Breaking News

तथ्यांक कार्यालय चितवनले थाल्यो ९६३ उद्योगको सर्वेक्षण

Banner

ज्ञानु पंगेनी

नवलपुर, चैत १

नवलपरासीमा पनि औद्योगिक सर्वेक्षण सुरु गरिएको छ ।

तथ्याङ्क कार्यालय चितवनले नवलपरासी पूर्व र पश्चिम दुवै जिल्लामा सर्वेक्षण सुरु गरेको हो । राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ मा नवलपरासी पूर्व(नवलपुर) मा २४८, पश्चिममा १९८ र चितवनमा ५१७ गरी ९६३ वटा उद्योगको सर्वेक्षण गरिने तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ती भण्डारीले जानकारी दिए । कार्यालय प्रमुख भण्डारीका अनुसार यी सूची मध्ये ठूला उद्योगहरुको सूची अद्यावधिक गर्नुपर्ने भएमा थप उद्योगको समेत सर्वेक्षण गरिने छ ।

उद्योगको तथ्याङ्क स्थानीय तह तथा औद्योगिक क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थामा आर्थिक वर्ष २०७५/०७६ मा दर्ता भएको सूचिको आधारमा लिइएको भण्डारीले बताए । उद्योगको सूचिको आधारमा नै सुपरीवेक्षकले सर्वेक्षण गर्ने भण्डारीले बताए । केन्द्रीय तथ्याङ्क विभागले नै राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ सुरु गरेको हो । सोही कार्यक्रमअन्तर्गत नवलपरासीमा फागुनको दोस्रो साताबाट सर्वेक्षण सुरु गरेको तथ्याङ्क कार्यालय चितवनका प्रमुख भण्डारीले जानकारी दिए । सर्वेक्षणका बारेमा जानकारी दिने उद्देश्यले शुक्रबार नवलपुरको कावासोतीमा सरोकारवालालाई सचेतना कार्यक्रमको आयोजना गरिएको थियो । जिल्लामा रहेका विभिन्न सरकारी कार्यालय, उद्योग वाणिज्य संघ, उद्योग संघ, विभिन्न उद्योगी र पत्रकारलगायतको सहभागितामा भएको उक्त कार्यक्रममा औद्योगिक सर्वेक्षणको परिचय र महत्व, उद्देश्य, प्रक्रिया, सांगठनिकस्वरुपलगायतका विषयमा कार्यालय प्रमुख भण्डारीले जानकारी गराए ।
औद्योगिक क्षेत्रले मुलुकको समग्र अर्थतन्त्र पु¥याएको योगदान, औद्योगिक क्षेत्रले सिर्जना गरेको रोजगारी, औद्योगिक क्षेत्रमा भएको मूल्य अभिवृद्धि, औधोगिक प्रतिष्ठानको अवस्था पहिचान एवम् तथ्यांक अद्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ सुरु गरेको भण्डारीले बताए । यस अभियानमा सहयोग गरिदिन समेत भण्डारीले उद्योगीलाई आग्रहसमेत गरेका छन् । कर लिने अथवा अन्य कुनै प्रयोजनका लागि तथ्याङ्क संकलन गर्न लागेको हो कि ? भन्ने शंका उपशंका आम नागरिक र उद्योगीमा हुँदा सही तथ्याङ्क नदिने, तथ्याङ्क लुकाउन खोज्ने दिनै नखोज्ने जस्ता समस्या हुने गरेको भन्दै भण्डारीले यस सर्वेक्षणले उद्योगीलाई कुनै किसिमको समस्यामा नपार्ने फाइदा हुने बताएका छन् । सही सूचना दिएर औद्योगिक क्षेत्रको विकासमा टेवा पु¥याउनसमेत उनले आग्रह गरेका छन् ।
यस किसिमको सर्वेक्षण प्रत्येक पाँच वर्षको अन्तरालमा हुँदै आएकोमा यसपटकको सर्वेक्षण विगत भन्दा पृथक एवम् विशेष हुने भण्डारीले बताए । विगतमा संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय वर्गीकरण(आईएसआईसी) अनुरुप औद्योगिक उत्पादनअन्तर्गत पर्ने उद्योग प्रतिष्ठानहरू मात्र सर्वेक्षण गर्दै आएकोमा यसपटकबाट संयुक्त राष्ट्र संघ औद्योगिक विकास निकायको (यूएनआईडीओ) सिफारिस बमोजिम खानी तथा उत्खनन्, विद्युत् उत्पादन तथा वितरण, पानी आपूर्ति, फोहोर वयवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरू समेत समेटेका उनले जानकारी दिए ।

सचेतना कार्यक्रम नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा घिमिरेले औद्योगिक सर्वेक्षणमा सबै नागरिकले साथ दिन आग्रह गरे । प्रशासनबाट समेत आवश्यक पर्न सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले यस कार्यमा स्थानीय तहलाई समेत सामेल गराउनुपर्नेमा जोड दिए । अहिले स्थानीय सरकारको भूमिका ठूलो भएकाले स्थानीय तहको समेत सहभागिता गराउन सके यो कार्यक्रम प्रभावकारी बन्ने घिमिरेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>