देश/प्रदेश
३५ वर्षसम्म एउटै विद्यालयमा पढाए बालकृष्ण पुरीले , बिदाइमा रोए गाउँले

पर्वतको मोदी गाउँपालिका–६ तिलाहारस्थित नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण पुरी ३५ वर्ष एउटै विद्यालयमा अध्यापन गरेर बिदाइ गरेका छन । बुधबार सेवा अवधि पूरा भएर विद्यालयले उनलाई बिदाइ गर्दा विद्यार्थी, अभिभावक, शिक्षक र अन्य गाउँलेले भावविह्वल हुँदै बिदाइ गरेका छन् ।
सोही ठाउँमा जन्मिएर विसं २०४१ देखि शिक्षण पेशामा आबद्ध भएका बालकृष्ण पुरीलाई बुधबार विद्यालयले एक समारोहबीच बिदाइ गरेको हो । करिब चार दशकसम्म सँगसँगै एउटै थलोमा काम गर्दै आएका शिक्षकलाई अनिवार्य अवकासको पाँच महिनाअगावै विद्यालय र समुदायले बिदाइ गरेको छ ।
पुरीले २०४१ सालदेखि २०७६ मङ्सिरसम्म निरन्तर सोही विद्यालयमा अध्यापन गराउँदै आउनुभएको थियो । गाउँमा एसएलसी पास गर्ने व्यक्ति खोज्नुपर्ने अवस्थाको समयमा एसएलसी उत्तीर्ण गरेका पुरीले अध्यापन शुरु गरेको सात वर्षसम्म अस्थायी पेशामा रहे पनि सात वर्षपछि मात्रै स्थायी शिक्षण पेशा शुरु गरेका थिए ।
कार्यक्रममा विद्यालयका वर्तमान प्रधानाध्यापक विष्णुप्रसाद शर्माले निवृत्त भएका शिक्षक पुरीको जीवनी वाचन गर्दा आँखा नरसाउने कोही थिएनन् । “एउटा शिक्षक मात्रै नभई सामाजिक परिवर्तनमा समेत शिक्षक पुरीको ठूलो योगदान थियो”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामाजिक व्यक्ति देवेन्द्रज्यु ठकुरीले गहभरि आँशु पार्दै भने, “त्यस्तो व्यक्ति हामीबाट बिदाइ हुँदा कसरी आँशु थामौँ ।” उनले प्रकृतिको नियम अनौठो भएको बताए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सेती महतले समेत गाउँको मुहार फेर्नका लागि पुरीको अतुलनीय योगदान रहेको भन्दै भोलिका दिनमा विद्यालय बाहिर रहे पनि गाउँ र विद्यालयको उन्नतिका लागि सदैव सक्रिय रहन आग्रह गरे।
वडाध्यक्ष विमल लामिछानेले लामो अवधिसम्म विद्यालयमा कार्यरत शिक्षकको अवकास गरिनु विद्यालयका लागि दुःखद् कुरा भएको बताए । उनले वडामा सञ्चालन भएको विद्यालयमा उत्कृष्ट विद्यालयका रूपमा स्थापित गराउन पुरीले खेलेको भूमिकाको कदर गर्दै भोलिका दिनमा पनि उक्त साख नगिराउन विद्यालय परिवारलाई सुझाव दिएका थिए । उनलाई विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समितिले दोसल्ला ओढाएर सम्मान गरेको थियो भने समग्र गाउँका स्थानीय बासिन्दाले समेत अबिर, खादा र माला पहिराएर बिदाइ गरेका थिए ।
बिदाइ कार्यक्रममा पुरीले विद्यालयप्रतिको माया कहिल्यै नघट्ने बताउँदै विद्यालयमा दरबन्दी गुम्ने भएकाले नै आफूले अनिवार्य अवकासको पाँच महिनाअगावै राजीनामा दिएको बताए । “मैले ०७७ वैशाखमा राजीनामा दिएको भए मासिक निवृत्तिभरणमा ७०० रुपैयाँ बढी पाउने थिएँ”, उनले भने, “तर मैले दरबन्दी जोगाउनकै लागि रु ७०० को माया मारेर मङ्सिरमा नै राजीनामा दिएको हूँ ।” उनले विद्यालय र समाजको उन्नतिका लागि जहाँ रहे पनि सेवामा तत्पर रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।रासस
























