अन्तर्राष्ट्रिय
उत्तर कोरियामा कोरोनाबाट झन्डै २ सय सैनिकको मृत्यु

प्योङ्याङ -दक्षिण कोरियाका सञ्चारमाध्यमले उत्तर कोरियामा कोरोना भाइरसबाट १ सय ८० जना सैनिकको मृत्यु भएको समाचार छापेका छन्।
डेली एनकेले दाबी गरेअनुसार मार्च ६ मा उत्तर कोरियाली सैनिकको मेडिकल युनिटले सैनिक नेतृत्वलाई कोरोनाको प्रभाव सम्बन्धी रिपोर्ट पठाएको थियो।
रिपोर्टमा १ सय ८० सैनिकले जनवरीमा कोरोना संक्रमणबाट ज्यान गुमाएको उल्लेख छ। त्यस्तै ३ हजार ७ सयलाई क्वारेन्टाइनमा राखिएको छ। ज्यान गएका अधिकांश सैनिकहरू सिनो–उत्तर कोरिया सीमाक्षेत्रमा कार्यरत थिए।
उक्त रिपोर्ट अनुसार केही सैनिक उच्च ज्वरो तथा निमोनियाका कारण मरेपछि सैनिक नेतृत्वले तथ्यांक संकलन गर्न आदेश दिएपश्चात आएको हो। त्यस्तै सैनिक नेतृत्वले क्वारेन्टाइनमा राखिएकाको समेत तथ्यांक उल्लेख गर्न अस्पताललाई आदेश दिएको थियो।
रिपोर्टले उत्तर कोरियाली सैनिक प्रतिष्ठानमा खलबली मच्चिएको डेली एनकेले जनाएको छ। साथै सैनिक नेतृत्वले कोरोना संक्रमणको तथ्यलाई लुकाउन विभिन्न उपायसमेत गरेको बताइएको छ।



























