगत पाइएन । यहाँ दुई घण्टादेखि कुरेको छु । तत्कालै दुई पोका ब्लड लिन डाक्टरले भनेका छन् ।’ उनले भने, ‘एबी पोजेटिभ रगत दिने मान्छे पनि पाएको छैन ।’
नवलपुरको मध्यबिन्दु नगरपालिका–३ का उत्तम गुरुङ पनि दिउँसो डाक्टरले रगत लिनका लागि दिएको सिफारिस पत्र लिएर रगत खोज्न भौतारिएका थिए । ४२ वर्षीय आमालाई सेतो रगत र रातो रगत आवश्यक परेर क्षेत्रीय रक्तसञ्चार केन्द्रमा आएका गुरुङ रगत नपाएर निराश मुद्रामा देखिन्थे । ‘आमाको पाठेघरको अप्रेसनपछि शरिरको ब्लड बगिरहेको छ । डाक्टरले छिटो दुई पोका सेतो र एक पोका रातो ब्लड ल्याउन भनेका छन् ।’ हात टाउकोमा राख्दै उनले भने, ‘यहाँ आएर दुई घण्टा लाइनमा बसेको छु । तर, दिने पाइएको छैन ।’
रगत अभाव खेपेका केही उदाहरण हुन् यी । रक्तसञ्चार केन्द्रका कार्यालय अघिल्तिर पुग्दा रगत राख्ने झोला र सिफारिस पत्र बोकेर आएका यस्ता थुप्रै अनुहार देखिन्छन् । कार्यालयका कर्मचारी रगतको पर्खाइमा बसेका सबैलाई एउटै जवाफ दिइरहेका थिए, ‘ब्लड ग्रुप मिल्ने आफ्नो मान्छे भए ल्याउनुस्, नत्र स्टक त छैन ।’
मेडिकल सिटीको रुपमा विकास भैरहेको भरतपुरमा बिरामीहरुको अत्याधिक चाप रहेका छ । यहाँ देशकै ठुलो क्यान्सर अस्पपताल, दुई मेडिकल कलेज, केन्द्रय अस्पताल र दुई दर्जन भन्दा बढी निजी हस्पिटलहरु रहेका छन् । विशेषगरि क्यान्सरका बिरामीलाई बढी रगतको आवश्यक पर्दछ भने, चितवनमा सवारी दुर्घटना पनि बढी हुने भएकाले रगतको माग बढी हुने गर्दछ ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका कार्यालयका प्रमुख रमेशकान्त पौडेलका अनुसार जिल्लामा दैनिक एक सय ५० युनिट रगतको माग हुन्छ । तर, अहिले ५० युनिट मात्र सङ्कलन हुने गरेको पौडेलले बताए । ‘चितवनमा रगतको माग दैनिक एक सयदेखि एक सय ५० युनिटसम्म हुन्छ । सङ्कलन मुस्किलले ५० युनिट हुने गरेको छ ।’ उनले भने ‘२५ प्रतिशतको हाराहारीमा मात्र व्यवस्थापन गर्न सकेका छौँ ।’
रगतका लागि बिरामीका आफन्तले मान्छे खोजेर ल्याउनुपर्ने उनले बताए । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि रक्तदानको अभाव हुन थालेको उनले बताए । ‘स्थानीय प्रशासनले सार्वजनिक सार्वजनिक स्थलमा जमघटका कार्यक्रम नगर्न आह्वान गरेको छ । प्रशासनको नीति निर्देशन सबैले मान्नु प¥यो । नियमित रक्तदान गर्ने संघसंस्थाले पनि यो समयमा रक्तदान गरेका छैनन् ।’ उनले भने, ‘अहिले रगतको चर्को अभाव छ ।’
रगतको व्यवस्थापन गर्नका लागि छुट्टै रणनीति बनाउन लागिएको उनले बताए । हालको आपतकालीन अवस्थालाई रगतको व्यवस्थापन गर्नका लागि स्वयंसेवी रक्तदाता र विभिन्न संघसंस्थालाई आग्रह गरिएको उनले बताए । रगतको अभावलाई व्यवस्थापन गर्नका लागि सबै लाग्नुपर्ने उनको धारणा छ । यही अवस्थामा गए चितवनमा कोरोनाको त्राससँगै ठुलो सङ्कटकालको अवस्था सिर्जना हुने उनले बताए ।
जिल्लामा रगतको माग बढ्दै गएपछि आपूर्तिका लागि जिल्लास्थित सुरक्षा निकायमा समेत गुहार्ने गरेका छन् । भरतपुरको कालिबहादुर गण, जिल्ला प्रहरी कार्यालय, जुनियर प्रहरी अधिकृत शिक्षालय, सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायबाट बिरामीलाई रगतका लागि सहयोग गरिदै आएको छ । भरतपुरको कालिबहादुर गणका गणपति प्रमुख सेनानी विज्ञानराज खनालले रगत नपाएको भन्दै आफूकहाँ बिरामीको फोन आउने गरेको बताए ।
‘अत्यावश्यक परेका बिरामीका लागि हामीले यहाँबाट सेनाका कर्मचारी पठाएर भएपनि रगत दिँदै आएका छौँ’ खनालले भने, ‘नागरिकको रक्षा गर्नु सेनाको पनि दायित्व भएका हुँदा अत्यावश्यक पर्ने बिरामीलाई रगतको प्रबन्ध गर्ने गरेका छौँ । विशेषगरि दुर्घटनामा परेका घाइते तथा क्यान्सरका बिरामीका लागि फ्रेस ब्लडको माग हुने गरेको उनले बताए ।
























