गण्डकी
गैंडाकोटका गाँउ-गाउँमा बिजुली र सडक,सामाजिक रुपान्तरणले स्थानीय दंग

गैँडाकोट, फागुन ११-
उमेरले चार दशक कटेकी भागिसरा थापालाई जीवनको एउटा अध्यारो पक्षको अन्त्य सधैका लागि भए जस्तो लाग्छ । यही जूनीमा भोगेको पीडा, दुःख र हैरानी उनका लागि सपना वा कुनै चलचित्रमा देखे जस्तो अनूभूति हुन्छ । नवलपुरको गैँडाकोट नगरपालिका–३ स्थित भोक्रोफाँटमा बिजुली, सडक र खानेपानी पुगेपछि स्थानीयले नयाँ जीवन पाएको अनुभूति गरेका छन् । भागिसराले ३० वर्षअघि यही ठाउँमा भोगेको जीवन र अहिलेको जीवनमा आकाश जमिनको फरक छ । ‘मट्टितेलको बत्तीमा जीवन बिताइयो, एक घण्टासम्म टाढा पुगेर पानी बोकेर ल्याएर खाइयो, पाँच घण्टा हिडेर मात्रैं बसको मुख देख्न पाइन्थ्यो तर आज यहाँ भएको विकास देख्दा सपना जस्तो लाग्छ’ भागिसरा भन्छिन्, ‘भोलिका पुस्ताले हामीले भन्दा अझैं बढी सुख पाउँछन् ।’
गैँडाकोट नगरपालिका कार्यालयबाट झण्डै ९ किलोमिटर उत्तरतर्फ रहेको सो ठाउँमा मगर समुदायको बाक्लो बसोबास छ । मूल राजमार्गमा आउन विगतमा झण्डै पाँच घण्टा हिड्नुपर्ने यहाँका बासिन्दा अहिले एक घण्टामा सजिलै पूर्वपश्चिम राजमार्ग आइपुग्छन् । कालीगण्डकी करिडोरको सडकले भोक्रोफाँटको पेट चिरे पनि उनीहरू खुसी छन् । यसले उनीहरूलाई सुबिस्ता मिलेको छ । गत भदौंमा भोक्रोफाँटमा झलमल्ल बिजुली बल्यो । खुसीको कुनै सीमा रहेन यहाँका स्थानीय बासिन्दाको । हुने खानेले घरमा सोलार राखेका थिए भने आर्थिक अवस्था कमजोर हुनेहरुले टुकीको धिपधिपेमा जुनी कटाएका थिए । तर, गाउँमा बिजुली पुगेपछि सबैका घर झिलिमिली भएका छन् । यो क्षेत्रका झण्डै ६५ घरधुरीमा बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको गत वर्षको १२ लाख र नगरपालिकाको आठ लाख रुपैयाँको लागतमा गाउँमा बिजुली पु¥याइएको हो ।
भोक्रोफाँट टोलविकास संस्थाका अध्यक्ष पदम ग्रन्द्रमा मगरले पहिलोपटक बिजुलीको उज्यालोमा बस्न पाउँदा निकै खुसी मिलेको बताए । ‘टुकी बालेर बस्नुपर्ने बालबच्चा पढाउनुपर्ने अवस्थाको अन्त्य भएकोमा खुसी लागेको छ’ अध्यक्ष ग्रन्द्रमा मगरले भने, ‘ घरमा सक्ने फ्रिज राखेका छन्, टिभी हेर्न पाएका छन्, इन्टरनेट चल्छ, टिभी, आइरन चल्छ, धेरै सुबिस्ता भएको छ ।’ अर्का स्थानीयवासी अर्जुन बाँचे मगरले कयौं पुस्ता अन्धकारमा बसेर जीवन कटाएको युगको अन्त्य सदाका लागि भएको भन्दै खुसी व्यक्त गरे । बाँचेले अगाडि थपे ‘अब विभिन्न पेसा व्यवसाय गर्न पनि सजिलो भएको, बालबच्चा, गृहणी सबै खुसी छन् ।’
भोक्रोफाँटमा सडक र बिजुलीले मात्रैं हैन, खानेपानीको पनि उत्तिकै अभाव थियो । खानेपानी लिन एक घण्टा पैदल हिडेर जानुपर्दथ्यो । हिउँदा त झनै आपत । बालबच्चालाई विद्यालय पठाउन उत्तिकै समस्या । तर, अहिले भोक्रोफाँटमा घर घरमा पानी धारा छन् । पश्चिम ग्रामीण नेपाल खानेपानी आयोजनाको करिब ८० लाखको लगानीमा घरघरमा पानीका धारा बनेपछि यहाँका बासिन्दाको खुसीले ‘ह्याट्रिक’ गरेको छ । ६५ वर्षका गंगाबहादुर झेसीमगर भोक्रोफाँटका दुःख र सुखका साक्षी बसेका छन् । उनी भन्छन् ‘मैंले त यस्तो दिन आउला भनेर सोच्या पनि थिएन, रोड पनि पायो, पानी पनि पायो, बिजुली पनि पायो, अब सिचाई चाँहियो ।’ झोक्रोफाँटको काखमा कालीगण्डकी नदी बगिरहेको छ ।
नजिकै नदी भएर पनि यहाँका बासिन्दाले सिचाइँको असुविधा बर्षोदेखि भोगिरहेका छन् । स्थानीयका गुनासा सुन्न यहाँ पुगेका गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले स्थानीय तहको चुनावमा आफूले गरेको बाचा पूरा गरेर जनताको घरघरमा बिजुली र पानी पु¥याएको बताए । उनले अब चाडैँ नै सिचाइँको सुविधा उपलब्ध गराउने बाचा जनताका बीचमा गरे । ‘म चुनावमा भोट माग्न आउँदा यहाँ बिजुली थिएन, सडकको ट्याक थियो, खानेपानी थिएन, मैले बचन दिएको थिए’ नगरप्रमुख पौडेलले भने, ‘अब यहाँका जनताका दुःखका दिन सकिए, सुखका दिन आए, अध्यारो युगको अन्त्य भएर उज्यालो युगको सुरुवात भयो अब सिचाइँ सुविधा पनि एक वर्ष भित्रै उपलब्ध हुन्छ ।’ उनले कालीगण्डकीको पानी लिफ्ट वा बोरिङ कुनै एक माध्यमबाट सिचाइँ उपलब्ध गराउने र सुख्खा ठाउँलाई हराभरा पार्ने बताए ।
यसअघि वडा नः ३ कै हर्दी र केलादी क्षेत्रमा पनि नगरपालिकाको पहलबाट केही महिना अघि बिजुली बालेको नगरप्रमुख पौडेलले जानकारी दिए । नगरपालिकाका १८ वटा वडा मध्ये वडा नः १८ मा अहिले पनि बिजुली पुगेको छैन । चालु आर्थिक वर्षमा नै विद्युतीकरणका लागि चार करोड ५० लाख रकम विनियोजन भएर आएको नगरप्रमुख पौडेलले बताए । गैँडाकोट नगरपालिका भरीका कुनै पनि जनता अब अन्धकारमा बस्नुपर्ने अवस्था सधैका लागि अन्त्य गरिने मेयर पौडेलको दाबी छ ।
























