गण्डकी
कावासोतीमा बालबालिकाका लागि क्षमता अभिवृद्धि तालिम

ज्ञानु पंगेनी
नवलपुर, फागुन १०-
बाल अधिकार चेतना समूहका पदाधिकारीका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम शनिबारबाट नवलपुरको कावासोतीमा सुरु भएको छ ।
कावासोती नगरपालिका शिक्षा शाखाका राजन पाण्डेले उद्घाटन गरेको कार्यक्रम इन्सेक गण्डकी प्रदेश कार्यालयले गरेको हो । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार स्थानीय तहमा सुनिश्चितताका लागि सम्बन्धित पक्षलाई सजग बनाउने मुख्य उद्देश्य कार्यक्रमको छ । कार्यक्रममा कावासोतीको शान्ति निकुञ्ज मावि र विनयी त्रिवेणी गाउँपालिकाको भानुदय माविमा गठन गरिएको बाल अधिकार चेतना समूहका पदाधीकारीहरुको सहभागिता छ ।
कार्यक्रममा शिक्षा शाखाका पाण्डेले कावासोती नगरपालिकासहित नवलपुर र देशका विभिन्न स्थानीय तहमा अहिले बालमैत्री स्थानीय शासन लागू गर्ने काम चलिरहेकाले कार्यक्रमलाई सार्थक पार्न तालिमले सहयोगी भएको बताए । अधिकारसँगै कर्तव्यसमेत सँगसँगै आउने भएकाले विद्यालयस्तरमा अध्ययन गर्ने बालबालिकालाई नैतिक शिक्षा दिन आवश्यक रहेकोमा उनले जोड दिए । किताबी ज्ञान मात्रै भन्दा पनि व्यवहारिक ज्ञानसमेत बालबालिकालाई दिनुपर्ने पाण्डेको विचार थियो ।
पाण्डेले कर्तव्यलाई राम्ररी बुझ्न सकेमा समाज सुसंस्कृत हुन सक्ने भन्दै समाजको सही ढंगले विकास गर्न आजका कलिला मस्तिष्कमा सकारात्मक र सही नैतिक शिक्षा प्रदान गर्नतर्फ हरेक विद्यालयका शिक्षकहरु लाग्न आवश्यक रहेको सुझाव दिए । यस्तै कार्यक्रममा इन्सेक गण्डकी प्रदेश कार्यालयका प्रमुख शिव खकुरेलले इन्सेक मानव अधिकारको क्षेत्रमा लामो समयबाट वकालत गर्दै आएको अग्रणी संस्था रहेको बताए । इन्सेकले देशका सबै जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनाको तथ्याङ्क संकलन गर्ने काम गर्दै आइरहेको समेत उनले जानकारी दिए । यही फागुन ७ गते इन्सेकले प्रतेक वर्ष प्रकाशन गर्ने वर्ष पुस्तकको सार्वजनिकीरण गरेको बताए । उक्त पुस्तकमा उल्लेख भए अनुसार गण्डकी प्रदेशमा मात्रै बालअधिकार उल्लङ्घनका घटनामा ९० बालबालिका पीडित भएको जानकारी दिए । नवलपुर जिल्लामा मात्रै बालअधिकार उल्लङघनका १३ वटा घटना भएको उनले बताए । जसमध्ये ६ जना बालिका बलात्कारमा परेको, ६ जनामाथि यौनदुव्र्यवहार भएको र विद्यालयमा शारीरिक सजाय भोगेका बालक एक जना रहेको जानकारी दिए ।
यस्तै खकुरेलले बालबालिकालाई कतिपय अवस्थामा शोषणमा परेको समेत जानकारी नहुने हुँदा यस किससमको तालिमले बालबालिकालाई हिंसा र शोषणबाट बच्न समेत सचेत बनाउने भन्दै बालबालिकालाई हरेक किसिमले सशक्तिकरण गर्न इन्सेक अभियानले टेवा पु¥याउने बताए ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक गण्डकी प्रदेश कार्यालयकी कार्यक्रम संयोजक शवनम शर्माले मानव अधिकार र बालअधिकारका बारेमा समूहका बालबालिकालाई जानकारी प्रदान गर्दै बालबालिकाको नेतृत्व विकासमा टेवा पु¥याउन तालिमको आयोजना गरेको बताइन् । दुई दिने तालिमबाट समूहको काम कर्तव्य र अधिकारको बारेमा जानकारी प्रदान गरिने र समूहले वर्षभरि गर्ने कार्ययोजना तयार पार्ने जानकारी दिइन् । इन्सेक अभियान अन्तर्गत दुई स्थानीय तहमा सञ्चालन गरिएको परियोजना अन्तर्गत कावासोती नगरपालिकाको शान्ति निकुञ्ज मावि र विनयी त्रिवेणी गाउँपालिकाको भानुदय माविमा ११\११ जनाको बालअधिकार चेतना समूह गठन गरिएको छ । समूहमा आबद्ध विद्यार्थी र शिक्षक समेत गरी तालिममा २५ जना सहभागी छन् ।
तालिममा मानव अधिकार र बाल अधिकारका बारेमा अधिवक्ता भुपेन्द्र खनाल, बालअधिकारको ऐतिहासिक विकासक्रम, बालश्रम के हो , बाल अधिकार र जिम्मेवारीका बारेमा शिव खकुरेल, बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुन र संगठन व्यवस्थापन, नेतृत्व र नेतृत्वमा हुनु पर्ने गुणहरुका बारेमा शवनम शर्मा, बालमैत्री स्थानीय शासनका बारेमा दिपक शर्मा र भित्ते पत्रिका चिनारीको बारेमा तीर्थराज डुम्रेले सहजीकरण गरेका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका इनस्पेक्टर विशाल तामाङ , जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा, मानुदय माविका संरक्षक शिक्षक विष्णु कुमारी खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
इन्सेक गण्डकी प्रदेश कार्यालय प्रमुख खकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक नवलपुर प्रतिनिधि तीर्थराज डुम्रेले स्वागत मन्तव्य राखेका थिए भने इन्सेक नवलपुर सहजकर्ता ज्ञानु पंगेनीले सहजीकरण गरेकी थिइन् ।
























