चितवन विशेष

फर्जी राजस्व बिल बनाएर चितवनको राप्तीमा माटो उत्खनन् र बिक्री

Banner

चितवन, फागुन १४-

नदीजन्य वस्तुको अबैध उत्खनन् भइरहेको समाचार नौलो होइन् । बर्सेनि नदिजन्य पदार्थ उत्खनन् हुँदै आएको छ । कतिपय ठाउँमा मापदण्ड पुर्‍याएर उत्खनन् गर्ने गरिएको छ भने कतिपय ठाउँमा अबैध उत्खननका काम हुने गरेको छ । सरोकारवाला मौन रहँदा अवैध काम गर्नेहरुले पश्रय पाउने गरेका छन् ।

चितवनको एक स्थानीय तहमा फर्जी राजस्व बिल बनाएर प्राकृतिक स्रोतको उत्खनन् गरिएको भेटिएको छ । राप्ती नगरपालिकाको वडा नम्बर ९ मा फर्जी बिल बनाएर माटो उत्खनन् गरेको फेला परेको हो । राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले अनुगमनका क्रममा फर्जी बिल फेला पारेकी हुन् । फागुन ७ गते आकस्मिक अनुगमनका क्रममा फर्जी बिल काटिएको भेटाएको उनले बताइन् । उनले भनिन्, ‘स्थानीयको गुनासो आएपछि म आफै अनुगमनमा गएको हो, एउटै नम्बरको फरक–फरक दुईवटा किर्ते बिल बनाएर प्रयोग गरेको भेटाएँ । प्रमुख बराल वडा नम्बर ९ की कार्यपालिका सदस्य, वडा नम्बर ७ का वडाध्यक्षसँगै अनुगमनमा गएकी थिइन् ।

‘हामी अनुगमनमै जाने क्रममा माटो ल्याएर आएको टिप्परलाई बाटोमा नै भेट्यौं’ उनले भनिन्, ‘तपाइँहरुको बिल दिनुहोस् भनेर माग्यौं र त्यसको फोटो खिच्यौं । पहिलो टिप्पर आएको एक मिनेटको फरकमा अर्को टिप्पर आयो’,उनले भनिन् । दुवै गाडीले ल्याएका बिल मध्ये एउटामा समय उल्लेख थियो भने अर्कोमा उल्लेख थिएन । त्यसपछि बिल काट्ने ठाउँमा पुगेर बिल माग्दा बिलमा छाप थिएनन्, त्यसपछि हामीलाई फर्जी बिल प्रयोग गरिएको भन्ने प्रष्ट भयो’,उनले भनिन् । गाडीलाई दिएको बिल र बिल प्याडमा समय, ठाउँ र पैसाको दर पनि फरक–फरक भेटिएको उनले बताइन् ।

सबै अनुसन्धानपछि नगरपालिकाको जस्तै अर्काे बिल प्रयोग गरेर किर्ते काम गरिएको प्रमाणित भएको प्रमुख बरालको भनाइ छ । प्रमुख बरालले फेला पारेको ८३९१ नम्बरको बिल मध्ये नगरपालिकाको छाप भएको, टिप्परलाई दिएको र रसिद प्याडको फरक–फरक छ । एउटै नम्बरको तीन बिल, यो त चोर माथिको चण्डाल जस्तो भयो, रसिदमा रकम पनि फरक फरक । प्रमुख बरालले भनिन् ।

नगरपालिकाअन्तर्गत रहेको नदीजन्य पदार्थ संरक्षण समितिको र कार्यपालिकाको बैठकले पनि फर्जी बिल भन्दै किर्तेमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न आवश्यक प्रकृया अघि बढाउने निर्णय गरेको छ । ‘हामी अझै अनुसन्धान गर्दैछौं’ प्रमुख बरालले भनिन्, ‘यो कसले आदेश दियो, कति प्याड छापियो, कहाँ कहाँ वितरण गरिएको छ्,कुन छापाखानामा छापिएको छ ? पुलिस प्रशासनले पत्ता लगाओस् भनेर निर्णय गरेका छौं । अनुसन्धानका लागि सबै प्याड प्रमुख जिल्ला अधिकारीलाई बुझाउने बरालले बताइन् ।

‘हामीले समयमै अनुगमन गरेनौं, पुलिस प्रशासनले कडासँग हेरेन, त्यही भएर यस्तो भयो’ बरालले भनिन्, ‘अबैध उत्खनन् भइरहेको नागरिकले भनिरहेका थिए ।’माटो उत्खनन्का आवश्यक मापदण्ड पुरा भएको हुनुपर्ने व्यवस्था छ । नगरपालिकाले वडालाई राजश्व संकलनका लागि रसिद प्याड दिने र वडाले मान्छे परिचालन गर्ने गरिएको छ । माटो उत्कनन्को काम कस्ले गरिरहेको थियो भन्ने बारे स्वयम जनप्रतिनिधि नै अनविज्ञता प्रकट गर्छन् ।

राप्ती नगरपालिकामा अनुगमन समितिका संयोजक उपमेयर इमानसिंह लामा छन् । उनले आफूले निरन्तर अनुगमन गरे पनि केही फेला नपारेको बताए । ‘म निरन्तर अनुगमनमा छु, उनले भने’, खै हाम्रो भन्दा उनीहरुको संयन्त्र बलियो छ, फेला नै पर्देन । राप्ती नगरपालिकाको वडा नम्बर ७, ८ र ९ बाट माटो बिक्री हुने गरेको छ । राप्तीका अन्य क्षेत्रमा पनि अबैध उत्खनन् भइरहेको जनगुनासो आउने गरेको छ ।

राप्ती गरपालिकाले लोथर खोलामा मात्रै नदीजन्य वस्तु उत्खनन्का लागि टेन्डर लगाएको छ । दुई करोड १४ लाखमा ६७ हजार घनमिटर उत्खनन्का लागि टेण्डर लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांईले जानकारी दिए । टेण्डरको केही प्रतिशत चितवन राष्ट्रिय निकुञ्जलाई, भ्याट रकम संघीय सरकारलाई, बाँकी रकमको ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत नगरपालिकाले लिने गरेको छ । माटोको पनि सोही ऐन बमोजिम राजस्व संकलन गर्ने गरिएको छ ।

वडा नम्बर ९ का वडाध्यक्ष देवेन्द्र लामाले वडाबाट दिएको बिल किर्ते गरिएको भन्दै यसबारे आफू अनविज्ञ रहेको बताए । उनले अनुगमनका दिन आफू वडामा नरहेको बताए । ‘म काम विशेषले बाहिर थिएँ,उनले भने’ कसले यस्तो ग¥यो मलाई थाहा छैन ।’ उनले वडाले ल्याएका सबै रसिद नगरपालिकालाई बुझाएको र अधिकांश रसिद काटिसकिएको जानाकारी दिए । ‘कार्यपालिकाको बैठकले अनुसन्धानका लागि प्रशासनमा पठाउने भनेको छ’ उनले भने, ‘थप अनुसन्धान होला,अन्य कुरामा म अनविज्ञ छु । यसअघि वडामा कहिल्यै यस्तो किर्ते कारोबार भएको थाहा नभएको उनले जीकिर गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>